केनको गोलमा टोटनहमको जित

केनको गोलमा टोटनहमको जित



लन्डन । ह्यारी केनको दुई गोल मद्दतमा टोटनहमले आइतबार इंग्लिस प्रिमियर लिगमा नटिङघम फरेस्टलाई २-० ले हराएको छ । एन्टोनियो कोन्टेको टोलीले जारी सिजन आफ्नो अपराजित यात्रालाई चौथो खेल सम्म कायम राखेको हो । यसक्रममा टोटनहमले तीन खेल जितेको छ भने एक खेलमा अंक बाँडेको छ ।

खेलको पाँचौ मिनेटमा केनको गोलमा टोटनहमले अग्रता लियो । केनले डेजान कुलुभेस्कीको पासलाई सदुपयोग गरेका थिए । ५६औं मिनेटमा केनले टोटनहमको अग्रता बढाउने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनन् । केनको पेनाल्टी प्रहार नटिङघमका गोलकिपर डिन हेन्डरसनले बचाएका थिए ।

खेल सकिन नौ मिनेट बाँकी रहँदा केनले व्यत्तिगत दोस्रो गोल गर्दै टोटनमको जित पक्का गरेका थिए । तेस्रो स्थानको टोटनहमको चार खेलमा १० अंक छ । समान खेल खेल्दै दोस्रो स्थानमा बसेको म्यानचेस्टर सिटीको पनि समान १० अंक छ भने शीर्ष स्थानको आर्सनलको १२ अंक रहेको छ । यता वेस्ट हमले सिजनको पहिलो जित निकाल्ने क्रममा एस्टन भिल्लालाई १-० ले हरायो ।

रियम मड्रिड र बार्सिलोनाको जित
कप्तान करिम बेन्जेमाको दुई गोलप्रेरित रियल मड्रिडले स्पेनिस ला लिगामा तेस्रो खेलसम्म जित यात्रा कायम राखेको छ । आइतबार राति भएको खेलमा साविकको विजेता रियलले स्पानियोललाई ३-१ ले हरायो ।

शीर्ष स्थानको रियलको तीन खेलमा ९ अंक छ । समान खेलमा दोस्रो स्थानको रियाल बेटिसको पनि समान ९ अंक छ । तेस्रो स्थानको बार्सिलोना र चौथो स्थानको भियारियालको समान सात अंक छ ।

१२औं मिनेटमा भिनिसियस जुनियरले गरेको गोलमा रियालले अग्रता लिएको थियो । ४३औं मिनेटमा जोसेलुले स्पानियोललाई खेलमा फर्काएका थिए । खेल सकिन दुई मिनेट बाँकी रहँदा बेन्जेमाले रियललाई पुनः अग्रता दिलाएका थिए ।

इन्जुरी समयको १०औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियलको जित यात्रालाई निरन्तरता दिएका थिए । रियलले आगामी शनिबार रियल बेटिसको सामना गर्नेछ ।

त्यस्तै बार्सिलोनाले रियाल भालाडोलिडलाई ४-० ले हरायो । घरेलु मैदानमा बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोवस्कीले दुई गोल गरे भने पेड्री र रोबर्टोले समान एक गोल गरेका थिए ।