बुटवलबाट हराएका ३ विद्यार्थी मुम्बइमा अर्धचेत अवस्थामा

बुटवलबाट हराएका ३ विद्यार्थी मुम्बइमा अर्धचेत अवस्थामा


ग्लोब नेपाल
81
Shares

भैरहवा । शुक्रबारदेखि हराएका बुटवलका तीन जना विद्यार्थी भारतको मुम्बइमा फेला परेका छन् । मुम्बइको केरला रेलवे स्टेशनमा शनिबार राति दुई बजे उनीहरु तीनै जना अर्धचेत अवस्थामा फेला परेको पारिवारिक स्रोतले बताएको छ ।

शुक्रबार बिहान विद्यालय जान भनी घरबाट हिँडेका उनीहरु विद्यालयमा हाजिर समेत नभइ बेपत्ता थिए । मुम्बइमा उनीहरु फेला परेको खबर पाएपछि उद्धारका लागि नेपाल प्रहरीलाई लिएर जाने तयारी भइरहेको अभिभावकहरुले बताएका छन ।

बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी शुक्रबारदेखि बेपत्ता थिए । उनीहरु मध्ये दुई जना नवीन औद्योगिक माध्यमिक विद्यालय र एक जना नहरपुर माध्यमिक विद्यालयका विद्यार्थी हुन । उनीहरु घरबाट सँगै विद्यालय हिँडेका थिए ।

उनीहरुलाई कसले मुम्बइ पुर्‍यायो भन्ने केही थाहा नभएको अभिभावकहरुले बताएका छन् । इलाका प्रहरी कार्यालय बुटवलले उनीहरुलाई सहज तरिकाले नेपाल ल्याउन र कसले त्यहाँ पुर्‍याएको हो भन्ने पत्ता लगाउने काममा प्रहरी लागेको बताएको छ । पछिल्लो समय तराईका विभिन्न जिल्लाबाट नेपाली विद्यार्थीहरु अपहरण गरेर भारत लैजाने गरिएको विषय सामाजिक सञ्जालमा फैलिएको बेला यो घटना भएको हो ।