कुशे औँशी तथा कुशको महत्व र विशेषता

कुशे औँशी तथा कुशको महत्व र विशेषता



अमेरिका – भाद्र कृष्ण औँसीका दिन मनाइने कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । गुरु पुरोहितहरुले आफ्ना हितैषी यजमानहरुको घरमा कुश लिएर जाने चलन पनि छ ।यो परम्परा अझै पनि गाँउ सहरमा चलिरहेकै देखिन्छ ।

के कति ठाउँमा कुशको प्रयोग गरिन्छ भन्ने सन्दर्भमा यो श्लोकद्वारा प्रष्ट पारिएको छ ।

स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि ।
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।

अर्थात् कुशे औँशीकै दिन उखिलिएको त्यहीँ कुश प्रयोग गरी वर्षभरिका नित्य स्नान, पूजा कर्म, दान, जाप, हवन, श्राद्धादि कर्म र सँस्कारिक सबै कर्म, तथा चाडपर्वहरू मनाउने परम्परा धेरै अगाडिदेखि सुरु भएको हो । यो सनातनीय धार्मिक परम्परा यसरी नै चलिरहनेछ । घरमा कुश हुनेले कुशलाई उखेल्दा भन्ने मन्त्र यसप्रकार रहेको छ – यो मन्त्रोच्चारणद्वारा कुशलाई उखेलिन्छ र घरभित्र राखिन्छ । यसरी कुशलाई घर भित्र राख्दा भगवानको घरभित्र वास हुने र सकारात्मक उर्जा प्राप्त हुने र नकारात्मक उर्जा तथा भूतप्रेत पिशाच आदि घर भित्र प्रवेश गर्न नसक्ने कुराको धार्मिक विश्वास रहँदै आएको छ ।

“विरन्जिना सहोत्पन्न परमेष्ठी निसर्गत,
नुद सर्वाक्षि पापानि दर्भस्वस्ति करोभव“

कुशलाई शालिग्राम, तुलसी तथा पिपललाई जस्तै भगवान विष्णुका रूपमा पूजा गरिन्छ । शास्त्रीय मान्यताअनुसार पुरोहित वा ब्राह्मणले मन्त्रोच्चारण गरी वैदिक विधिका साथ उखेलिएको कुश आफ्ना यजमानका घरघरमा पुर्याउने र कुश लैजाने पुरोहित वा ब्राह्मणलाई यजमानले सिधादान र दक्षिणा गर्ने पनि प्रचलन छ ।

देवकार्य होस् या पितृकार्य जन्मदेखि मृत्युसम्म कुशको प्रयोग अनिवार्य हुन्छ । कुशको वैदिक परम्परादेखि नै ठूलो महत्त्व रहेको छ र वर्तमान समयमा पनि कुशलाई औषधीको रुपमा प्रयोग गर्न सकिने कुरा वैज्ञानिकहरूले अनुसन्धान सकेकाछन् ।

विष्णु भगवानको प्रतीक मानिने कुशलाई श्रीमद्भगवद् गीता, गरुड पुराण, अथर्व वेद आदिमा क्रोधनाशक र अशुभनिवारक अर्थात् मनलाई नियन्त्रण गर्नसक्ने क्षमता रहेको छ भनेर व्याख्या गरिएको पाइन्छ । धार्मिक मान्यता अनुसार मान्छे मर्ने बेलामा या पार्थिव शरीरलाई कुशकै बिछ्यौनामा सुताउने गरिन्छ । यदि कुनै व्यक्तिको मृत्यु पञ्चक ( धनिष्ठा, शतभिषा, पूर्वभाद्र, उत्तरभाद्र र रेवती ) नक्षत्रमा भए भवितव्यमा हुने अनिष्टबाट बच्न पनि कुशकै ५ वटा पुत्ला बनाई मसानघाटमै जलाउने प्रचलन रहेको छ । हराएको मान्छे अब जिउँदो छैन भन्ने लाग्यो भने कुशकै पुत्ला बनाएर अन्त्येष्टि गर्ने प्रचलन पनि रहेको छ, किनकि कुशमा अनिष्ट शक्तिलाई नाश गर्ने क्षमता मिल्ने भएकाले कुशकै पुत्ला बनाएर अन्त्येष्टि गर्ने गरिन्छ ।

आयुर्वेदमा पनि यसको निकै नै ठूलो महत्व रहेको छ । तराईदेखि पहाडसम्म पाइने यो वनस्पतिको जरा र यसको पत्ताबाट रक्तसञ्चारमा ऊर्ध्वगमन र अधोगमन (high & low), पत्थरीमा, अल्सर, रक्तप्रद, मूत्ररोग, पायल्स साथै अन्य रोग प्रतिरोधक क्षमता कुशको सेवनले बढाउने, मुटुको चाल सन्तुलित राख्ने र कुशासनमा बस्दा नशाघात, पक्षाघात, हृदयाघात, मष्तिस्काघातजस्ता डरलाग्दा रोगको आक्रमण रोक्ने सामर्थ्य कुश मै रहेको छ भनी व्याख्या गरिएको छ ।

कुशे औँसीका दिन सोमबार परेमा सोमवती अमावश्या नामक विशेष ब्रतको दिन पर्दछ जसमा पिपलस्वरुप भगवान विष्णुको पूजा हुन्छ । सोमबार कुशेऔँशी परेमा त्यस दिन उखिलिएको कुश १२ वर्षसम्म पनि प्रयोग गर्न सकिने कुरा शास्त्रमा बताईएको छ । कुशजस्तै अरु घाँस ( काँश, शिरु, दुबो) जस्ता बनस्पति पनि कुशको सट्टा प्रयोग गर्न सकिन्छ । साँच्चिकै कुश हो कि होईन भनेर चिन्नका यसलाई रातको समयमा प्रयोगात्मक तरिकाले जाँच्न सकिन्छ । कुश उखेलेकै दिन रात्रीको समयमा कुशको जरा हेर्नुहोस्, त्यसले प्रकाश दिएको छ, चन्द्रमा जस्तै सेतो बलेको छ भने त्यो कुश हो अन्यथा अरु नै हुन सक्दछ । यसरी यसको परीक्षण गरी चिन्न सकिन्छ ।

यो दिन आफ्ना बाबुको लागि विशेष दिन पनि मानिन्छ, जीवित अवस्थामा रहनुहुनेले विभिन्न खानाका परिकार बनाई बाबुको मुख हेर्ने चलन छ ।

कुशे औँसीका दिन छोराछोरीले आफ्ना बुबालाई मनपर्ने खानेकुरा, फलफूल, मिठाइ खुवाएर तथा कपडा उपहार दिएर सम्मान र आदर गर्ने गर्छन् । बुबाबाट आशिर्वाद प्राप्त गरेमा सुख शान्ति मिल्ने विश्वासका आधारमा विभिन्न कारणले घरबाट टाढा रहेका छोराछोरीले समेत समय निकालेर घरमा पुगी बाबुलाई मनपर्ने खानेकुरा खुवाउने र नयाँ वस्त्र उपहार दिने गर्दछन् ।

बुबा नहुनेले भने काठमाण्डौ उत्तरपूर्वमा अवस्थित गोकर्णेश्वर महादेव, पशुपतिनाथ काठमाडौको वागमती, रसुवाको वेत्रावती, तनहुँको देवघाट, सुनसरीको विष्णुपादुका तथा वराहक्षेत्र लगायतका पवित्र तीर्थस्थल पुगेर स्नान गरी पितृको नाममा श्राद्ध गरी तर्पण दिने गर्दछन् । रोकिएका तिथि श्राद्धहरु पनि कुशे औँशीमा गर्न सकिन्छ । यसै कुशे औँशीमा नेपाली युवा साहित्यकार मोतीराम भट्टको जन्म भएकोले मोतीराम जयन्तीको रुपमा पनि यस दिनलाई मनाउने गरिन्छ ।

(यस लेखसँग सम्बन्धित थप जानकारी लिनका लागि यो नम्बरमा कल गरी जानकारी लिन सक्नुहुनेछ – 703-870-6480 वा ईमेल पनि गर्न सक्नु हुनेछ । [email protected])