विद्यार्थीद्वारा नगरपालिका कार्यालयमा तोडफोड

विद्यार्थीद्वारा नगरपालिका कार्यालयमा तोडफोड


ग्लोब नेपाल
54
Shares

बारा । शैक्षक भ्रमणका लागि रकम उपलब्ध नगराएको भन्दै विद्यार्थीहरुले बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा तोडफोड गरेका छन् । कचोर्वा, कंकाली, खजानी माध्यामिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीले कार्यालयमा तोडफोड गरेका हुन् ।

कार्यालयमा तोडफोड र प्रहरीमाथि ढुङ्गामुढा गर्दा प्रहरी निरीक्षक देवराज काफ्लेसहित सात सुरक्षाकर्मी घाईते भएका छन् भने केही विद्यार्थी समेत घाईते भएका छन् ।

कार्यालयको गाडी, टिभी, एसी, सोफा झ्याल, ढोका, कम्प्युटर, फर्निचर, अरू विद्युतीय उपकरण लगायतमा तोडफोड गरिएको नगरप्रमुख किशोरी साह कलवारले जानकारी दिए ।

भ्रमण खर्च माग्न विद्यार्थीहरु आएकोमा डेंगुको प्रकोप फैलिरहेकोले अहिले भ्रमणमा नजान र केही दिनपछि बजेट उपलब्ध गराईदिने भन्दा पनि सो समूहले कार्यालयमा अन्धाधुन्द तोडफोड गरेको नगरप्रमुख कलवारले बताए ।

नगर प्रमुख कलवारले विद्यार्थीलाई कार्यालयकै केही कर्मचारीले उचालेर घटना गराएको आरोप लगाएका छन् । उनले यसबारे प्रहरीलाई जाहेरी दिएर कारबाही प्रकृया अघि बढाइने पनि बताए । घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले क्षतिको विवरण संकलन भइनसके पनि करिब ३० लाख रुपैयाँ बढीको क्षति भएको बताए ।

१६ बर्ष मुनीका विद्यार्थी भएका कारण सामान्य मात्र बल प्रयोग भएको उनले बताए । यसअघि सिम्रौनगढ नगरपालिकामा पनि विद्यार्थिहरुले तोडफोड गरेका कारण लाखौंको क्षति भएको थियो ।