नेपाली स्याउले बजार पाउँदैन, चीन र भारतबाट मासिक ७० करोडको स्याउ भित्रन्छ

नेपाली स्याउले बजार पाउँदैन, चीन र भारतबाट मासिक ७० करोडको स्याउ भित्रन्छ


ग्लोब नेपाल
108
Shares

काठमाडौं । नेपालमा उत्पादन हुने स्याउले बजार नपाएर खेर गइरहँदा विदेशबाट भने एकै महिना करोडौं मूल्यको स्याउ नेपाल भित्रने गरेको छ । मनाङ, मुस्ताङ लगायतका जिल्लामा उत्पान हुने स्याउ बजारसम्म पुर्याउन नसक्दा बोटमै कुहिने गरेको समाचार बारम्बार मिडियामा आउँछन् । ढुवानीको राम्रो व्यवस्था नहुँदा नेपाली स्याउले उपयुक्त बजार पाउन सकेको छैन ।

तर, विदेशबाट भने दैनिक दुई करोड रुपैयाँभन्दा बढीको स्याउ नेपाल आउने गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा मात्र विभिन्न देशबाट नेपालमा ६९ करोड ८७ लाख ३८ हजार रुपैयाँको स्याउ भित्रिएको छ ।

सो मूल्यमा ९२ लाख १० हजार ८९९ केजी स्याउ साउन महिनामा नेपालले विभिन्न देशबाट आयात गरेको छ । नेपालमा स्याउ चीन र भारतबाट आउने गरेको छ । गत साउन महिनामा चीनबाट २६ करोड ३७ लाख ७८ हजार रुपैयाँ र भारतबाट ४३ लाख ४९ हजार ६० हजार रुपैयाँको स्याउ नेपाल भित्रिएको विभागले जनाएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले ७ अर्ब १५ करोड ८८ लाख ५४ हजार रुपैयाँको स्याउ आयात गरेको थियो ।