जुन धरातलमा म जन्मिएँ त्यहाँको वातावरण र समाज नै बेग्लै थियो। त्यहाँ सानो-ठूलो,जतीया विभेद,धनी-गरिबको तर्क वितर्क नभएको दिन हुँदैन्थ्यो । यी तर्क सुनेर म अचम्मित हुन्थें। हेर्दा त हामी मान्छे नै हौं, फेरि यी मान्छे-मान्छे बीचको विभेद,धनी-गरिब,सानो-ठूलो कसले बनायो भन्ने प्रश्न मेरो मथिङ्गलमा घुमिरहन्थ्यो । म सधै उत्तरको जडसम्म पुग्न चाहन्थे । र, म अहिलेसम्म यो उत्तरको जडमा पुग्न सकेकी छैन ।
यस्तैमा मेरो पनि ख्यालै-ख्यालमा बोल्दा-बोल्दै थाहै नपाई एउटा केटासँग प्रेम भयो । प्रेमकै प्रसँगमा मैले उसको जात के हो, भनेर सोधें तर संयोगबस उ मेरो जातको नभई अर्कै जातको परेछ । एकछिन त म झसङ्ग भएँ, त्यसपछि मौनता साँधें । मनमा धेरै प्रश्नले वरीपरि घुमाई रह्यो तर म ति प्रश्नको उत्तर खोजिरहँदा म त उसँग खोइ कसरी-कसरी एकदम नजिक हुन पुगे छु, कि त्यो मायाको खाडलबाट बाहिर निस्किन मलाई आफ्नो कलेजो काटेर फ्याकी दिएजस्तो महसुस हुन्थ्यो ।
एकतिर समाजका ती जतीया भेदभाव,धनी-गरिब, सानो-ठूलोको कुराले अन्योल बनाउथ्यो भने एकतिर मेरो माया जुन मेरो मुटुको टुक्रा हुन्थ्यो। समाजको ती अन्तरजातीय भेदभावको कुरा र पबित्र मायाको बीचमा म पिल्सिएको थिएँ। फेरि पनि मैले एक मन एक सुर गरी समाज र परिवारको ती कुराहरुको सीमालाई पार गर्दै म मेरो मनमन्दिरको देउतालाई आगल्न पुगें । दुनियाँ सायद भित्री पिडालाई लुकाएर बाहिरी देखौटी हाँसोको सहरामा बाँच्छ होला ।
तर, म आफूलाई त्यसमा गन्दिन, म दुनियाँ र समाजको लागि होइन । आफ्नो लागि बांच्ने मान्छे त्यसैले मेरो मनलाई रुवाएर म कदापी देखौटी हाँसोको सहारामा बाच्न चाहन्न । किनकि म आफू खुशी भए पो अरुलाई पनि खुसी साथ खुसी हाँसो छर्न सक्छु । रुखको जरालाई मलजल, पानी हालेर मौलाउँन दिए पो त्यो रुखले हरियो भई मीठो फल स्वच्छ हावा दिन सामर्थ्य हुन्छ ।
यिनै विविध विवादको क्रमलाई पार गर्दै म आफ्नो खुशीको लागि उसँग प्रेम विवाह गरें । जुन दिन मेरो र उसँग प्रेमविवाह भयो त्यही दिनदेखि समाज र परिवारले हामीलाई अलग गर्न चाह्यो तर पनि हामी हाम्रो बाचा कसममा अडिक भई आगाडी बढ्यौं । समाज र परिवारले हाम्रो यो प्रेम विवाहलाई कस्तो आरोप लगाउँछ हामीलाई त्यसको परिणाम थाहा नै थियो । यसरी जीवनमा अगाडी बढ्दै गर्ने क्रममा हाम्रो बालबच्चा भयो । ती बलबच्चा हुर्किंदै गर्ने क्रममा बोल्ने र बुझ्नेसम्म भयौं। त्यसपछि अरु छिमेकीको बालबच्चाको देखासिखी गर्न थालियो ।
बालबच्चाले हामी पनि मामा घर जाने.. हामी पनि बाजेबजुको घर जाने भनेर आग्रह गर्न थाले । हाम्रो कुरा बुझेको समजदार समाज र परिवारले त बुझ्न र बुझाउन सकेन भने हामीले ती बाल बच्चालाई कसरी बुझाउनु । फेरि पनि कुरा मिलाएर भोलि जाऊ ल… पर्सी जाऊ ल…. भन्दै उनीहरुलाई भुलाएका थियौ । म अहिलेसम्म पनि ती प्रश्नको उत्तर खोजी राखेको छु।
मान्छे-मान्छेबीचको यो असमानताको भ्रम कसले सिर्जना गर्यो होला ? हामी हिजो बाँदर युगदेखि आज मान्छेको युगमा परिणात भएका छौ। चन्द्रमासम्म पुग्ने, बस्नेदेखि लिएर गुड्ने, उड्ने सक्नेसम्मको यन्त्र आविष्कार गरेर आईपुगेका छौँ । तर सोच भने यति सानो जुन कहिले पनि कुवाबाट खोला नाला हुँदै समुन्द्रसम्म पुग्न पाएनौ। बुद्धि र बिबेकले त हामी अन्तरयामी हौं, तर सोचले कहिले माथि हुन सकेनौं। एक अर्कोको भावनालाई बुझ्न सकेनाैं।
याे समाजले आफ्नो घाउ र अरुको घाउ एउटै हो भनेर सम्झिन सकेन। खोइ कहिले होला हाम्रो सोचमा बदलाव आउने ? कहिले होला यो अन्तरजतीय कुरामा, धनी-गरिब, जतीय भेदभाव, सानो-ठूलोको अन्त्य हुने ? म आज पनि श्रीमान र बालबच्चा साथमा पीडाको डिलमा बसेर हात गालामा च्याप्दै ती प्रश्नको उत्तर खोजिरहेछु । ….क्रमश
क्यालिफोर्निया
प्रतिक्रिया