दार्चुला । त्रिदेशीय सीमा जोडिएको दार्चुलाको महाकाली नदीमा नेपाल-भारत जोड्ने मोटरेबल पुलको शिलान्यास गरिएको छ ।
सोमबार महाकाली नगरपालिका-८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धारचुला तहसिल बलुवाकोट नजिकको छारछुम जोड्ने पुलको संयुक्त रूपमा शिलान्यास गरिएको हो। नेपालकातर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले र भारततर्फ उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले सोमबार संयुक्त रुपमा मोटरेबल पुलको शिलान्यास गरेका छन्।
भारतीय पक्षले निर्माण गर्ने एक सय १० मिटर लम्बाईको उक्त मोटरेबल पुलको शिलान्याससँगै त्रिदेशीय सीमा जोडिएको क्षेत्रमा अन्तरदेशीय पुल निर्माणले व्यापारिक मार्गमा जोडिने विश्वास गरिएको छ ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले दार्चुला अब अन्तरदेशीय व्यापारको हब बन्ने विश्वास व्यक्त गरे । उनले सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक नाकाको रुपमा लिनुपर्ने बताए । यो पुलबाट चीनसँगको ताँलाकोट नाका १३४ किलोमिटर र तराईको बह्मदेवमण्डी २२१ किलोमिटर दूरीमा पर्छ । पुल निर्माणको सुरुवातले दार्चुलाको विकास तथा उनन्तीको ढोका खुलेको उनको भनाइ छ ।
नेपाल-भारत जोड्ने मोटरेबल पुल निर्माणपश्चात् दार्चुला जिल्ला सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र बन्ने सम्भावना बढेको दार्चुला उद्योग वाणिज्य संघका महासचिव सर्पराज बडूले बताए । मोटरेबल पुलको शिलान्याससँगै त्रिदेशीय सीमा जोडिएको क्षेत्रमा अन्तरदेशीय पुल निर्माणले दुइ देशलाई व्यापारिक मार्गमा जोडिने भएकाले स्थानीय, व्यवसायी खुसी भएका छन्।
जिल्ला समन्वय प्रमुख महादेव बडू (कश्यप) को अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नेपालस्थित भारतीय दूतावासका डीसीएम प्रशान्त श्रीस्ताव, उद्योग मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीलगायतहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया