ओखलढुंगामा को–कसले पाउँदैछन् टिकट ?

ओखलढुंगामा को–कसले पाउँदैछन् टिकट ?



काठमाडौं । आम निर्वाचन घोषणा भएसँगै नेपाली कांग्रेसको उर्वर भूमि ओखलढुंगा जिल्लामा उम्मेदवारहरुको रस्साकसी सुरु भइसकेको छ । कसले टिकट पाउला भन्ने मात्र होइन, जीतहारको जोड घटाउसमेत सुरु भएको छ । नेपाली कांग्रेसको विरासत ठानिएको ओखलढुंगामा विगतका लगातार दुई आम निर्वाचनमा कम्युनिष्ट पार्टीले धावा बोलेपछि कांग्रेसीहरु झस्केका छन् । गत निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार यज्ञराज सुनुवार कांग्रेसका उम्मेदवार रामहरि खतिवडाभन्दा ५ हजार बढी मत ल्याएर विजयी भएका थिए ।

एक नगरपालिका र ७ वटा गाउँ पालिका रहेको ओखलढुंगामा भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस) बीच गठबन्धन भएको थियो । जसमध्ये चिशंखुगढी गाउँपालिकामा माओवादी केन्द्र, मोलुङ गाउँपालिकमा एमाले र खिजीदेम्बा गाउँपालिकामा जनता समाजवादीले अध्यक्ष पद जितेको छ भने बाँकी सिद्धिचरण नगरपालिका, मानेभञ्ज्याङ, सुनकोशी, चम्पादेवी र लिखुमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । नेकपा एमाले दोस्रो स्थानमा छ । नेपाली कांग्रेसले कुल ३२ हजार २ सय ८८, एमाले २९ हजार ५ सय ९१, माओवादी ६ हजार ९ सय १६, जसपा २ हजार १ सय ४, नेकपा एस ५ सय २१ र राप्रपाले १ सय ४६ मत प्राप्त गरेका छन् । स्थानीय निर्वाचनमा नेकपा एमालेको भन्दा कांग्रेसको २ हजार ६ सय ९७ मत बढी देखिन्छ ।

स्थानीय तहमा प्राप्त मतलाई विश्लेषण गर्ने हो भने नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच नै संघीय निर्वाचनमा पनि प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय तहमा कांग्रेस र एमालेले प्राप्त गरेको मतान्तर खासै ठूलो देखिँदैन । तर, गठबन्धनका उम्मेदवारप्रति अन्य दलका मतदाता इमान्दार भएर मतदान गरे भने एमालेभन्दा कांग्रेसका उम्मेदवारले झण्डै १२ हजार बढी मत ल्याएर विजयी हुने देखिन्छ ।

तर, विगतका निर्वाचनहरुमा कांग्रेसका कतिपय कार्यकतासमेतले रुख चिन्हमा मतदान नगरी अन्तरघात गरेका थिए । तसर्थ, कांग्रेसको मत एकढिक्का भएर आएन भने फेरि पनि नेकपा एमालेले बाजी नमार्ला भन्न सकिन्न ।

अघिल्लो निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार यज्ञराज सुनुवारले ३२ हजार ५ सय ८० मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामहरि खतिवडाले २७ हजार ३ सय २७ मत पाए । अन्य राजनीतिक दलको खासै प्रभाव देखिँदैन । तेस्रो भएको नेकपा मालेका केशव रम्तेलले ६ सय ६५ र संघीय समाजवादी फोरमका उम्मेदवार जुद्धबहादुर राईले ५ सय ४३ मत प्राप्त गरेका थिए ।

यसपाली को–कसले पाउँदै छन् टिकट ?
ओखलढुंगामा संघीय र प्रदेश निर्वाचनमा एमालेलाई उम्मेदवार छान्न खासै समस्या देखिँदैन । वहालवाला प्रदेश सांसद अमिरबाबु गुरुङले संघमा दाबी छाडेपछि वर्तमान सांसद यज्ञराज सुनुवारलाई तेस्रो पटक उम्मेदवार बन्ने बाटो खुलेको छ । उम्मेदवारको सूचिमा अर्का एमाले पुराना नेता किशोर अधिकारीको नाम पनि चर्चामा छ । एमालेका जिल्ला इन्चार्ज अधिकारीको दाबीले गर्दा यज्ञराजले सिजलै टिकट पाउँछन् भन्ने धेरैलाई लागेको छैन । त्यसो त पार्टी विभाजनका बेला सुनुवारले माधव नेपालतिर खुट्टा उचालेकाले पनि उनलाई टिकट पाउन मुस्किल छ ।

यता नेपाली कांग्रेसलाई भने उम्मेदवार छान्न सबैभन्दा कठिन हुने देखिन्छ । कांग्रेसबाट पूर्व सांसद तथा केन्द्रीय सदस्य रामहरि खतिवडा, केन्द्रीय सदस्य प्रदीप सुनुवार, बालकृष्ण दाहाल र खिलनाथ दाहाललगायतले उम्मेदवारको दाबी गरेपछि पार्टीलाई उम्मेदवार छान्न सकस पर्ने निश्चित छ । ओखलढुंगाका लागि यी चारैजना सशक्त उम्मेदवार हुन् ।

यी चारजना उम्मेदवारले टिकट लिन केन्द्रीय नेताहरुसँग लविङ तीब्र बनाएका छन् । रामहरि खतिवडाले पार्टी उपाध्यक्ष पूर्णबहादुर खड्कामार्फत् लबिङ गरिरहेका छन् भने प्रदीप सुनुवार पार्टी सभापति शेरबहादुर देउवाको नजिक ठानिन्छन् । बालकृष्ण दाहालले शेखर कोइराला र खिलनाथ दाहालले पूर्वमहामन्त्री विमलेन्द्र निधिमार्फत् सांसदको टिकटका लागि लबिङ तीब्र पारेको बुझिएको छ ।

प्रेस युनियनको निर्वाचनपछि पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई बालुवाटार प्रवेशमा रोक लगाएको छ । बालुवाटार प्रवेशमा रोक लगाएकै कारण गठबन्धनको सिट बाँडफाँडमा समेत उनी पर्न सकेनन् । त्यसपछि उपसभापति खड्काको स्वास्थ्यमा एकाएक गडबडी आयो । आफू टिकट लिएर निर्वाचनमा चुनाव लड्न जानेबाहेक अरुका लागि टिकट बार्गेनिङ गर्न सक्ने अवस्थामा उपसभापति खड्का यतिबेला छैनन् । पार्टीभित्र खड्का कमजोर हुनु भनेको ओखलढुंगाबाट रामहरि खतिवडाले पुनः तेस्रो पटक चुनाव लड्ने सम्भावना कमजोर हुनु हो । बाँकी रहेको डेढ महिनामा सम्बन्ध सुधार भए ओखलढुंगाको टिकट पाउने सबैभन्दा बलियो उम्मेदवार रामहरि खतिवडा नै हुन् ।

लगभग ६० प्रतिशत जनजाति बसोबास गर्ने ओखलढुंगामा प्रदीप सुनवारलाई कांग्रेसले अगाडि सार्ने सम्भावना निक्कै बलियो देखिन्छ । जनजाति उम्मेदवार उठाउन नसक्दा अघिल्लो निर्वाचनमा कांग्रेस पराजित भएको रिर्पोटिङ सभापति देउवासम्म पुगेको छ । पाँच बर्ष अगाडिको रिर्पोटिङ, जातिय कोटा, संघ र प्रदेशमा मिलाउनु पर्ने बाध्यता, गुट आदि विविध कारणले प्रदीप सुनुवारलाई बलियो बनाएको देखिन्छ ।

उता शेखर कोइरालाले बालकृष्ण दाहाललाई अगाडि सारे पनि विगतका दुईवटा निर्वाचनमा पराजय भोगेका दाहाललाई प्रत्यक्ष भन्दा पनि समानुपातिक उम्मेदवार बनाउने सम्भावना देखिन्छ । पछिल्लो समय निधि र देउवाबीचको सम्बन्धमा आएको सुधारले खिलानाथ दाहाललाई पनि निक्कै उत्साहित बनाएको छ । नेवि संघको केन्द्रीय नेतृत्व हुँदै ट्रेड युनियन काँग्रेसको दुईपटक अध्यक्षको नेतृत्व सम्हालिसकेका खिला दाहाल राष्ट्रीय राजनीतिमा शालिन व्यक्तित्वको परिचय बनाएका नेता हुन् । विमलेन्द्र निधि पार्टी उपसभापति र पुरुषोत्तम दाहाल काँग्रेसको नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक रहँदा खिला दाहाल प्रशिक्षण निर्देशक थिए । ट्रेड युनियनको आन्दोलन मार्फत राजनीतिमा उदाएका खिलानाथ दाहाल नेपाली कांग्रेसमा अवसर नपाएका नेता हुन् । उनलाई पनि यसपटक संघीय सांसद उम्मेदवारको सशक्त दाबेदार मानिएको छ ।

कसैलाई नचिढ्याइ कांग्रेसले सर्वसम्मत उम्मेदवार चयन गर्न सकेन भने अन्तरघातले ओखलढुंगामा नेपाली कांग्रेसको विरासत यसपटक पनि गुम्ने निश्चित छ । कुनै हाउगुजीको पछि नलागी निक्कै सुझबुझपूर्ण ढंगले उम्मेदवार चयन गर्न सकियो भने मात्र ओखलढुंगामा कांग्रेसको विरासत जोगिने विश्लेषकहरु बताउँछन् ।

संघीय संसदको उम्मेदवार छनोटले प्रदेशसमेत प्रभावित हुने गर्छ । यदि गठबन्धन बनाएर नेपाली कांग्रेस आम निर्वाचनमा होमियो भने ओखलढुंगाको एउटा प्रदेश निर्वाचन क्षेत्र माओवादी केन्द्रलाई सुम्पिनु पर्ने हुन्छ । सम्भवतः प्रदेश (ख) माओवादीको भागमा पर्ने सम्भावना बलियो देखिन्छ ।

कांग्रेसले निर्वाचन क्षेत्र प्रदेश (क) बाट लीला दाहाल (काका) लाई टिकट दिने सम्भावना छ । यदि संघमा प्रदीप सुनुवारले टिकट पाए प्रदेश (क) मा लीला दाहालको सम्भावना लगभग निश्चितजस्तै छ । यता संघमा रामहरि खतिवडाले टिकट पाए जनजाति कोटामा सर्वधन तामाङ र नवीन राईमध्ये एकजनालाई उम्मेदवार बनाउने सम्भावना पनि छ । प्रदेश (ख) मा यदि माओवादीले दाबी गरेन भने कांग्रेसबाट कुमार लुइँटेल र रुद्र अधिकारीमध्ये एकजनाले टिकट पाउने सम्भावना देखिन्छ । यो रेसमा कुमार लुइँटेल अगाडि देखिन्छन् ।

यदि माओवादीले प्रदेश (क) पायो भने पेशल खतिवडा, गुणकुमार राई अथवा रामकुमार कार्कीमध्ये एकजनालाई अगाडि सार्ने बुझिएको छ । त्यसैगरी प्रदेश (ख) मा बाबुराम गौतम र मोहनकुमार खड्कामध्ये एकजनालाई माओवादीले अगाडि सार्नेछ । खड्का वर्तमान प्रदेश सांसद हुन् भने उनले प्रदेश संसदको लेखासमितिको जिम्मेवारी समेत पाएका छन् ।

यता, एमालेले भने प्रदेश (क) बाट अम्बिरबाबु गुरुङलाई नै दोहो-याउने सम्भावना निश्चितजस्तै छ । त्यसैगरी मोहन श्रेष्ठ पनि टिकटका सशक्त दाबेदार हुन् तर त्योभन्दा पनि जिल्ला कमिटी अध्यक्ष शंकर कटवाल र लोकप्रिय मत ल्याएर जिल्ला उपाध्यक्ष बनेका हर्कबोल राई पनि प्रदेश सांसदका बलिया दाबेदार हुन् । प्रदेश (ख) बाट एमालेले ज्ञानबहादुर खड्का, नानीबाबु बुढाथोकी र तीर्थराज सुवेदीमध्ये एकजनालाई टिकट दिने सम्भावना बलियो छ ।

कसले जित्दै छ ?
जसले लोकप्रिय र जातिगत सन्तुलन मिलाएर उम्मेदवार अघि सार्छ, उसको जीत निश्चित रहेको जानकारहरु बताउँछन् । झण्डै ६० प्रतिशत जनजाति मत रहेको ओखलढुंगामा यो फ्याक्टरलाई नजरअन्दाज गरियो भने उसको पराजय निश्चित छ । र, यो गल्ती गर्न कांग्रेस र एमाले तयार देखिएका छैनन् ।