कांग्रेस नेता गिरिको निधनप्रति बहालवाला र पूर्व प्रधानमन्त्रीहरुले के भने ?

कांग्रेस नेता गिरिको निधनप्रति बहालवाला र पूर्व प्रधानमन्त्रीहरुले के भने ?


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेपाली कांग्रेसका वौद्धिक नेता तथा सांसद प्रदीप गिरिको शनिबार निधन भएको छ । विभिन्न दलका नेता तथा कार्यकताहरुले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । बहालवाला तथा पूर्व प्रधानमन्त्रीहरुले स्व.गिरीले नेपालको राजनीतिमा दिएको योगदानको सामाजिक सञ्जाल मार्फत स्मरण गरेका छन् ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिलाई वैचारिक र समाजवादी चिन्तक रहेको बताएका छन् । उनको निधनको खबरल आफू निकै स्तव्ध भएको समेत उनले जनाएका छन् ।

‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु । उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ,’ प्रधानमन्त्री देउवाले ट्वीटर मार्फत भनेका छन्, ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दु:खद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’

संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गिरि चिन्तनशील राजनीतिकर्मी भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ओलीले लेखेका छन्, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु । उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गिरीलाई नेपाली राजनीतिको वौद्धिक व्यक्तित्व र वरिष्ठ समाजवादी चिन्तक भएको स्मरण गरेका छन् ।
‘नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली काँग्रेसका नेता प्रदीप गिरिको निधनले स्तब्ध बनाएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु,’ प्रचण्डले भनेका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि गिरीलाई प्रखर समाजवादी चिन्तकको रुपमा सम्झना गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा डा. भट्टराईले लेखेका छन्, ‘प्रखर समाजवादी चिन्तक तथा आत्मीय मित्र प्रदीप गिरिको निधनमा निःशब्द छु । २०३४ सालदेखि ४५ बर्ष निरन्तर वहाँसँगको गहन बौद्धिक विमर्शले मलाई ठुलो उर्जा प्रदान गर्ने गरेको थियो । नयाँ समाजवादी धारको विकासमा लागेका हामी सबैलाई वहाँको निधनले ठुलो क्षति पुगेको छ ! हार्दिक श्रद्धान्जली/समवेदना !’

गिरिको आवश्यका पछिल्लो समय झन् बढ्दै गरेको अवस्थामा उनको निधनले नेपाली राजनीतिमा अपूरणिय क्षति गरेको उनले बताएका छन् ।

‘प्रदीपजी, छिटै छोडेर जानुभो ! अहिलेको भीषण वैचारिक खडेरीमा हाम्रो सहकार्य/सहयात्रा झन् आवश्यक थियो । टोखाको हार्मोनी हाउजिंगमा सँगै बसेर यो वैचारिक खडेरी चिर्न सहकार्य गर्ने हाम्रो सल्लाह पूरा हुन पाएन । तपाईंले राजनीतिमा गहन वैचारिकी र त्यागको जुन मानक छोड्नुभएको छ त्यो सधैं रहिरहनेछ!,’ डा. भट्टराइले भनेका छन् ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष कतथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले स्व. गिरीलाई समाजवादी चिन्तकको रुपमा स्मरण गरेका छन् । ‘नेपाली कांग्रेसका नेता, सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरिको शनिबार राति उपचारको क्रममा निधन भएको खबरले अत्यन्त दुःखी बनाएको छ । दिवंगत नेता गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ नेपालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।