डेंगु संक्रमितको संख्या २२ हजार नाघ्यो, २९ जनाको मृत्यु

डेंगु संक्रमितको संख्या २२ हजार नाघ्यो, २९ जनाको मृत्यु


ग्लोब नेपाल
108
Shares

काठमाडौं । देशभरका ७६ जिल्लामा डेंगु फैलिएको र हालसम्म २२ हजार ९८८ जनालाई डेंगुको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभर फैलिएको डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी भेटिएको थियो । त्यसयता हरेक वर्ष बढ्दो क्रममा रहेको डेंगुले यो वर्ष महामारीकै रुप लिएको छ ।

मन्त्रालयले दिएको जनकारी अनुसार सबभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७३१ जनालाई डेंगु भएको छ । लुम्बिनी प्रदेशका २ हजार ८२१ जना, सुदूरपश्चिम प्रदेशका ७७७, प्रदेश १ का ५९१, गण्डकीका ५१५, मधेश प्रदेशका ३२३ र कर्णाली प्रदेशका २३० जनालाई डेंगु भएको छ। भक्तपुर, ललितपुर लगायतका सबभन्दा धेरै संक्रमण फैलिएको जिल्लामा खोज र नष्ट गर अभियान चलाइएको मन्त्रालयले जनाएको छ ।

डेंगु नियन्त्रणमा ढिलाइ भइसकेका कारण संक्रमित र मृत्युको संख्या अझै बढ्नसक्ने भन्दै स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन् । विज्ञहरूका अनुसार समयमै लामुखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने काम अगाडि नबढाउँदा यस्तो अवस्था सिर्जना भएको हो ।

मन्त्रालयका प्रवक्ता डा सञ्जय ठाकुरले डेंगु नियन्त्रणकालागि सबै निकायहरूको पहल र सहभागिता जरुरी रहेको बताए ।