नेपाली र अमेरिकी सेनाबीच संयुक्त तालिम सञ्चालन हुँदै

नेपाली र अमेरिकी सेनाबीच संयुक्त तालिम सञ्चालन हुँदै


ग्लोब नेपाल
351
Shares

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच एक महिना लामो संयुक्त तालिम सञ्चालन हुने भएको छ।

यही साउन ३१ (मंगलबार) देखि भदौ ३१ गतेसम्म तालिम सञ्चालन हुने जंगी अड्डाले जनाएको छ। संयुक्त अभ्यासमा सहभागिताको लागि अमेरिकी सेनाको टुकडी क्याप्टेन ब्याक डुकेटलको कमाण्डमा अभ्यासका लागि आवश्यक पर्ने सैन्य सामग्रीसहित सोमबार नेपाल आइपुगेको सेनाले जनाएको छ।

विसं २०६० सालदेखि नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच सञ्चालन हुँदै आएको ‘एक्स ब्यालेन्स नेल’ को यो उनन्चालिसौँ संस्करण हो। नेपाल सरकार, रक्षा मन्त्रालयको स्वीकृतिमा नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गणहरू र अमेरिकी सेनाको टुकडीबीच ‘एक्स ब्यालेन्स नेल’ सञ्चालन हुनेछ।

तालिममा नेपाली सेनाबाट ८० जना तथा अमेरिकी सेनाका १६ जना गरी जम्मा ९६ जना सम्मिलित हुनेछन्। उक्त संयुक्त तालिम र अभ्यास ‘ल अफ आर्मड कन्फ्लिक्ट (एलओएसी), मिलीटरी डिसिजन मेकिङ प्रोसेस (एमडीएमपी)’ लगायतका विषयहरुमा केन्द्रित रही छाउनी र नगरकोट इलाकामा सञ्‍चालन गर्ने योजना रहेको छ।