मैले कल्पना नगरेको पद पाएको छु

मैले कल्पना नगरेको पद पाएको छु



मैले कल्पना नगरेको पद पाएको छु । त्यसैले जिम्मेवारीबोध भएको महसुस भएको छ । कसैले भाग्यले पाएको पद भन्छन्, कसैले कर्मले दिएको पद भनेका छन् । तर म भाग्य र कर्म दुवैले प्राप्त गरेको पद भन्छु । कर्म गर्नुपर्छ, त्यसलाई भाग्यले साथ दिँदै जाने रहेछ । यो छोटो अवधिमा देशको नाम राख्ने अवसर प्राप्त भयो । मलाई कामु मुख्यसचिव बनाउन सारा महिलाको अव्यक्त भावना थियो, मौन दबाब थियो । राज्यले महिला मुख्यसचिव पाउनुपर्छ भन्ने भावना सारा महिला समुदायको थियो ।

व्यक्तिका सबै मित्र हुन्छन् भन्ने हुँदैन । जसले मलाई मन पराउनु हुँदैन थियो होला, उहाँहरुले पनि बोल्न सक्ने अवस्था थिएन । यस पटक जसले पनि महिला मुख्य सचिव हुनुपर्छ भनेका थिए ।

विगतमा पनि आठौं नम्बरमा भएको सचिवलाई मुख्य सचिव बनाइएको थियो । यसले हिसाबले म नयाँ होइन । अहिले म पनि आठौं नम्बरमा थिएँ । जुनियर हो भन्ने कुरा आउन सक्छ । लीलामणि पौडेल आठौं नम्बरबाट मुख्यसचिव हुनु भएको हो । म लीलादेवी गड्तौला पनि आठौं नम्बरबाटै मुख्यसचिव भएकी हुँ । नाम चाहिँ मिलेको छ । मिडियामा आयो भने पनि यो जुनियर रहेछ भन्नु पर्दैन । उमेरका हिसाबले अहिले भएका सचिवमध्ये सबैभन्दा सिनियर हुँ । त्यसैले मलाई सरकारले मुख्यसचिवको जिम्मेवारी दिएको छ ।

म सबैभन्दा पहिला कानुन मन्त्रालयमा शाखा अधिकृत थिएँ । कानुन ड्राफ्ट गर्थे, कसैले नभने पनि महिलामैत्री काम गरेरै छाड्थे । हालका परराष्ट्रमन्त्री आरजु देउवा साथी संस्थामा हुनुहुन्थ्यो । सिडलगायत विभिन्न गैरसरकारी संस्थाहरुमा हामीले तालिम पनि लिएका छौं । डा. आरजुले भनेको एउटा कुरा मलाई जहिले सम्झना आउँछ । हामीले बाहिर जति नै ठूला कुरा गरे पनि सरकारीस्तरमा कलम चोबिदिने मान्छे भएन भने जस्तासुकै रिर्पोट भए पनि कार्यान्वयनमा आउँदैन । त्यसैले निजामती सेवामा काम गर्ने ठाउँमा महिला हुन आवश्यक छ भनेको कुरा मैले अहिले पनि बिर्सेको छैन ।

हामी बाहिर जतिसुकै कराएर के गर्नु, लेख्नुपर्ने ठाउँमा लेखिदैन । म कानुन मन्त्रालयमा हुँदा कतिपय कमिटीहरुमा एकजना महिला चाहिन्छ भनेर लेखिदिएँ । त्यत्ति लेखेपछि कसैले काट्दैन्थे । घरेलु हिंसा, मानव बेचविखन, लैगिक समानतालगायत धेरै कार्यक्रममा म सहभागी भएको छु ।

पहाडमा हुर्केकी छोरीले जे काम गर्नुपर्छ, त्यो सबै मैले पनि गरेकी छु । घाँस, दाउरा, पानी पधेंरो, घर लिप्नेदेखि एउटा किसानको छोरीले गर्नुपर्ने सबै काम गरेकी छु । यति गर्दागर्दै पनि मैले पढ्न कहिल्यै छाडिन् ।

संसदले पास नगरिदिएको भए, कर्मचारीले लेखेरमात्र केही हुँदैन थियो । त्यसका अलावा देवानी संहितमा पनि म एक्लै भए पनि काम गरेको थिएँ । मलाई उल्लेख गर्न मन लागेको कुरा चाहिँ म सहसचिव भएपछि निर्वाचन आयोगमा पुगें । संविधान बनिसकेको थिएन, स्थानीय निर्वाचन के गर्ने भन्ने थियो । नीलकण्ठ उपे्रती प्रमुख निर्वाचन आयुक्त हुनुहुन्थ्यो । म जानुभन्दा अगाडि कानुन निर्माणका लागि कन्स्लटेन्सी हायर गरिएको हुँदो रहेछ । प्रमुख निर्वाचन आयुक्तले तपाईं कानुन बनाउन जान्नुहुन्छ अरे, तपाईं आफै कानुन बनाउनुस् भन्नुभयो । त्यो मेरा लागि राम्रो अवसर थियो ।

मैले अध्ययन गर्दै गएँ, महिलाको प्रतिनिधित्व काहिँ देख्दिनँ । एक ठाउँ के भेटियो भने राजनीतिक दलले प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षमध्ये एकजना महिलालाई उम्मेदवार बनाउनुपर्छ भन्ने शब्द राखे । त्यसमा मलाई तत्कालीन निर्वाचन आयुक्त इला शर्माले राम्रो सर्पोट गर्नुभयो । उहाँले त्यो एजेण्डा छोड्दै छाड्नु भएन ।

संविधान जारी भएपछि म सरुवा भएर कानुन मन्त्रालयमा आएँ । त्यो एजेण्डा इला शर्माले नछोड्दा संसदबाट पास भएको थियो । त्यो पास भएको दिन हामी यति धेरै खुशी भयौं, त्यसको कुनै सीमा छैन । त्यसले धेरै महिलाहरुलाई अवसर प्रदान गरेको छ ।

धेरैले उपप्रमुख दिएर के हुन्छ भनेर प्रश्न पनि गर्नुभयो । उपप्रमुख दिए पनि ठीकै छ, पहिलो पटक उपप्रमुखमा जितेर आउँदो दोस्रो पटक प्रमुखमा फाइट गर्छ । यसले के फरक पार्छ, यसले कम्तीमा अवसर त दिन्छ । हामीले त्यसरी हेर्न हुँदैन, प्राप्त अवसरलाई सदुपयोग गर्नुपर्छ भनेँ । उपप्रमुख, उपाध्यक्ष न्यायिक समितिमा बस्नुभएको छ । बजेट उहाँहरुले नै बनाउनु हुन्छ, त्यो हाम्रा लागि गौरवको विषय हो ।

म तेह्रथुम जिल्लाको एउटा दुर्गम गाउँमा जन्मेकी हुँ । अहिले पनि त्यो ठाउँमा बाटो पुगेको छैन । पहाडमा हुर्केकी छोरीले जे काम गर्नुपर्छ, त्यो सबै मैले पनि गरेकी छु । घाँस, दाउरा, पानी पधेंरो, घर लिप्नेदेखि एउटा किसानको छोरीले गर्नुपर्ने सबै काम गरेकी छु । यति गर्दागर्दै पनि मैले पढ्न कहिल्यै छाडिन् ।

हाम्रो घरबाट काठमाडौं आउन ४ दिन लाग्थ्यो । घरबाट हिडेको मान्छे चार दिनमा काठमाडौं आइपुगिन्थ्यो । म जिउँदो छु भन्ने कुरा २२ दिनमा घरमा पुग्थ्यो । चिठ्ठी १५ दिनपछि पुग्थ्यो, घर पुग्दा आजै पढेजस्तो लाग्थ्यो । अर्थात् हामीले धेरै दुःख गरेर पढेर आएको हो ।

मैले घर छोड्दा त्यो गाउँपालिकामा कसैको छोराचेली डेरा बसेर पढेको थाहा थिएन । धेरैजसो आफन्तकहाँ बसेर पढ्थे । मैले गाउँ छोडेर काठमाडौं पढ्न थालेपछि मपछिका धेरै बहिनीहरुलाई पनि काठमाडौं पढ्ने जोश चल्यो ।

मैले ल क्याम्पसबाट आईएल र बीएल गरें । काठमाडौं स्कुल अफ लबाट त्यसभन्दा माथिको शिक्षा हासिल गरें । राजनीति शास्त्रमा पनि मास्टर्स गरेको छु । मैले शाखा अधिकृतमा एकै पटकमा नाम निकालेको हुँ । उपसचिवमा मैले परीक्षा दिन पाइँन । क्युमा बस्नुप¥यो बढुवा ढिलो भयो । सहसचिवमा म एक पटक अन्तर्वार्तामा फेल भएँ, त्यो फेल पनि मलाई भगवानले उपहार दिनुभएको रहेछ । अर्को वर्ष म पास भएँ, सहसचिव भएको सात वर्षमा सचिव भएँ । आज म यो पोजिसनमा आइपुगेको छु ।

म एउटा खुला किताब हुँ । मलाई कहिले पनि नकरात्मक बन्न मन लाग्दैन । नकरात्मक कुरालाई सकरात्मक ढंगले हेर्नुपर्छ । मन्त्रालयको सचिव भएर जान धेरै पटक प्रयास गरें । एक पटक मन्त्रालयको हेड भएर जाने मेरो ठूलो इच्छा थियो । त्यो अवसर मैले पाएको थिइँन । त्यो प्राप्त नहनुको कारण म मुख्यसचिव बन्न रहेछ ।

मुख्यसचिव पदमा बस्न मेरो लामो अवधि छैन । तर जे जति बस्छु, देशकै लागि गर्ने हो । मेरो व्यक्तिगत इच्छा, चाहना केही पनि छैन । किन भने मलाई खान लाउन पुगेकै छ । छोराछोरी हुर्किसके । श्रीमान आफैमा वरिष्ठ अधिवक्ता हुनुहुन्छ । मलाई कुनै बोझ छैन । राजनीति गर्नुपर्दैन, चुनाव लड्नु पर्दैन, काम गर्न म स्वतन्त्र छु । म कानुनको मान्छे भएकाले कानुन बमोजिम मात्र काम गर्छु । म पदमा रहे पनि नरहे पनि महिलाका लागि म सधैं लागिरहन्छु । यसमा ममाथि शंका गर्नु र दुविधा लिनुपर्ने कुनै कारण छैन ।