बि.स. २०३१ सालमा साउनको ३१ गते आज कै दिन पंचायती शासकहरूले नेपाली काँग्रेसका योद्धा केशव कोइरालाको हत्या गरेका थिए। उहाँको घाईते शरीर महोत्तरी जिल्लाको मटिहानीमा मृत अवस्थामा फालिएको थियो। तत्कालिन सरकारले जनायो, प्रहरीसंगको भिडन्तमा मृत्यू भयो।
कोखामा गोली लागेको, माथिको दाँत भाँचिएको, दाहिने हातको छाला तछारिएको अवस्थामा खेतको आलिमा घोप्टो पारेर उहाँको लाश राखिएको थियो। मृतक केशवको परिस्थितिले स्पष्ट देखाउँथ्यो कि प्रहरीले पक्राउ गरेर उहाँको हत्या गर्यो। यो मुठभेड थिएन। त्यसबेला नेपाली काँग्रेसका प्रखर नेताहरूलाई मार्ने यस्तै तरिका पंचायती क्रुर शासकहरूले अपनाउने गरेका थिए।
नख्खु कारागारबाट सार्ने नाममा लीला, ठगी, गोकर्ण र पेशलको हत्या गरियो। मोरंगको रमाईलो झोरामा नेता देवानसिंह राईको हत्या गरियो, काठमाडौंको नक्सालमा मोटरले किच्याएर योगेन्द्रमान शेरचनको हत्या गरियो, बीरगंज पारी रक्सौलमा तेजबहादुर अमात्यको हत्या गरियो, बिहार मधुबनीमा निर्वासित रहनु भएको सरोज कोइरालाको हत्या गरियो। यी सबका अघि र पछि यसरी कयौं ओजस्वी नेताहरूको हत्या गरियो।
आज पंचायती व्यवस्थाका त्यस क्रुर कालखण्डलाई राष्ट्रवादको स्वर्णयुग भनी त्यसबखतका शासकहरूलाई राष्ट्रवादीको जलप लगाउने काम भइरहेको छ। राष्ट्रवादी होलान्, तर प्रजातान्त्रिक आन्दोलनमा यिनीहरूबाट भएका जघन्य अपराधहरू मेट्न चाहेर पनि मेटिन्न। नयाँ पुस्ताले यसको अध्ययन गर्नु पर्दछ। बि.स. २००७ मा भवनाथ कोइराला र माता लालकुमारीको कोखबाट ओखलढुंगाको पूर्वी गाँउ छहरे कोइराला गाँउमा उहाँको जन्म भएको थियो। पछि उहाँका परिवारजनहरू ओखलढुंगाबाट बसाई सरेर सप्तरी आउनु भएको हो ।
प्रचुर धन सम्पति, नाता कुटुम्ब सबैलाई बिर्सिएर प्रजातान्त्रिक आन्दोलनको मूलधारामा सहभागी हुनु भएका केशव कोइराला नेपाली काँग्रेसको कुशल संगठनकर्ता तथा लोकप्रिय युवा नेता हुनुहुन्थ्यो।
प्रतिक्रिया