यी अनुहार अध्यक्ष ओलीका लागि हानिकारक !

यी अनुहार अध्यक्ष ओलीका लागि हानिकारक !



काठमाडौं । २०७८ असार २७ गते १३ घन्टा लामो बैठक गरेर १० बुँदे सहमति गरेका १० भाइको यो संसदीय निर्वाचनमा बाह्र बज्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीका लागि ‘हानिकारक’ ठानिएको यी १० भाइलाई ठेगान ल्याउन आम निर्वाचन नै उपयुक्त भएको बालकोटकोे निष्कर्ष छ । पार्टी विभाजनका बेला संस्थापनइतर ठानिएका यी १० भाइ १० बुँदे सम्झौता गरेर एमालेमा फर्किएका थिए ।

उनीहरु फर्किएपछि एमालेलाई फाइदाभन्दा नोक्सान बढी भएको निष्कर्ष बालकोटले निकालेको छ । ओलीलाई अध्यक्ष पदमा सर्वसम्मत हुनबाट रोक्नेदेखि पार्टीको हरेक गतिविधिमा असहयोग गरेको रिडिङ अध्यक्ष ओलीको छ । यी १० भाइलाई ‘बामदेव सूत्र’ प्रयोग गरेर पार्टीबाट किनारा लगाउने रणनीति बालकोटमा बन्दै गरेको स्रोतले बताएको छ ।

भीम रावल, रघुजी पन्त, घनश्याम भुषाल, अमृत बोहोरा, योगेश भट्टराई, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, भीम आचार्यलगायत १० जना हुन् । यसमध्ये आचार्य र शाक्य प्रदेश सांसद हुन् भने रावल, भुषाल, भट्टराई, अर्याल र पाण्डे मात्र निर्वाचित संघीय संसदको सांसद हुन् ।

यी पाँचजनालाई निर्वाचन क्षेत्रमा पुग्नै नदिने, यदि पुगे भने पनि हराउने रणनीति बालकोटमा बनिरहेको बुझिएको छ । अछाम–१ बाट निर्वाचित रावल निर्वाचन नलड्ने मुडमा पुगिसकेका छन् । पराजित हुनुभन्दा उम्मेदवार नबन्ने निर्णयमा रावल पुगेको उनी निकट स्रोतको दाबी छ । स्थानीय निर्वाचनको तथ्यांक विश्लेषण गर्ने हो भने अछाम–१ मा नेपाली कांग्रेसको १६ हजार ७ सय २८, एमालेको १६ हजार ५ सय ६७, माओवादी ६ हजार ७ सय ९० र नेकपा (समाजवादी) सँग २ हजार ७ सय ५२ मत छ । गठबन्धनको उम्मेदवारसँग एमाले एक्लैले प्रतिस्पर्धा गर्नुपर्ने परिस्थिति छ । सम्भवतः गठबन्धनबाट नेकपा समाजवादीबाट श्रममन्त्री शेरबहादुर कुँवर उम्मेदवार बन्ने सम्भावना छ । कांग्रेस, माओवादी र समाजवादीको जनमत अगाडि एमालेले कमजोर देखिन्छ । एमालेले रावल उम्मेदवार बने पनि अध्यक्ष ओलीलाई टाउको नदुख्ने बताइएको छ ।

रुपन्देही–३ बाट ३२ हजार ८ सय ६६ मत ल्याएर विजयी भएका घनश्याम भुषाल पनि आउँदा निर्वाचनमा पराजित हुने लिस्टमा छन् । स्थानीय निर्वाचनको मत विश्लेषण गर्ने हो भने रुपन्देही–३ मा पनि कांग्रेस नै अगाडि छ । नेपाली कांग्रेससँग ३४ हजार १ सय ५३, एमालेसँग २९ हजार ०४८, राप्रपासँग १३ हजार ३ सय ९७, जसपा ६ हजार १ सय ८३, माओवादी २ हजार ८ सय ८१, लोसपा २ हजार १ सय ७४ र नेकपा (समाजवादी) सँग ९ सय ७७ मत छ । एमाले र राप्रपाबीच गठबन्धन भयो भने ठूलै शक्ति निर्माण हुनसक्छ, तर उक्त क्षेत्रमा गृहमन्त्री बालकृष्ण खाँण लड्ने भएकाले प्रशासनको केही प्रभाव देखिन सक्छ । यसलाई नै आधार बनाएर भुषाललाई हराउने रणनीति बन्नसक्ने जानकारहरु बताउँछन् ।

ताप्लेजुङबाट स–सर्त निर्वाचत योगेश भट्टराईको यो चुनावमा निर्वाचन क्षेत्र नै गायब भएको छ । सुरुका दुई निर्वाचन काठमाडौं–६ बाट लडेका भट्टराई दुवै निर्वाचनमा पराजित भएका थिए । त्यसपछि हारगुहार गरेर ताप्लेजुङबाट उम्मेदवार बनेका भट्टराईले सजिलै चुनाव जिते । उनले एकपटकका लागि मात्र भनेर ताप्लेजुङबाट उम्मेदवार बनेका थिए । यसपटक उक्त क्षेत्रबाट तिलकुमार मेयाङ्वो उम्मेदवार बन्दैछन् । झापातिर झारेर भट्टराईको हुर्मत लिने रणनीति बालकोटमा बनिरहेको बुझिएको छ ।

गुल्मी–२ बाट निर्वाचित गोकर्ण विष्टविरुद्ध कुनै जालझेल भएन भने यस पटक पनि उनी निर्वाचित हुने कुरामा कुनै शंका छैन । स्थानीय निर्वाचनमा पनि एमाले अन्य दलभन्दा धेरै अगाडि देखिएको छ । त्यस क्षेत्रमा भिड्न्त हुने भनेकै एमाले र कांग्रेसबीच मात्र हो । अन्य राजनीतिक दलको प्रभाव न्यून छ । स्थानीय निर्वाचनमा एमालेसँग ३१ हजार २ सय ५३, कांग्रेससँग २९ हजार ८ सय २१, माओवादीसँग १ हजार ८ सय ४१, नेकपा समाजवादीसँग ६ सय ५८ र राप्रपासँग १ सय १ मत छ । सबै दल गठबन्धन गरेर चुनावमा होमिए पनि एमाले एक्लै बलियो देखिन्छ । तर संसदमा विष्टको अनुहार एमाले अध्यक्ष ओली हेर्न चाहँदैनन्, त्यसैले उनी निर्वाचित हुनेमा शंकै छ ।

चितवन–१ बाट निकटतम प्रतिद्वन्द्वीभन्दा झन्डै दोब्बर मत ल्याएर निर्वाचित सुरेन्द्र पाण्डे यसपटक संसदमा नदेखिन सक्छन् । सम्भवतः उनको स्थानमा माओवादीबाट एमालेमा प्रवेश गरेका रामबहादुर थापालाई उठाउने तयारी बालकोटको छ । यदि दबाब थेग्न नसके उम्मेदवार बनाउने तर, पराजित गराउने रणनीति बनेको छ । स्थानीय निर्वाचनमा एमालेको ३९ हजार ६ सय ६, कांग्रेस ३६ हजार ७ सय ८३, माओवादी ५ हजार ५ सय ८, राप्रपा ४५९० र नेकपा समाजवादीको ४ हजार ५ मत रहेको छ । राप्रपासँग गठबन्धन गरे एमाले अझ शक्तिशाली हुने देखिन्छ, तर अध्यक्ष ओलीको नजरमा पाण्डेको उम्मेदवारी अभिसाप बन्ने निश्चित छ ।

दस भाइमध्ये पन्त, शाक्य, ज्ञवाली, बोहोरा र आचार्यको जनमानसमा खासै प्रभाव देखिँदैन । त्यसले अध्यक्ष ओलीको नजरमा यी पाँच कम हानिकारक मानिएको छ । ललितपुर–३ बाट पन्त, काठमाडौं–८ बाट शाक्य, दाङ–३ बाट ज्ञावाली र सुनसरी–१ बाट आचार्य उम्मेदवार बन्न सक्छन् । तर यी पाँचवटै क्षेत्रमा गठबन्धन बलियो देखिएकाले अध्यक्ष ओलीले टाउको खासै दुखाएका छैनन् ।