माओवादी त्यागेका नेता एमालेको ऊर्जा

माओवादी त्यागेका नेता एमालेको ऊर्जा

आधा दर्जनभन्दा बढी नेताहरुको आउँदो निर्वाचनमा राम्रै प्रभाव रहने देखिन्छ



काठमाडौं । माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका आधा दर्जनभन्दा बढी नेताहरुको आउँदो निर्वाचनमा राम्रै प्रभाव रहने देखिन्छ । चितवनका रामबहादुर थापा, रौतहटका प्रभु साह, अर्घाखाँचीका टोपबहादुर रायमाझी, सिन्धुपाल्चोकका दाबा लामा, प्युठानका मणि थापा तथा कैलालीका लेखराज भट्ट र गौरीशंकर चौधरीले माओवादी छोडेर एमालेमा प्रवेश गरेका हुन् । यीमध्ये साह, रायमाझी, भट्ट र चौधरी संघीय संसदको प्रत्यक्ष निर्वाचन जितेर सांसद बनेका हुन् ।

भेगीय हिसाबले माओवादीबाट एमालेमा प्रवेश गरेका नेताहरुको प्रभाव प्रदेश १ मा शुन्य छ । मधेश, बागमति, लुम्बिनी र सदूरपश्चिममा उनीहरुको प्रभाव देखिन सक्छ ।

रामबहादुर थापा र मणि थापा यसपटक संघीय संसदको निर्वाचन लड्ने सम्भावना छैन । रामबहादुर चितवन हुन् भने मणि प्यूठानका हुन् । यी दुवैका लागि निर्वाचन क्षेत्र छैन । ३ वटा निर्वाचन क्षेत्र भएको चितवनमा क्षेत्र नं. १ बाट सुरेन्द्र पाण्डे र २ बाट कृष्णभक्त पोखरेल पुनः दोहोरिने छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र चितवन ३ हो ।

यो क्षेत्रमा एमालेले विगतमा जस्तै आफ्नो उम्मेदवार नउठाइ राप्रपालाई समर्थन गर्न सक्छ । यस पटक पनि दाहाललाई राप्रपा उपाध्यक्ष बिक्रम पाण्डेले चुनौति दिन सक्छन् । गत निर्वाचनमा दाहालले ४८ हजार २ सय ७६ मत ल्याउँदा पाण्डेले ३८ हजार ९ सय ३५ मत पाएका थिए । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा प्राप्त मतलाई विश्लेषण गर्ने हो भने एमाले नै अगाडि छ । एमालेसँग २९ हजार ७ सय ७१, कांग्रेससँग २९ हजार ३ सय ४३, माओवादी १० हजार ९ सय ४०, राप्रपा ६ हजार १ सय ९८ र नेकपा (समाजवादी) सँग ५ हजार ३७ मत छ ।

एमाले र राप्रपा मिल्दा माओवादी अध्यक्ष दाहाललाई धक्का त पुग्दैन, तर गठबन्धनका मतदाता कति इमान्दार बन्छन् भन्ने कुराले अर्थ राख्छ । भरतपुर महानगरपालिकामा जस्तै कांग्रेसका पुराना नेता उम्मेदवार बने भने दाहाल अप्ठ्यारोमा पर्न सक्छन् । कांग्रेसको मत विभाजन भयो भने राप्रपाका उम्मेदवारलाई फाइदा पुग्न सक्छ ।

तराईमा ठूलै दलबलसहित एमालेमा छिरेका प्रभु साह रौतहटमा मात्र होइन, मधेश प्रदेशमै प्रभावशाली मानिन्छन् । रौतहट–३ बाट निर्वाचित भएका साहले मधेश प्रदेशमा एमालेलाई प्रभावशाली बनाउन सक्ने देखिएको छ । अहिलेसम्म मधेशमा एमालेको संगठन त्यति प्रभावशाली देखिएको छैन, तर साह एमालेमा प्रवेश गरेपछि पार्टीमा नयाँ सञ्चार हुने विश्वास गरिएको छ ।

कांग्रेस उम्मेदवार सुनिलकुमार यादवलाई पराजित गरी झन्डै दोब्बर मतान्तरले विजयी भएका साहको निर्वाचन क्षेत्र अहिले पनि एमाले बलियो ठानिएको छ । स्थानीय तहको निर्वाचनलाई विश्लेषण गर्ने हो भने एमालेले २१ हजार ७ सय २९, कांग्रेस १९ हजार २ सय ४१, एस ११ हजार ७ सय ३६, माओवादी ११ हजार २ सय ७९, जसपा ९ हजार ४ सय ८३, जनमत पार्टी १ हजार २ सय ९० र लोसपा १ हजार ९७ मत प्राप्त गरेका थिए । गठबन्धनको मत दायाबायाँ भएन भने साहले चुनाव जित्ने सम्भावना कमजोर बन्नेछ ।

अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी माओवादीमा भविष्य नदेखेरै एमाले प्रवेश गरेका हुन् । ५० हजारभन्दा बढी मत ल्याएर विजयी भएका रायमाझी त्यस क्षेत्रका प्रभावशाली नेता मानिन्छन् । स्थानीय तहको निर्वाचन विश्लेषण गर्ने हो भने एमाले अन्य दलभन्दा अगाडि छ । एमाले ४८ हजार २ सय ६०, कांग्रेस ३७ हजार ९ सय २५ माओवादी ७ हजार ७ सय ९०, राजमो ४ हजार २ सय ९४ र नेकपा (समाजवादी)ले ३ हजार ७ सय ६३ मत प्राप्त गरे । माओवादीबाट थोरै मत तान्न सके भने रायमाझीले निर्वाचन आफ्नो पक्षमा पार्न सक्छन् ।

एक्कासी खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका सिन्धुपाल्चोकका दावा लामाको एमाले यात्राले माओवादीलाई नोक्सान पुर्याएको विश्लेषण गरिएको छ । सिन्धुपाल्चोक–२ मा एमालेले प्रदेश सभाको दु्वै सिट लिएर राप्रपालाई सहयोग गर्यो भने गठबन्धनको उम्मेदवार पराजित हुने सम्भावना बलियो छ । सिन्धुपाल्चोक–१ मा कांग्रेसको प्रभाव बलियो भए पनि गठबन्धनले कसलाई उम्मेदवार बनाउँछ भन्ने टुंगो लागेको छैन । यदि उक्त क्षेत्रमा कांग्रेसले पाएन भने गठबन्धनभित्रै अन्तरघात भएर एमालेलाई फाइदा पुग्ने सम्भावना पनि त्यत्तिकै बलियो छ ।

कैलाली–३ बाट गौरीशंकर चौधरी र ४ बाट निर्वाचित लेखराज भट्ट माओवादी छाडेर एमाले प्रवेश गरेपछि सुदूरपश्चिम एमालेलाई ठूलै फाइदा पुगेको छ । यद्यपि यी दुवै क्षेत्रमा नेपाली कांग्रेस धेरै अगाडि छ । स्थानीय तहको निर्वाचनमा कैलाली–३ मा कांग्रेस १९ हजार ९ सय ९२, माओवादी ११ हजार ७ सय १६, एमाले ११ हजार २ सय ५७, राप्रपा ६ हजार ६ सय ९९, नागरिक उन्मुक्ति पार्टी ५ हजार २ सय ४७, जसपा २ हजार ८ सय ५९ र नेकपा समाजवादीले १ हजार ९ सय ७८ मत प्राप्त गरेका थिए ।

यस्तै कैलाली–४ मा कांग्रेस २२ हजार ९ सय ९७, एमाले २० हजार ८१, माओवादी १० हजार १ सय २३, नेकपा समाजवादी ४ हजार २९, राप्रपा ३ हजार २ सय ३४, जसपा ६४, नागरिक उन्मुक्ति पार्टी १ सय ६४ मत प्राप्त गरेका थिए । यो निर्वाचन क्षेत्रमा कांग्रेस बराबरको हैसियतमा एमालेलाई पुर्‍याउन भट्टको योगदान महत्वपूर्ण रहेको थियो ।