मोहन बस्नेतले सिन्धुपाल्चोक–१ नछाड्ने पक्का, सभामुख सापकोटाको क्षेत्र कता ?

मोहन बस्नेतले सिन्धुपाल्चोक–१ नछाड्ने पक्का, सभामुख सापकोटाको क्षेत्र कता ?

'मेरो निर्वाचन क्षेत्र सिन्धुपाल्चोकमा मेरो सिट धरापमा पर्‍यो र म उमेदवार बन्न पाइनँ भने त्यहाँ विद्रोह हुन्छ' - माेहन बस्नेत



काठमाडौँ । मंसिर ४ गते हुने संसदीय निर्वाचनको मिति नजिकिएसँगै चुनावी सरगर्मी पनि बढेको छ । राजनीतिक दलहरुले निर्वाचन केन्द्रीत कार्यक्रमहरु बढाएका छन् । दलहरुका सम्भावित उम्मेदवारहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा पुग्नेक्रम जारी छ । समग्रमा भन्नुपर्दा मुलुक यतिखेर चुनाव केन्द्रीत हुन लागेको छ । हरेक राजनीतिक दलका नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा दाबी प्रस्तुत गर्न थालिसकेका छन् ।

यसपटक नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस सहितको पाँच दलीय गठबन्धन र नेकपा एमालेको साना दलहरुसहितको गठबन्धन बीच चुनावी प्रतिष्पर्धा हुने लगभग पक्का जस्तै छ । पाँच दलीय गठबन्धनले सिट बाँडफाँडका लागि ११ सदस्यीय कार्यदल बनाएर काम शुरु गरिसकेको छ । तर, यतिखेर सत्ता गठबन्धनको सिट बाँडफाँट गर्न बनेको कार्यदललाई सिटको बाँडफाँटको मोडालिटी बनाउन सकस परेको देखिन्छ ।

अर्कोतिर सिटको बाँडफाँटको मोडालिटी जस्तोसुकै बने पनि गठबन्धनका कारण धेरै जना उम्मेदवारका आकांक्षीहरुले टिकट नपाउने पनि पक्का छ । यस्तै मध्येको एक जिल्ला हो सिन्धुपाल्चोक ।

गठबन्धनलाई सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा उम्मेदवार चयन गर्नै हम्मेहम्मे हुने देखिएको छ । क्षेत्र नम्बर १ सभामुख अग्निप्रसाद सापकोटा र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको क्षेत्र हो ।

अबको निर्वाचनमा २०७४ सालको हारको बदला लिन कांग्रेसका बस्नेत पूर्ण तयारीका साथ आफ्नो क्षेत्रमा सक्रिय भएर खटेका छन् । कोरोना भाइरसको संक्रमण फैलिरहँदा होस् या बाढीपहिरो जाँदा, उद्धार तथा पीडितलाई राहत वितरणमा बस्नेत सक्रिय थिए । बस्नेत विभिन्न दातृ निकाय होस् या आफ्नै व्यक्तिगत पहलमा प्राकृतिक विपत्ति लगायत अन्य समस्यामा सिन्धुबासीको सहारा बनिरहेका छन् ।

गत संसदीय निर्वाचनमा नेकपा एमालेसहित बनेको वाम गठबन्धनबाट माओवादी केन्द्रका सापकोटा निर्वाचित भएका थिए । सापकोटाले बस्नेतलाई पराजित गरेका थिए । सापकोटाले ४० हजार ५०४ मत ल्याउँदा बस्नेतले २९ हजार ७९८ मत ल्याएका थिए ।

तर, २०७४ सालदेखि अहिलेसम्म सिन्धुपाल्चोकको भोटेकोशी र इन्द्रावतीमा धेरै पानी बगिसकेको छ । अर्थात् परिस्थिती पहिले र अहिले धेरै फरक भइसकेको छ । पहिले एमालेसंग माओवादीको गठबन्धन थियो तर, अहिले कांग्रेससंग माओवादीको गठबन्धन छ । गठबन्धन नहुँदा पनि मोहन बस्नेतको सिन्धुपाल्चोक केन्द्रीत समाजसेवी कामहरु र उनको सक्रियताले कांग्रेसको मत पहिलाको भन्दा निकै बलियो बनेको स्थानीय नेताहरुको भनाई छ ।

अबको निर्वाचनमा २०७४ सालको हारको बदला लिन कांग्रेसका बस्नेत पूर्ण तयारीका साथ आफ्नो क्षेत्रमा सक्रिय भएर खटेका छन् । कोरोना भाइरसको संक्रमण फैलिरहँदा होस् या बाढीपहिरो जाँदा, उद्धार तथा पीडितलाई राहत वितरणमा बस्नेत सक्रिय थिए । बस्नेत विभिन्न दातृ निकाय होस् या आफ्नै व्यक्तिगत पहलमा प्राकृतिक विपत्ति लगायत अन्य समस्यामा सिन्धुबासीको सहारा बनिरहेका छन् ।

त्यसैले पनि यसपटक सापकोटालाई बस्नेतले कुनै पनि हालतमा नछोड्ने अडानका साथ चुनाव प्रचार–प्रसारमा होमिइसकेका छन् । नेपाली कांग्रेसका महत्वपूर्ण बैठकहरुमा पनि संसदीय निर्वाचनमा आफूले सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाउनुपर्ने अडान बस्नेतले राख्दै आएका छन् ।

पछिल्लो पटक नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा बस्नेतले भनेका थिए, ‘म गठबन्धनको विपक्षमा छैन । प्रदेश र प्रतिनिधिसभाको चुनावमा पनि गठबन्धन गरौँ । तर, मेरो निर्वाचन क्षेत्र सिन्धुपाल्चोकमा मेरो सिट धरापमा पर्‍यो र म उमेदवार बन्न पाइनँ भने त्यहाँ विद्रोह हुन्छ ।’

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारलाई हेर्दा पनि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा माओवादी भन्दा कांग्रेस निकै बलियो देखिएको छ । त्यहाँ कांग्रेस ३४ हजार ७६१, एमाले २७ हजार ५९, माओवादी १९ हजार ३४४, एस २ हजार ३११ र राप्रपाको १ हजार २३९ मत रहेको छ ।

बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट २०५६ र २०७० मा गरेर दुई पटक सांसद निर्वाचित भएका थिए । २०७० मा निर्वाचन जितेपछि उनी सञ्चारमन्त्री समेत बनेका थिए ।

बस्नेतले आफ्नो अडान नछोड्ने देखेपछि सभामुख सापकोटाले निर्वाचन क्षेत्र परिवर्तन गर्ने तयारी गरेको उनी निकट स्रोतको दाबी छ । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट बस्नेतले नछोड्ने भएपछि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारी गरेको बुझिएको छ । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारलाई हेर्दा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा एमाले ३१ हजार ७७६, कांग्रेस २९ हजार ३०२, माओवादी १६ हजार ७९, राप्रपा ५ हजार ९३२, एसको १ हजार ६६३ मत रहेको छ ।

सिन्धुपाल्चोक २ मा २०७४ सालको निर्वाचनमा एमाले–माओवादी सहितको गठबन्धनबाट शेरबहादुर तामाङ निर्वाचित भएका थिए । उनले राप्रपाका पशुपति शम्शेर जबरालाई पराजित गरेका थिए । तामाङले ३८ हजार ४०१ मत ल्याउँदा जबराले ३० हजार ३६९ मत पाएका थिए ।