ललितपुरमा गठबन्धनलाई तीन भाग, एमाले पत्तासाफ

ललितपुरमा गठबन्धनलाई तीन भाग, एमाले पत्तासाफ



काठमाडौं । तीन निर्वाचन क्षेत्र रहेको ललितपुर जिल्लामा गठबन्धन नहुने हो भने तीनै क्षेत्रमा नेपाली कांग्रेसको जीत निश्चित जस्तै छ । यस अघिको निर्वाचनमा २ स्थानमा एमाले र एउटामा माओवादीका उम्मेदवार निर्वाचित भएका थिए । अहिले एकजना एमाले सांसद नेकपा एकीकृत समाजवादी (एस) मा छन् ।

गठनबन्धन दल चुनावमा सहभागी भए कांग्रेस, नेकपा एस र माओवादीले एक–एक क्षेत्र भाग लगाउन सक्छन् । क्षेत्र नं. १ कांग्रेस, २ मा नेकपा (एस) र ३ मा माओवादी उम्मेदवार हुन सक्छन् । गठबन्धनबाट को–को उम्मेदवार बन्छन् भन्ने विषयमा पनि मोटामोटी सहमति भइसकेको बुझिन्छ । क्षेत्र नं. १ मा कांग्रेसले उदयशमशेर राणालाई उठाउँछ भने २ मा वर्तमान सांसद कृष्णलाल महर्जन र ३ मा ऊर्जा मन्त्री तथा माओवादी नेतृ पम्फा भुसाल चुनावी मैदानमा हुनेछन् ।

६ वटा स्थानीय तह रहेको ललितपुरमा ७१ वटा वडा छन् । स्थानीय तहमा गठबन्धनविरुद्ध नेकपा एमाले एक्लै भिडेको थियो । ६ पालिकामध्ये ४ वटामा कांग्रेस र २ वटामा माओवादीले चुनाव लडेका थिए । चारवटामा कांग्रेस विजयी भयो भने दुईवटामा एमाले विजयी भयो । माओवादीले पाएको स्थानमा एमाले विजयी भएको हो । महालक्ष्मीस्थान नगरपालिकामा माओवादी र नेकपा (एस)को उम्मेदवार उठेपछि एमालेलाई जित्न सजिलो भएको थियो ।

स्थानीय निर्वाचनमा ललितपुर १ बाट कांग्रेसले २३ हजार ८ सय ५४, एमालेले १८ हजार ९ सय ९३, माओवादीले ६ हजार १ सय ३३ र राप्रपाले १ हजार ७ सय ५७ मत प्राप्त गरेका थिए । यस्तै ललितपुर २ बाट कांग्रेसले २१ हजार ८१, एमालेले १७ हजार ७ सय १२, माओवादीले ५ हजार २ सय ५४, राप्रपा ३ हजार ५ सय ९३ र नेकपा (एस) ले ३ हजार १ सय ९२ मत प्राप्त गरेको थियो । यसैगरी ललितपुर ३ मा कांग्रेसले १८ हजार ५ सय ४५, एमाले १७ हजार ७ सय ९, माओवादीले ७ हजार ७ सय २७, नेकपा (एस)ले ५ हजार १ सय २९ र राप्रपाले ४ हजार ३ सय ४२ मत प्राप्त गरेका थिए ।

७१ वडामध्ये कांग्रेसको पक्षमा ३८ वटा वडा छन् भने एमालेले २०, माओवादीले ९, नेकपा समाजवादीले २ र स्वतन्त्रले २ वटा वडामा जितेका छन् । कांग्रेस एकातिर र अन्य सबै राजनीतिक दल अर्कोतिर उभिँदा पनि कांग्रेसको पर्ला भारी देखिन्छ ।

नेपाली कांग्रेसले क्षेत्र नं. १ बाट राणालाई नै उम्मेदवार बनाउँदैछ । उनी गत निर्वाचनमा एमाले उम्मेदवार नवराज सिलवालसँग पराजित भएका थिए । उक्त क्षेत्रमा यसपटक पनि राणा र सिलवालबीच नै भिडन्त हुने सम्भावना बलियो छ । एमालेका सिलवाल यसपटक उम्मेदवार बन्न इच्छुक छैनन्, अरु कसैले दाबी गरे छाड्ने मनस्थिति बनाएका छन् । यो परिवेशमा राणाले चुनाव जित्ने निश्चित जस्तै देखिन्छ ।

क्षेत्र नं. १ को प्रदेश (क) बाट यसपटक पनि पुरानै उम्मेदवार दोहोरिने सम्भावना छ । वर्षमान पुनकी बहिनी लालकुमारी पुनलाई नै माओवादीले अघि सार्ने बुझिएको छ । प्रदेश (ख) बाट कांग्रेसले यसपटक पनि मीनकृष्ण महर्जनलाई नै अघि सार्न सक्छ । जातीय र भेगिए सन्तुलन मिलाउन पनि महर्जनलाई उम्मेदवार बनाउनुपर्ने बाध्यतामा कांग्रेस छ । एमालेले प्रदेश (क) मा अमृतनाथ तिमल्सिना, उमेश शर्मा वा राम आचार्यमध्ये एकजनालाई अगाडि सार्ने छ भने प्रदेश (ख) मा चेतनाथ सञ्जेललाई नै उम्मेदवार बनाउने सम्भावना पनि छ ।

यदि क्षेत्र नं. २ मा समाजवादीको भागमा परेन भने कांग्रेसले आफ्ना उम्मेदवार उठाउने छ । यो क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भन्ने विषय कांग्रेसमा अलमल छ । यो क्षेत्रमा कांग्रेसबाट सम्भावित पाँचजना उम्मेदवार देखिएका छन् । केन्द्रीय सदस्य जीतजंग बस्नेत, पूर्वजिल्ला सभापति मदनबहादुर अमात्य, पूर्वसांसद चन्द्र महर्जन, पार्टी सभापति जितेन्द्र महर्जन र रामकृष्ण चित्रकारमध्येबाट एकजना उम्मेदवार बन्न सक्छन् । चित्रकार प्रकाशमान सिंह क्याम्प छोडेर टिकटकै लागि देउवा क्याम्पमा पुगेका हुन् भने जिल्ला सभापति जितेन्द्र महर्जन पनि सशक्त दाबेदार हुन् । गत निर्वाचनमा पराजित चन्द्र महर्जनलाई नै यसपटक चान्स दिनुपर्छ भन्ने आवाज पनि बुलुन्द छ । बस्नेत आफै उम्मेदवार बन्न सक्ने सम्भावना पनि त्यत्तिकै छ । पूर्वजिल्ला सभापति अमात्य पनि ३ नम्बर छोडेर २ मा आउने चर्चा व्यापक छ ।

यो क्षेत्रबाट एमालेले यसपटक उम्मेदवार भेटेको छैन । एमालेबाट निर्वाचित कृष्णलाल महर्जन नेकपा (एस) मा प्रवेश गरेकाले गठबन्धनको उम्मेदवारलाई टक्कर दिने उम्मेदवार एमालेले नभेटेको हो । सम्भवतः एमालेले ज्ञानेन्द्र शाक्यलाई उम्मेदवार बनाउन सक्छ । पार्टी अध्यक्ष केपी ओलीको ससुरालीतर्फका नातेदारसमेत रहेका शाक्य प्रदेश सांसद हुन् ।

यो क्षेत्रमा नेकपा (एस) को संगठन पनि बलियो ठानिन्छ । वर्तमान सांसद कृष्णलाल महर्जन निर्वाचित भएको क्षेत्र हो यो । त्यसैले नेकपा (एस) कोटामा यो निर्वाचन क्षेत्र प¥यो भने महर्जन नै उम्मेदवार बन्न सक्छन् । महर्जन उम्मेदवार बने भने नेकपा (एस) ले यो क्षेत्रको प्रदेश (क) पनि दाबी गर्न सक्छ । एमालेबाट निर्वाचित माधवप्रसाद पौडेल पनि नेकपा (एस) तिरै गएका छन् । कार्यकर्ताको संरक्षणका लागि भए पनि नेकपा (एस) ले संघीय सांसदको एउटा क्षेत्र र प्रदेश दाबी गर्नसक्छ ।

यो निर्वाचन क्षेत्र कांग्रेसको भागमा परे प्रदेश (क) मा पवनविक्रम थापालाई नै उम्मेदवार बनाउन सक्छ, भने (ख) मा प्रेमकृष्ण महर्जन नै पुनः दोहोरिने सम्भावना छ । यो निर्वाचन क्षेत्रमा माओवादीको खासै प्रभाव देखिएको छैन, त्यसैले उसको यो क्षेत्रबाट कुनै दाबी नरहन सक्छ ।

क्षेत्र नं. ३ मा माओवादीले पम्फा भुसाललाई नै लडाउँदैछ । भुसालसँगै माओवादीले एउटा प्रदेशमा समेत दाबी गर्न सक्छ । भुसालको पर्पmमेन्स खासै राम्रो नभएकाले उनको जित्ने सम्भावना कमजोर देखिएको छ । शीर्ष नेताहरु मतदाता रहेको यो क्षेत्रमा एमालेले रघु पन्त वा अमृत खड्का मध्ये एकजनालाई टिकट दिन सक्छ । पराजित हुने अवस्था आयो भने पन्तलाई अघि सार्ने तथा जित्ने अवस्था आयो भने खड्काले टिकट पाउने सम्भावना बलियो देखिएको छ ।

तत्कालीन भंैसेपाटी गाउँपालिकाका अध्यक्ष तथा निर्यात व्यवसायी खड्काले टिकट पाए जित्न सक्ने अनुमान एमालेको छ । ललितपुर क्षेत्र नं. ३ मा खड्का निक्कै लोकप्रिय मानिन्छन् । बलियो स्वतन्त्र उम्मेदवार उठ्ने हो भने एमालेको जीत पक्काजस्तै देखिएको छ ।

यो क्षेत्रबाट दुईजनाले स्वतन्त्र उम्मेदवारी दिने चर्चा सामाजिक सञ्जालहरुमा आएको छ । डा. सचिन घिमिरे र डा. अरनिको पाण्डेले उम्मेदवारी दिने चर्चा चलेको छ । जनस्वास्थ्य विज्ञ डा. घिमिरे कुन समूहको स्वतन्त्र हुन् त्यो स्पष्ट छैन । तर, पाण्डेलाई भीम उपाध्याय समूहले अगाडि सारेका छन् । जर्मन आमा र रसियामा वातावरण सम्बन्धी विद्यावारिधि गरेका पाण्डेलाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ ।

यो क्षेत्रको प्रदेश (क) बाट एमालेले कसलाई उम्मेदवार बनाउँछ, त्यो टुंगो लागिसकेको छैन, तर (ख) बाट जीवन खड्काको नाम पक्काजस्तै भएको बुझिन्छ । त्यसैगरी (क) बाट माओवादीले राजकाजी महर्जनलाई नै अघि सार्न सक्छ भने (ख) बाट कांग्रेसले शिवराम बानियाँलाई उम्मेदवार बनाउन सक्छ ।