विराटनगर । ईलाका प्रहरी कार्यालय बेलवारीको नवनिर्मित भवन प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले हिजाे मंगलबार बिहान उद्घाटन गरेका छन् । उद्घाटन पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको प्रहरी पहिला आफैमा सुरक्षित हुनुपर्ने बताए ।
कार्यक्रममा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने गरी खटिने प्रहरीको गाँस, बास र कपासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा प्रदेश १ प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गर्दै २४ सै घण्टा ड्युटीमा रहनुपर्ने प्रहरी कर्मचारीहरुलाई भौतिक सुविधा सम्पन्न यस्ता भवनले थप मनोवल बढ्ने र हौसलाका साथ दुरुस्त भई कार्यक्षेत्रमा खटिन प्रेरणा मिल्ने बताए ।
साँढे २ तले नवनिर्मित भवन प्रदेश १ सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट विनियोजित २ करोड २९ लाख १३ हजार २ सय ७६ रुपैया २५ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय जन प्रतिनिधिहरु, नागरिक समाजका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया