जुम्ली किसानलाई स्याउ टिप्न चटारो

जुम्ली किसानलाई स्याउ टिप्न चटारो

गोल्डेन जातको स्याउ असोजदेखि राम्रोसँग पाक्ने हुँदा अहिले स्थानीय जातको र गोल्डेन जातको स्याउ व्यापारीले लिने गरेका छन्


ग्लोब नेपाल
270
Shares

जुम्ला । जुम्लाका स्याउ किसानलाई यो याममा बगैँचामा स्याउ टिप्न चटारो परेको छ । स्याउमा गुलियोपन भरिएसँगै बिक्री गर्न थालेको तिला गाउँपालिका–१ का स्याउ किसान माने रावतले जानकारी दिए । बगैँचाको स्याउ टिपेर बिक्री गर्न थालिएको छ । उनले भने, “स्थानीय जातको स्याउ र गोल्डेन जातका स्याउ लगाएको छु । स्थानीय जातको जुम्ली स्याउ पाक्न थालेको छ । घरमै प्रतिकेजी ६० मा बिक्री सुरु गरेका छौं ।

गाउँकै स्थानीय व्यापारीले सुर्खेत, नेपालगञ्ज लैजाने गरेका छन् ।” उनले पाँच हजार रोपनीमा पातिहाल्ल स्याउ तथा कृषि समूह गठन गरी करिब एक हजार स्याउका बिरुवा र केही ओखरका बोट लगाएको बताए ।

स्याउ लगाएको चार वर्षपछि फल दिन थालेको छ । यो वर्षमा दुई सय ८० किलो बिक्री भइसकेको पातिहाल्ल स्याउ तथा कृषि समूहका सचिव गोरीकला बस्नेतले बताइन । अरू जातमा गुलियोपन आइसकेको छैन । किसानले अर्डरअनुसार बिक्री गर्ने हो । अहिले जिल्लाको स्याउ तराईका विभिन्न सहरमा जाने गरेको जुम्लाका स्याउ किसान बताउँछन् ।

कृषि विकास कार्यालय जुम्लाले जिल्लाका किसानदेखी उद्यमी र समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा दिने गरेको छ । गोल्डेन जातको स्याउ असोजदेखि राम्रोसँग पाक्ने हुँदा अहिले स्थानीय जातको र गोल्डेन जातको स्याउ व्यापारीले लिने गरेका छन् ।

एक सय पाँच क्विन्टल स्याउ सुर्खेत र अछाममा बिक्री गरी रु १२ लाख बराबरको कारोवार भएको तिला गाउँपालिका–२ मा रहेको कृषि सङ्कलन केन्द्रका व्यवस्थापक मानबहादुर बोहोराले जानकारी दिए ।

जिल्लामा कति प्रतिशत स्याउ उत्पादन भएको छ र कति प्रतिशत स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ भन्ने तथ्याङ्क सङ्कलनमा स्थानीय तहका कृषि शाखासँग समन्वय भइरहको बताइएको छ । गत वर्षभन्दा यो वर्ष स्याउ उत्पादन केही बढेको अनुमान गरिएको छ । सही तथ्याङ्क आउन केही समय लाग्ने कृषि विकास कार्यालय जुम्ला प्राविधिक सुकिराम नेपालीले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाका अनुसार राम्ररी पाकेको स्याउ मात्र खरिद गर्ने व्यापारीलाई अनुरोध गरिएको । विशेषगरी कर्णाली राजमार्गअन्तर्गत स्याउ बगैँचा व्यापारीको आँखामा पर्ने गरेका छन् । ढुवानीमा सहज हुनेभएकाले गाउँका स्याउ बगैँचाभन्दा सडकले छोएका स्याउ बगैँचाको मूल्य बढी हुने गरेको स्याउ व्यापारी बताउँछन् ।

जिल्लाका आठवटै स्थानीय तहमा स्थानीय जातको जुम्ली स्याउ, इटाली, गाला, गोल्डेन, फुजी र जोनाप्रिन्स जातका स्याउको खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाले जनाएको छ ।

साउन महिनामै जुम्लाको काँचो स्याउ बजारमा बिक्री हुने थालेपछि जुम्लाका स्थानीय तहले स्याउ सङ्कलन र बिक्रीमा रोक लगाएका थिए । जिल्लाको एक नगरपालिका र सात गाउँपालिकामा किसान स्याउ खेतीमा लागि परेका छन् ।