महोत्तरी । नेपाली प्रजातान्त्रिक आन्दोलनका अमर शहीद केशव कोइरालाको स्मृतिमा निर्मित ‘शहीद केशव कोइराला सभाकक्ष’ शुक्रबार उद्घाटन गरिएको छ । महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित श्रीराम माध्यमिक विद्यालय परिसरमा निर्मित सभाकक्ष नगरप्रमुख हरिप्रसाद मण्डलले हिजाे शुक्रबार उद्घाटन गरेका हुन् । सभाकक्ष रु ३७ लाख लागतमा मटिहानी नगरपालिकाले निर्माण गरेको हो । विसं २००७ मा पूर्वी नेपालको ओखलढुङ्गामा जन्मेर महोत्तरीलाई प्रजातान्त्रिक आन्दोलनको कर्मक्षेत्र बनाएका शहीद कोइरालाको सहादतलाई चिरस्थायी बनाउन सभाकक्ष निर्माण गरिएको मटिहानी नगरपालिकाले जनाएको छ । नेपाली कांग्रेसमा आबद्ध भएर प्रजातन्त्र पुनःस्थापनाको आन्दोलनमा होमिएका कोइरालाको सहादतले आफ्नो ठाउँ धार्मिकस्थल मात्र नभएर शहीद भूमि पनि बनेको नगरप्रमुख मण्डलको भनाइ छ ।
मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) मा अध्ययनरत रहेकै बेला कांग्रेसको सशस्त्र आन्दोलनमा लागेका कोइरालालाई महोत्तरीवासीले आदरका साथ सम्झने गरेका छन् । कोइरालाले २०३१ साल साउन ३१ गते मटिहानी प्रहरीचौकीमा प्रतीकात्मक बम विष्फोट गर्ने क्रममा प्रहरीको गोली लागेर निधन भएको थियो ।
मटिहानी प्रहरीचौकीमा विष्फोटको योजना बनाउने तत्कालीन नेपाली कांग्रेसका नेता गणेश नेपाली, बलराम शर्मा, महेश कोइराला, श्रीधर झा र केशव कोइरालामध्ये २०३१ साल साउन ३१ गते राति चौकीमा विष्फोटको जिम्मेवारी साथीहरुबीच लिनुभएका कोइरालाले विष्फोट गराएलगत्तै प्रहरीले गरेको फायरिङमा उहाँको निधन भएको थियो । कोइराला कलकलाउँदो २४ वर्षे उमेरमा काखकी छोरी र पत्नीलाई छाडेर प्रजातान्त्रिक आन्दोलनमा लागेका थिए । शहीद कोइरालाका परिवारमा धर्मपत्नी गुणकुमारी, छोरी समिता र छोरीतर्फका दुई नाति रहेका छन् । समिताका पति उज्जल बराल कांग्रेस सिन्धुलीका नेता हुन् ।
प्रतिक्रिया