लिज कन्जर्भेटिभ पार्टीको नेता निर्वाचित, बेलायतले तेस्रो महिला प्रधानमन्त्री पाउँदै

लिज कन्जर्भेटिभ पार्टीको नेता निर्वाचित, बेलायतले तेस्रो महिला प्रधानमन्त्री पाउँदै


ग्लोब नेपाल
54
Shares

काठमाडौं । बेलायतले अर्को तीन वर्षपछि महिला प्रधानमन्त्री पाउने भएको छ ।

बेलयातको सत्ताधारी कन्जर्भेटिभ पार्टीले विदेशमन्त्री लिज ट्रसलाई बोरिस जोनसनको उत्तराधिकारीका रूपमा चयन गरेको छ। स्थानीय समयानुसार सोमवार दिउँसो ट्रसलाई उक्त पार्टीको नेतामा निर्वाचित भएको घोषणा गरिएको हो। दलको नेता बनेसँगै उनी मङ्गलवार प्रधानमन्त्री नियुक्त हुनेछिन्।

नेता छनोट गर्ने पार्टीको १९२२ कमिटीका अध्यक्ष सर ग्राहम ब्राडीले दिउँसो १२ बजेर ४० मिनेट जाँदा उनी नेता चुनिएको घोषणा गरेका थिए । ट्रसले ८१ हजार ३ सय २६ मत ल्याएकी छन् भने ऋषि सुनाकले ६० हजार ३९९ मत पाएका थिए । ८२ दशमलव ६ प्रतिशत मत खसेको थियो ।

विदेशमन्त्री ट्रसले पूर्वअर्थमन्त्री ऋषि सुनाकलाई पराजित गरेर पार्टी नेता चुनिएसँगै उनी प्रधानमन्त्रीका रुपमा टेन डाउनिङ स्ट्रिट प्रवेश गर्ने भएकी हुन् । बेलायतको इतिहासमा ट्रस तेस्रो महिला प्रधानमन्त्री भएकी छन् । अब कन्जर्भेटिभ पार्टीमा ट्रससँगै पार्टी नेताको प्रतिस्पर्धामा रहेका ऋषि सुनक नयाँ प्रधानमन्त्रीको दौडबाट बाहिरिएका छन्।

नयाँ प्रधानमन्त्रीले देशको कमजोर अर्थतन्त्रको चुनौती सामना गर्नुपर्नेछ। चालीस वर्षमा त्यहाँको मुद्रास्फीति सबैभन्दा उच्च छ।