सिटौला भर्सेज लिङ्देनः के होला परिणाम ?

सिटौला भर्सेज लिङ्देनः के होला परिणाम ?



काठमाडौं । झापा– ३ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला २०७४ को निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँग १३ हजारभन्दा बढी मतान्तरले पराजित भएका थिए । गत निर्वाचनमा कांग्रेस र राप्रपा मिलेर वाम गठबन्धनविरुद्ध चुनाव लडेको थियो । तर कांग्रेसका सिटौलाले उक्त निर्वाचन क्षेत्र राप्रपालाई छोड्न मानेनन् । राप्रपा अध्यक्ष लिङ्देनलाई वाम गठबन्धनले समर्थन गरेपछि सिटौला ठूलै मतान्तरले पराजित भएका हुन् ।

यसपटकको चुनावी भिड्न्त पनि यी दुवै नेताहरुबीच हुने स्पष्ट छ । बाह्रदशी, हल्दिवारी, केन्चनकवल गाउँपालिका तथा भद्रपुर नगरपालिकाको १ देखि ८ वडा र विर्तामोड नगरपालिकाको वडा नं. १० यो निर्वाचन क्षेत्रका स्थानीय पालिका हुन् । बाह्रदशी एमाले, हल्दिबारी राप्रपा र केचनकवलमा कांग्रेस विजयी भएको छ । यी पालिकाभित्र २८ वडा पर्छन् । यसमध्ये कांग्रेस १६, राप्रपा ५, एमाले ३ माओवादी ३ र एकजना स्वतन्त्र वडाध्यक्षमा विजयी भएका छन् । यी वडामा कांग्रेससँग २५ हजार ९ सय ४९, राप्रपासँग २१ हजार १ सय ५९, एमालेसँग २१ हजार ८५, माओवादीसँग ६ हजार ६ सय ८८ मत छ । अन्य साना राजनीतिक दलहरु पनि अस्तित्वमा छन्, तर उनीहरुको प्रभावले राष्ट्रिय राजनीतिम खासै अर्थ राख्दैन ।

यस पटक पनि एमालेले राप्रपासँग सहकार्य गर्ने सहमति गरिसकेको छ । दुवै प्रदेशसभा आफू लिएर राप्रपा अध्यक्ष लिङ्देनलाई समर्थन गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीको बाध्यताजस्तै बनेको छ । किन भने ओली चुनाव लड्ने निर्वाचन क्षेत्र झापा–५ मा राप्रपाको पक्कड राम्रै मानिन्छ । आफ्नो निर्वाचन क्षेत्रमा राप्रपाको सहयोग नपाए ओलीका लागि यो निर्वाचन फलामको च्युरा हुने निश्चित छ ।

झापा–३ मा तेस्रो स्थानमा रहेको एमालेले राप्रपासँग दुवै प्रदेश मागेको छ । अघिल्लो निर्वाचनमा पनि राप्रपाले दुवै प्रदेश बाम गठबन्धनलाई बुझाएको थियो । तर यसपटक राप्रपाले आफ्ना कार्यकर्तालाई पनि संरक्षण गर्नुपर्ने भएकाले एउटा मात्र एमालेलाई दिने सहमत देखिएको छ । प्रदेश (क) एमालेलाई दिएर (ख) मा आफ्नो उम्मेदवार उठाउने तयारी राप्रपाले गरेको बुझिन्छ । प्रदेश (क) मा एमालेले दुर्गा प्रसाईलाई उठाउने लगभग निश्चित जस्तै छ । उनको तयारी संघीय निर्वाचनमा एमालेको तर्फबाट लड्ने थियाे । तर, उक्त निर्वाचन क्षेत्र राप्रपालाई बुझाउनुपर्ने भएपछि प्रसाई प्रदेशमा खुम्चेका हुन् । मेडिकल माफियाका रुपमा परिचित प्रसाईका राजनीतिक गतिविधि केही समयअघिदेखि यही निर्वाचन क्षेत्रमा केन्द्रित छ ।

कांग्रेसको केन्द्रीय राजनीतिमा रमाएका सिटौला झापा–३ का निर्विकल्प उम्मेदवार हुन् । स्थानीय तहको निर्वाचनमा प्राप्त मतलाई विश्लेषण गर्ने हो भने कांग्रेस पहिलो नम्बरमा आउँछ । दोस्रोमा राप्रपा, तेस्रो एमाले र चौथो माओवादी हो । पहिलो र चौथो तथा दोस्रो र तेस्रोबीच गठबन्धन बन्ने सम्भावना बलियो देखिन्छ । अर्थात् कांग्रेस गठबन्धनसँग ३२ हजार ६ सय ३७ मत छ भने एमाले राप्रपासँग ४२ हजारभन्दा बढी मत देखिन्छ । अर्थात् कांग्रेस गठबन्धनलाई निर्वाचन जित्न धेरै मेहनत गर्नुपर्ने हुन्छ ।

प्रदेशमा कांग्रेस गठबन्धनले प्रदेशमा एक–एक वटा सिट बाड्ने सक्ने देखिएको छ । (क) मा माओवादीलाई दिएर (ख) आफूले राख्ने सक्छ । (क) बाट माओवादीले सीता ढकाललाई उम्मेदवार बनाउने लगभग निश्चित जस्तै भएको छ भने (ख) बाट कांग्रेस जिल्ला सचिव नविन विमली अथवा अघिल्लो निर्वाचनमा पराजित भगिरथ पोद्दारलाई उम्मेदवार बनाउने सम्भावना छ । राइजिङ स्टारका रुपमा उदाएका विमलीलाई सिटौलाले रुचाएका छन् भने जातीय सन्तुलन मिलाउन पोद्दारको उम्मेदवार अनिवार्यजस्तै बनेको छ ।

राजनीतिका कूटील खेलाडीको परिचय बनाएका सिटौलालाई चुनाव जित्न वर्तमान तथ्यांकले कुनै अर्थ राख्दैन । यता, कम्युनिष्टकै टाउका गिर खेलेर राजनीतिक उचाइ बनाएका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको पक्षपाति भूमिकाप्रति झापा–३ का जनता सन्तुष्ट छैनन् । राजा बोक्न राप्रपा फुटाएको आरोपसमेत लागेका राजेन्द्रसँग धेरैजसो जनजाति समुदायसमेत खुशी छैनन् । राजेन्द्रको यिनै कमजोरीमा खेल्न सके कांग्रेसका पूर्व महामन्त्री सिटौलाको जीत निश्चित छ, होइन भने राप्रपा अध्यक्ष लिङदेनको जीतलाई कसैले रोक्न सक्दैन ।