एनआरएनए भेला: विधान संशोधनमा विवाद

एनआरएनए भेला: विधान संशोधनमा विवाद


ग्लोब नेपाल
297
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघको काठमाडौंमा जारी साधारणसभामा संघका अध्यक्ष कुल आचार्यले अनलाइन मतदानलाई अस्वीकार गरेपछि विवाद सिर्जना भएको छ । विवाद बढेपछि वर्तमान कार्यसमिति भंग गरेर तदर्थ समिति गठन गर्न माग गरिएको छ ।

मंगलबार रातिसम्म चलेको साधारणसभामा विधान संशोधनको पक्षमा बोल्दै संघका उपाध्यक्ष डिबी क्षेत्रीले सदस्यहरूको भावना नबुझी अझै पनि विवाद सिर्जना गर्ने हो भने वर्तमान कार्यसमितिको औचित्य नरहेको तर्क गरे । विधान संशोधन समितिको सर्वसम्मत निर्णयलाई आचार्यले संस्थापक अध्यक्ष उपेन्द्र महतोले अनलाइन भोटिङ नगर्नु भन्नु भएको भन्दै सो प्रस्तावलाई अस्वीकार गरेपछि साधारणसभा अनिर्णयको बन्दी बनेको छ ।

संघका उपाध्यक्ष महेश श्रेष्ठले अनलाइन भोटिङमा जान नहुने कारणको माग गरेका थिए । उनले अहिलेको जमाना डिजिटल प्रविधि भएको भन्दै अनलाइनमार्फत मतदानको माग गरेका छन् ।

साधारणसभामा अनलाइन भोटिङ र प्रतिनिधि छनोटका बारेमा आचार्यले तगारो हालेका थिए । विधान समितिले सो संशोधन प्रस्ताव संघका अध्यक्षद्वय रविना थापा र डा। बद्री केसी, महासचिवद्वय गौरीराज जोशी, डा। केशव पौडेलको समेत पूर्ण सहमतिमा संशोधन पेस गरेको थियो ।

साधारणसभामा बोल्दै संघका युवा उपाध्यक्ष रोशन थापाले संस्थामा पूर्वअध्यक्षहरूको रवैयाका कारणले संकटमा परेको भन्दै पूर्वअध्यक्षहरुलाई टाढै बस्न सुझाव दिएका थिए । उनले संस्थापक अध्यक्ष महतोलाई आफ्ना भनाईहरु संस्थाभित्र आएर राख्न चुनौती दिए ।

साधारणसभामा उपस्थित एक पदाधिकारीले आचार्यको नियत र क्षमतामाथि प्रश्न उठेको बताए । ‘गत १० औं महाधिवेशनमा सत्ताको दम्भ देखाएर महाधिवेशन भाँड्ने काम भयो, अहिले फेरी संस्थापक अध्यक्षको नाम विवादमा पारियो’ उनले भने ।

विधान संशोधनमा सहमति नजुटेपछि कार्यकारी अध्यक्ष रविना थापाले बुधबारसम्म अध्यक्षत्रयका बीच सहमति खोजिने र सहमति नजुटे पुरानै विधानअनुरुप निर्वाचन हुने भन्दै साधारणसभा स्थागित गरेकी थिइन् ।