पद्मश्री साहित्य पुरस्कार ज्ञवालीलाई, पद्मश्री साधना सम्मान ठकुरीलाई र पद्मश्री गौरव डा. रुइतलाई

पद्मश्री साहित्य पुरस्कार ज्ञवालीलाई, पद्मश्री साधना सम्मान ठकुरीलाई र पद्मश्री गौरव डा. रुइतलाई


ग्लोब नेपाल
54
Shares

काठमाडौं । यस वर्षको पद्मश्री साहित्य पुरस्कार कथाकार केशवराज ज्ञवाली, पद्मश्री साधना सम्मान माया ठकुरीलाई र पद्मश्री गौरव सन्दुक रुइतलाई दिइने निर्णय भएको खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले जनाएको छ । ज्ञावालीलाई अर्को भोर कथासङ्ग्रहका लागि तथा कथाहरुमा समाजको सूक्ष्म संवेदना र मनवीय भावनाले ओतप्रोत कथा लेख्ने ठकुरीलाई पद्मश्री सम्मान र लाखौं मानिसलाई आँखाको ज्याति प्रदान गर्ने अद्भुत नेत्र चिकित्सक डा. रुइतलाई पद्मश्री गौरव प्रदान गरिएको प्रतिष्ठानले विहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अर्को भोर कथासङ्ग्रहका कथाहरूको शैलीमा नवीनता छ । फरक कथानक र उत्कृष्ट संयोजनले हरेक कथालाई निकै सुन्दर बनाएका छन् । कथाहरूको भाषा सरल छ । आरोह, अवरोह र नाटकीयताको सम्यक सन्तुलन कायम राख्न अधिकांश कथा सफल छन् । प्राप्त १४४ पुस्तकबाट पहिलो चरणमा पन्ध्र ओटा र दोस्रो चरणमा पाँच ओटाको संक्षिप्त सूची यसअघि प्रकाशन भइसकेको छ ।

यसैगरी पद्मश्री साधना सम्मान तीसको दशकदेखि नेपाली आधुनिक कथाका क्षेत्रमा महङ्खवपूर्ण योगदान दिनुहुने कथाकार माया ठकुरीलाई अर्पण गर्ने निर्णय गरिएको छ । उहाँका कथाहरु समाजका सूक्ष्म संवेदना र मनवीय भावनाले ओतप्रोत छन् । उहाँका सात ओटा कथासङ्ग्रह, एउटा गीतिसङ्ग्रह र एउटा बालकथासङ्ग्रह प्रकाशित छन् ।

यसै वर्षबाट सुरु गरिएको पद्मश्री गौरव पुरस्कार लाखौं मानिसलाई आँखाको ज्याति प्रदान गर्नुहुने अद्भुत नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई अर्पण गर्ने निर्णय गरिएको छ । दुर्गम हिमाली गाउँमा जन्मिएर कठिन सङ्घर्ष गर्दै नेत्र चिकित्सकीय क्षेत्रको सगरमाथा बन्न सफल रुइत अँध्यारोमा रुमलिएका लाखौं जीवनलाई उज्यालो दिने मानवतावादी डाक्टर हुनुहुन्छ’ प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीन ओटैको राशी रु तीन लाख रुपैयाँ रहेको छ । तीन ओटै सम्मान तथा पुरस्कार प्रत्येक वर्षझैं कोजाग्रत पूर्णिमाका दिन प्रदान गरिन्छ ।