अनसनरत डा. केसीलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

अनसनरत डा. केसीलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइँदै


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ वटा माग राखेर ९ दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य स्थिति झन् जटिल हुँदै गएपछि थप उपचारका लागि काठमाडौं ल्याइने भएको छ ।

उनी उपचाररत कैलालिको सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि सेनाको स्काईट्रक मार्फत काठमाडौं पठाउने तयारी गरेको जिल्ला प्रशासनले कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

स्वास्थ्यमा जटिलता देखिएपछि डा.केसीलाई सेती अञ्चल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको थियो । अस्पतालले डा. केसी शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने बताएको छ । त्यस्तै पेटमा कडा खालको अल्सर भएको आशंका गरिएको पनि अस्पतालले जनाएको छ ।

स्वास्थ्यामा जटिलता देखिएको र धनगढीमा उपचार हुन नसक्ने भएपछि काठमाडौं लैजान हेलिकप्टर मगाइएको प्रवक्ता जोशीले बताए । उनले भने, ‘उहाँको स्वास्थ्यमा धेरै नै समस्या देखियो । यहाँ उपचार हुन नसक्ने देखिएपछि सेनाको हेली मगाएका हौँ ।’, उनका अनुसार काठमाडौंबाठ सेनाको स्काईट्रक हेलिकप्टर उडिसकेको छ ।

अनसन बसेको दोस्रो दिनदेखि नै डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयुमा भर्ना गरिएको थियो । उनका अनुसार सेती प्रादेशिक अस्पताल परिसरमा सुरक्षा व्‍यवस्था कडा बनाइएको छ ।