काठमाडौं । यती एयरलाईन्सले हवाई सेवा सुरुवात गरेको २४ वर्ष पुरा भएकाे छ । तत्कालीन हवाई विभागबाट यतीले १९९८ मे महिनामा व्यापारिक उडानको अनुमति पाएको थियो । कम्पनीले पहिलो उडान भने २१ सेप्टेम्बर १९९८ मा गरेको थियो । यतीले सो पहिलो उडान गरेको दिनलाई नै हरेक वर्ष वाषिर्कोत्सवका रुपमा मनाउने गरेको छ ।
हिमाली क्षेत्रको चराको रुपमा चिनिएको यतीले सुरुवाती दिनमा यातायात सञ्जाल नजोडिएका हिमाली क्षेत्र र कर्णालीका बासिन्दालाई खाद्यान्न, औषधी, लत्ताकपडालगायत सामग्री ढुवानी गर्दै सेवा विस्तार गरेको थियो । यतीले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो सञ्जाल बढाउँदै लगेको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले जानकारी दिए । उनले भने, ‘यती एयरलाइन्स र तारा एयरका साहसी पाइलट एवं आत्मविश्वासी चालक दल, दक्ष प्राविधिक, तालिम प्राप्त कर्मठ कर्मचारी, साझेदार संघ संस्थाहरुको लगन, मेहनत, इमानदारी तथा यात्रुहरूको विश्वासले यती एयरलाइन्सले गौरवमय २४ वर्षे इतिहास पूरा गर्न सफल भएको हो, यसका लागी हामी सवैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।’
यतीले सामाजिक उत्तरदायित्व अन्तर्गत सगरमाथा सफाई अभियानमार्फत सगरमाथा लगायत खुम्बु क्षेत्रबाट हालसम्म करिब १०० टन फोहोर एयर लिफ्ट गरिसकेको छ । यस्तै, विभिन्न जिल्लामा २ लाख ७२ हजार ६०० वटा विरुवा वृक्षारोपण गरिसकेको छ । वायुयानभित्र प्लाष्टिक कपको सट्टा पेपर कप प्रयोगमा ल्याएको, विद्युतीय सवारीसाधनलाई प्राथमिकताका साथ प्रयोगमा ल्याएको कम्पनीले जनाएको छ ।
यतीले हाल पाँचवटा एटीआर विमानमार्फत् नेपालगञ्ज, भद्रपुर, जनकपुर, पोखरा, सिमरा, भैरहवा र विराटनगरमा उडान भर्दै आएको छ भने भगिनी संस्था तारा एयरको ४ वटा ‘ट्वीन-अटर’ विमानमार्फत् दुर्गम हिमाली तथा पहाडी भागहरु लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, बाजुरा जस्ता विमानस्थलमा सेवा दिँदै आएको छ ।
प्रतिक्रिया