कांग्रेस महामन्त्री विश्वप्रकाशको उम्मेदवारी झापा-१ कि काठमाडौं-५ बाट

कांग्रेस महामन्त्री विश्वप्रकाशको उम्मेदवारी झापा-१ कि काठमाडौं-५ बाट

‘विश्वको पहिलो रोजाइ गृह क्षेत्र झापा १ नै हो । काठमाडौं ५ बाट उठ्नुपर्छ भन्ने उहाँमाथि दबाब पनि आउन थालेको छ,’


ग्लोब नेपाल
3.2k
Shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधि सभा निर्वाचनमा झापा-१ वा काठमाडौँ-५ मध्ये एउटा क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् । झापा १ मा अघिल्लोपटक माओवादी केन्द्रका राम कार्की निर्वाचित भएका थिए । शर्माले झापा १ नै रोजे भने कार्कीलाई अन्य क्षेत्र गठबन्धनले छुट्याउने तयारी गरिएको छ ।
‘काँग्रेस महामन्त्री नै त्यही क्षेत्रबाट उठ्छु भन्नु भयो भने राम कार्कीलाई अर्को क्षेत्र छुट्याउने तयारी भएको छ ।’ काँग्रेसका एक शीर्ष तहका नेताले भने, ‘राम कार्कीलाई रामेछापको चर्चा पनि भएको छ ।’ शर्माले अन्यत्र रोजे भने त्यहाँ गठबन्धनबाट अर्को उम्मेदवार बन्नेछन् ।

शर्माले काठमाडौँ-५ मा पनि इच्छा देखाएको उनी निकट एक नेताले जानकारी दिए । काठमाडौं ५ मा केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र नैनसिंह महरले पनि रुचि देखाएका छन् ।

शर्माले काठमाडौं-५ मा उठ्ने निर्णय गरे भने पौडेल वा महर पछि हट्नुपर्दछ । ‘विश्वको पहिलो रोजाइ गृह क्षेत्र झापा १ नै हो । काठमाडौं ५ बाट उठ्नुपर्छ भन्ने उहाँमाथि दबाब पनि आउन थालेको छ,’ शर्मा निकट एक नेताले भने ।

२०७४ को चुनावमा यो क्षेत्रबाट एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जितेका थिए । सो निर्वाचनमा काँग्रेस नेता डा.प्रकाशशरण महतलाई एमालेका पोखरेलले हराएका थिए । महतले प्रतिस्पर्धा गर्नुअघि यस क्षेत्रमा नेता नरहरि आचार्यले पोखरेललाई हराएका थिए ।

एमालेका ‘हेभिवेट’लाई पराजित गर्न काँग्रेसबाट पनि ‘हेभिवेट’ नै उम्मेदवार उठाउनका लागि शर्माको नाम उक्त क्षेत्रमा चर्चा चलेको छ । झापा १ र काठमाडौँ ५ दुबै क्षेत्रमा गत निर्वाचनमा एमाले पहिलो शक्ति हो ।