हामी कस्ता प्रतिनिधि पाउँदैछौं

हामी कस्ता प्रतिनिधि पाउँदैछौं



हाम्रा प्रतिनिधिहरु निश्चित गर्ने प्रयोजनका लागि राजनीतिक दलहरु धेरै सक्रिय देखिएका छन् । नयाँ पुराना सबै दलहरु उम्मेदवार निश्चित गर्न आ–आफ्ना निकटतम व्यक्तिहरुलाई कसरी सुरक्षित गर्न सकिन्छ भनेर रातदिन खटिरहेका छन् । बजारमा विभिन्न किसिमका हल्ला र समाचार आउँछन् । राजनीतिक बजार बढी नै तातेको छ । राजनीतिलाई आय आर्जन र जीविकोपार्जनको व्यवसाय बनाएकाहरु दलको टिकट लिने, दिने, खरिद बिक्री गर्ने, हराउने जिताउने, गठबन्धन बनाउने, भत्काउने अभियानमा बजार भाउ निर्धारण गरिरहेका छन् ।

राजनीति शास्त्रमा जानकारहरु भन्दा विचौलिया, दलाल, व्यापारी, ठेकेदार र डनहरु कसको भाग्य कसरी चम्कन्छ भन्ने अनुमान विश्लेषण र भविष्यवाणी गरिरहेका छन् । कुन दलको कुन व्यवसायी, ठेकेदार, व्यापारी, विचौलियालाई कहाँ कसरी सुरक्षित गर्न सकिन्छ भन्ने गम्भीर चिन्तन मननका कुरा सुनाउँछन् । कसले, कहाँ कसरी सम्बन्ध विकसित गरिरहेको छ र कति खर्च गर्ने तयारी भइरहेको छ भन्ने पनि बजारमा व्यापक चर्चाको विषय बनेको पाइन्छ । खर्च उठाउने तरिका, गर्ने तरिका र अन्य दलका नेता तथा कार्यकर्तालाई खरिद गर्ने तरिका मात्र होइन को–कसरी खरिद बिक्री हुँदै आएको छ, सो समेत बजारमा सुन्न पाइन्छ ।

गएको निर्वाचनहरुमा एउटा दलको उम्मेदवारले अर्को दलको टिकट नपाएको आकांक्षीलाई कति रकममा खरिद ग-यो भन्ने पनि खुलाएको छ । बजारको भाउ बडाबडको स्थिति हेर्दा दलहरुले निश्चित गर्ने उम्मेदवारका देश र जनताप्रति होइन, उनीहरु हाकिम र व्यासायीप्रति उत्तरदायी हुने देखिन्छ । छनोट प्रक्रिया नै अति परादर्शी र व्यक्तिवादी छ । कुन दलको कुनै नेतासँग सम्बन्ध बनेको छ, त्यसको आधारमा छनोट हुने तथा अवसर पाउने देखिन्छ । राजनीतिक मूल्य, मान्यता, आदर्श र इमान्दारिताको लेखाजोखा नै छैन । निर्वाचन जित्न कुनै पनि हतकण्डा प्रयोग गर्न सक्ने क्षमता र योग्यता भएकोलाई उच्च प्राथमिकतामा राखिएको छ । नेतृत्वसँग राय बझाउने र जनताको विश्वास एवम् अभिमतको आसय बुझ्ने, इमान्दार र योग्य व्यक्ति प्राथमिकतामा नपर्ने निश्चित जस्तै छ । भागवण्डा, लेनदेन र गठबन्धनको मारमा परेको लोकतान्त्रिक अभ्यास स्वस्थ्य हुने सम्भावना छैन । जसले अधिक लुट्न सक्छ, त्यो नै सबैभन्दा अकाट्य योग्यता निर्धारण भएको छ ।

निर्वाचन महँगो भएको आवाज आइरहेको समयमा सबैभन्दा बढी खर्च गर्न सक्ने र साधनश्रोत जुराइदिन सक्ने व्यक्तिले आकर्षक उम्मेदवार हुने वातावरण बनेको छ । आफ्नो मात्र होइन, दलको लागि र निकटतम नेतृत्वको पनि खर्च व्यहोर्ने व्यक्तिको खोजी व्यापक छ । निर्वाचन क्षेत्रमा सम्भावना बोकेको असल र इमान्दार व्यक्ति आकांक्षी छ भने त्यो क्षेत्रलाई गठबन्धनको नाममा अर्को दललाई दिने षड्यन्त्र पनि पार्टीभित्र बनेको बुझिन्छ । यसमा निश्चित स्वार्थ समूहको एक प्रकारको सर्वदलीय सहमति बनेको छ ।

निर्वाचन क्षेत्रमा सम्भावना बोकेको असल र इमान्दार व्यक्ति आकांक्षी छ भने त्यो क्षेत्रलाई गठबन्धनको नाममा अर्को दललाई दिने षड्यन्त्र पनि पार्टीभित्र बनेको बुझिन्छ । यसमा निश्चित स्वार्थ समूहको एक प्रकारको सर्वदलीय सहमति बनेको छ ।

पाँच दलीय गठबन्धन नै निश्चित व्यक्तिहरुको स्वार्थ समूह हो । त्यहाँ पार्टी मिलाउन पनि आवश्यक पर्दैन । खास खास दलका खास खास व्यक्तिहरुको सन्तुष्टि प्राप्त हुन्छ । सरकार बनाउने र त्यहाँ आफ्नो वर्चश्व स्थापित गराउने एकसूत्रीय अभियान भएकोले राम्रो होइन हाम्रो मान्छे चाहिएको छ । गठबन्धनमा देश भर धेरथोर संगठन भएको र निर्वाचनमा प्रतिस्पर्धा गर्ने इच्छा भएका कार्यकर्ता कांग्रेसका छन् । अन्य दलहरुलाई कांग्रेसको पुच्छर समातेर वैतर्णी तर्नुछ । त्यसका लागि सत्ताको हरियो घाँस देखाएर बाध्य बनाउने रणनीति अन्य दलहरुको देखिन्छ । मुखमा नै आएको भाग खोसिएला वा गुम्ला कि भनेर वयोवृद्धदेखि युवासम्म त्रस्त छन् । उनीहरुलाई जसरी भए पनि सत्ताको शयर गर्नुछ । त्यहाँ मूल्य, मान्यता, आदर्श, सिद्धान्त मात्र होइन, शासन प्रणालीको सामान्य मापदण्डको पालना पनि आवश्यक छैन, हेक्कासमेत राखिँदैन । जनमानसले के भन्ला ? अन्तर्राष्ट्रिय समुदायको धारणा कस्तो बन्ला ? हाम्रै मतदाताहरुले पनि के सोच्लान् ? कतै स्वतन्त्र उम्मेदवारहरुको पल्ला भारी त हुने होइन ? भन्ने समेत ख्याल गरेको देखिँदैन ।

दलहरुको यस्तो सोच, शैली र मानसिकतामा कसरी सुधार आउँला ? उनीहरु देश, जनता, शासन प्रणाली, सिद्धान्त र आचारणमा गम्भीर हुने परिस्थिति बन्ला वा नबन्ला ? यस्तै किसिमको रवैयाले निरन्तरता पाइरहने पो हो कि यसलाई रोक्न आम मानिस कसरी प्रस्तुत होलान् त्यसको सामान्य संकेत त स्थानीय निर्वाचनमा भएको हो, आगामी संघ र प्रदेशको निर्वाचनमा पनि अली प्रभावकारी सन्देश दिने अवस्था आउला वा नआउला यसै भन्न कठिन छ । तर त्यसको टड्कारो आवश्यकता भने देखिन्छ ।

नेतृत्वले जे जस्तो निर्णय गर्दा पनि त्यसलाई स्वीकारेर झोले कार्यकर्ता बन्न अब इमान्दार मानिस तयार नहोलान् । उनीहरुको घर, परिवार, निकटम चाटुकार र आर्थिक व्यवस्थापकको अनुकूलताको लागि आदर्श र सिद्धान्त बोकेर परिवारकै लागि संघर्षको मैदानमा उत्रिएका असल र इमान्दार व्यक्तिहरुले अब पनि थाहा पाउने गरी विद्रोहको, असहमतिको, अस्वीकार्यताको शंख बनाएनन भने, मुलुकको अस्तित्व नै संकटमा पर्न सक्छ । समानुपातिक र प्रत्यक्ष तर्फका उम्मेदवारहरु प्रस्तुत गरी हाम्रा प्रतिनिधि बनाउने समयमा नै हामीले सार्थक हस्तक्षेप, निर्मम प्रतिवाद र सम्भावित तिरस्कारको सशक्त आवाज उठायौं भने ‘हाम्रा प्रतिनिधि’ तोक्ने ठेकेदार, डन, विचौलिया र त्यसलाई सञ्चालन गर्ने भ्रष्ट गिरोह तर्सिन्छ नै । जनताको शक्ति र समाजसँग त्यो प्रवृत्ति सदैव थर्कमान हुन्छ नै । तर, हामी समयमा संगठित, प्रभावकारी र कठोर निर्णय गर्न चुक्छौं र त्यो गिरोह हाबी हुन्छ ।