बाटोमै मृत बच्चा जन्माइन नर्मताले

बाटोमै मृत बच्चा जन्माइन नर्मताले


ग्लोब नेपाल
81
Shares

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे । निसीखोलादेखि स्वास्थ्यकर्मी जान सम्भवन थिएन । निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झण्डै एक दिन लाग्छ ।

आफन्तले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा खबर गरे । खबर पाउनासाथ क्लिनिकबाट अनमी सीता बुढा मगर विकको घर पुगिन् । उनको घर पुगेर स्वास्थ्य जाँच गर्दा बच्चाको धड्कन सुनिएको थिएन ।

बच्चाको धड्कन नसुनिएपछि बुढामगरले विकलाई ठूलो अस्पताल लैजानुपर्ने सुझाइन । भौगोलक विकटताका कारण यातायात सेवाको पहुँच छैन । नजिकमा अस्पताल नहुँदा बुढामगरले आफन्तलाई डोकोमा बोकेर विकलाई केही तलसम्म ल्याउन भन्दै आफैँ गाडीको व्यवस्थापन गर्न ढोरपाटन फर्किन ।

आफन्तले विकलाई डोकोमा बोकेर केही तल के झारेका थिए, उनले बाटोमै मृत बच्चा जन्माइन । गाडी लिएर अनमी बुढामगर त्यहीँ आइपुगिन् । उनले विकको बाटोमै सामान्य उपचार गरिन र ढोरपाटन ल्याइन ।

अनमी बुढामगर भन्छिन, “विकलाई बिहानदेखिनै गाह्रो भएको रहेछ, आफन्तले मलाई खबर गरेर घरमा पुग्दा, उनी निकै छट्पटाइकी थिइन । बच्चाको धड्कन सुनिएन, मैले बुर्तिवाङ अस्पताल लैजान सुझाए । मृत बच्चा जन्माइन, रगत धेरै बगिसकेको थियो, स्लाइन पानी दिएर ढोरपाटन ल्याए । अहिले त्यहीँ उपचार भइरहेको छ ।”

विकले ३२ हप्ताको समय नपुगेको बच्चा जन्माएको अनमी बुढामगरले बताइन । “दुर्गम गाउँमा शिक्षा तथा स्वास्थ्यको पहुँच नहुँदा यस्ता घटना हुने गरेका छन्”, उनले भने, “धन्न अस्पताल पुगेकाले बच्चा बचाउन नसके पनि आमाको ज्यान भने जोगियो ।” विकले गर्भवती भएदेखि स्वास्थ्य परीक्षण नगराएको पाइएको बुढामगर बताइन । अहिले उनको ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ ।