प्रचण्डको घर : बाहिर सामान्य, भित्र भव्य

प्रचण्डको घर : बाहिर सामान्य, भित्र भव्य


ग्लोब नेपाल
14.9k
Shares

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार चितवनस्थित शिवनगरमा १४ कठ्ठा जग्गामा बनाइएको घरमा गृह प्रवेश गरेका छन् । धेरैले यो घर बाहिरी आवरणबाट देख्दा जति सानो र सामान्य देखे पनि यो घर भित्रबाटै एक तले नै भए पनि निकै भव्य छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १४ मा रहेको यो घर छिमेकीका अनुसार १ करोड रूपैयाँमा बनेको हो । बाहिरबाट हेर्दा यो घर सामान्य देखिन्छ, तर भित्र निक्कै सुविधा सम्पन्न छ । ठूलो पर्खाल । भित्र छिर्ने बित्तिकै दायाँपट्टी सुरक्षाकर्मी र अन्य सहयोगी बस्न मिल्ने कोठा निकालेर टिनको छाना हालेर अस्थायी संरचना बनाइएको छ ।

१४ कठ्ठा जग्गामा बनेको यो घरका सबै कोठामा फर्निसिङ गरिएको छ । घरमा परिवार र पाहुना बस्ने छुट्टै घर बनाइएको छ ।

घरको मुल ढोकाबाट भित्र प्रवेश गर्ने वित्तिकै फलसिलिङ हालिएको सान्दार बैठक कक्ष छ । बैठक कक्षमा लचकदार सोफा, एसी र फ्यान जडान गरिएको छ भने सबै कोठामा एसी छन् । भुइँमा चिल्ला मार्बल प्रयोग गरिएको छ । सयन कक्ष र शय्या पनि उत्तिकै भव्य छ ।

घरको ५० फिट लम्बाइ ३५ फिट चौडाइ छ । घर निर्माणको जिम्मा लिएका शिवनगरका बेगबहादुर गुरूङले प्रतिस्क्वायर फिट ४६० रुपैयाँ पाउने गरी यो घर बनाएका हुन् । सबै जमिनलाई घेरिएको पर्खाल भने ज्यालादारी कामदार लगाएर निर्माण गरिएको थियो ।

धेरैले प्रचण्ड चितवनमा नै घर सरेको भने पनि प्रचण्ड यही घरमा भने धेरै समय बस्दैनन् । काठमाडौँ केन्द्रित भएर राजनीति गर्दै आएका प्रचण्डको यो घरलाई लिएर अनेक टिकाटिप्पणी भइरहेको छ । तर, अहिले भने प्रचण्डको हतारमा गृहप्रवेशलाई चुनावमा मतदाता आकर्षित गर्ने मेलोका रूपमा चित्रण गरिएको छ ।