काठमाडौं । राजपरिवार चढ्ने दुईवटा सरकारी गाडी राजेन्द्र खेतानको ग्यारेजमा फेला परेको छ । काठमाडौं महानगरपालिकाले टुकुचा खोलाको उत्खनन गर्दा लक्ष्मी बैंकको कम्पाउन्ड तथा खेतानको घरको ग्यारेजमा ती गाडी फेला परेका हुन् । लक्ष्मी बैंक खेतान समूहको हो, उक्त समूहका अध्यक्ष राजेन्द्र खेतान हुन् ।
काठमाडौं महानगरपालिका महानगर प्रहरी प्रमुख राजु पाण्डेले हात्तीसारस्थित लक्ष्मी बैंक रहेको कम्पाउन्डभित्र राजेन्द्र खेतानको ग्यारेजमा राजदरवारमा प्रयोग भएका दुईवटा सरकारी गाडी फेला परेको जानकारी दिए । सञ्चारमाध्यमले ती गाडीको भिडियो खिच्न थालेपछि खेतानका सहयोगीहरुले ती गाडी क्रेन ल्याएर अन्यत्र लगेका थिए । ती गाडीहरु कहाँ छन् भन्ने जानकारी महानगरपालिकासँग सुरक्षित रहेको प्रमुख पाण्डेले बताए ।
बा. १ झ ६९० नम्बरको उक्त मर्सिडिज गाडी खेतानको ग्यारेजमा फेला परेको हो । उक्त गाडीको अगाडि पट्टिको शिशामा सवारी प्रदूषण जाँच प्रमाणपत्रको स्टिकर टाँसिएको छ । उपत्यका ट्राफिक कार्यालयले २०५९ साल असार मसान्तसम्मको समयसीमा स्टिकर टाँसिएको छ ।
ग्यारेजमा रहेको उक्त गाडीको भिडियो खिच्न थालेपछि सम्बन्धित व्यक्तिहरु आएर नम्बरप्लेट निकालेका थिए । यो गाडी सरकारी नभएको उनीहरुले दाबी गरे । आफूहरुले कवाडीसँग किनेको उनीहरुको भनाइ थियो । सरकारी गाडी कसरी कवाडीहरुसँग किन्नुभयो भन्ने प्रश्नको जवाफ उनीहरुले दिन चाहेनन् ।
मर्सिडिज कम्पनीले निर्माण गरेको उक्त गाडी यातायात व्यवस्था विभागमा २०६१–०१–०३ मा अतिथि सरकार विभागको नाममा रहको देखिन्छ । गाडीको ब्लुबुक नम्बर १५७४५ हो । मोडल तथा निर्माण भएको वर्ष १९५९ लेखिएको उक्त गाडी ६ सिलिन्डरको हो । भन्सार सुविधामा ल्याएको उक्त गाडी पेट्रोलले चल्छ भने गाडीमा ७ वटा सिट छन् ।
राजदरवारमा प्रयोग भएका ती गाडी कसरी खेतानको ग्यारेजमा पुग्यो भन्ने विषयमा छानबिन गर्न पूर्व युवराज्ञी हिमानी शाहले माग गरेकी छन् । सामाजिक सञ्जालमा उनले भनेकी छन्, ‘यी गाडी कसरी व्यक्तिको घरमा पुग्यो छानबिन होस् ।’
प्रतिक्रिया