चलचित्रमा जस्तै मोरङ–३ मा हिम्मतवालीले देखाउलिन् त हिम्मत ?

चलचित्रमा जस्तै मोरङ–३ मा हिम्मतवालीले देखाउलिन् त हिम्मत ?


ग्लोब नेपाल
5.4k
Shares

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेको प्रतिस्पर्धा भएको मोरङ–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट अभिनेत्री रेखा थापाले उम्मेदवारी दर्ता गराएकी छन् । राप्रपाको कुनै प्रभाव नरहेको उक्त निर्वाचन क्षेत्रमा रेखा थापा उम्मेदवार बन्नुलाई उनैले निर्माण गरेको चलचित्र ‘हिम्मतवाली’ सँग दाँजेर हेर्न थालिएको छ ।

ब्रेन भर्सेस ब्युटीबीचको लडाइँ

हिम्मतवाली चलचित्रमा रेखा नायिका भए पनि नायकको रुपमा प्रस्तुत भएकी छन् । समाज परिवर्तनको उदाहरण र महिला सशक्तिकरणको नमूना प्रस्तुत गरिएको चलचित्रमा ‘केटा मान्छे भएर मात्र हात नहालेको’ संवाद निक्कै चर्चित थियो ।

कांग्रेस र एमाले पार्टीबाट विरक्तिएका कार्यकर्ता रेखा थापाको सुन्दरतामा आकर्षित भएको बताइन्छ । निर्वाचन क्षेत्रका मतदाताभन्दा पनि सामाजिक सञ्जालमा राम्रै प्रभाव जमाएकी रेखाले चलचित्रमा जस्तै निर्वाचनमा चमत्कार देखाउन सक्छिन् या सक्दिनन् त्यसकालागि भने मंसिर ४ कुर्नुपर्ने छ ।

यो क्षेत्रको निर्वाचनलाई स्थानीयले ब्रेन भर्सेस ब्युटीबीचको लडाइँका रुपमा हेरिएको छ । एकातिर कांग्रेसले चिकित्स क्षेत्रका चर्चित डा. सुनिल शर्मा र एमालेले बौद्धिक क्षेत्रका भानुभक्त ढकाललाई उम्मेदवार बनाएको छ भने नेपाली चलचित्र क्षेत्रमा झन्डै एक दशक एकछत्र राज गरेकी रेखा थापालाई राप्रपाले उम्मेदवार बनाएको छ ।

तर, मोरङ क्षेत्र नं. ६ का नेकपा एमाले उम्मेदवार लालबाबु पण्डितका अनुसार रेखा कलाकार हुन्, यतिबेला मतदातालाई मनोरञ्जन दिइरहेकी छन् । पण्डित भन्छन् ‘दशैंमा शुभकामना आदान–प्रदान कार्यक्रममा रमाइलो गरिन्, अब रमाइलो चाँड तिहार आउँदैछ, त्यहाँ पनि मोरङ–३ का मतदातालाई मनोरञ्जन दिने छिन् ।’ तर, पण्डितले भनेझैं रेखा थापा यतिखेर मनोरञ्जन दिने कलाकार मात्र भने पक्कै होइनिन् । उनी राजनीति गर्नकैलागि हिम्मतकासाथ मैदानमा उत्रिएकी एक हिम्मतवाली नारी हुन् ।

उक्त निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले सुनील शर्मा र एमालेले भानुभक्त ढकाललाई उम्मेदवार बनाएको छ । शर्मा र ढकालसँग प्रतिस्पर्धा गर्न हिम्मत गरेकी राप्रपाकी थापा तेस्रो हुने विश्लेषण गरिएको छ ।

पथरी शनिश्चरे गाउँपालिकाको १, २, ३, ४, ७, ८, ९ र १० वडा, कानेपोखरी गाउँपालिकाको ४, ५, ६ र ७ वडा, बेलबारी नगरपालिकाको १, २, ३, ४, ८, ९, १० र ११ वडा तथा सुन्दरहरैचा नगरपालिकाकी १, ८, ९, १०, ११ र १२ वडा यो निर्वाचन क्षेत्रमा पर्छ । २६ वडा वडामध्ये एमालेले १४ र कांग्रेसले ११ तथा एकजना स्वतन्त्र वडाध्यक्ष विजयी भएका छन् ।

अघिल्लो निर्वाचनमा एमालेका ढकाल ४२ हजार ४ सय १३ मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका शर्माले ४० हजार ५ सय ६ मत ल्याएर उपविजेता बनेका थिए । स्थानीय निर्वाचनमा मोरङ–३ मा एमालेले ३७ हजार ४ सय १०, कांग्रेसले ३६ हजार ९ सय १६, माओवादीले ७ हजार ३ सय ७३, राप्रपा २ हजार १ सय २१, एसले १ हजार ८ सय ५५ मत प्राप्त गरेको थियो । यो मतलाई विश्लेषण गर्ने हो भने एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।

अहिलेको निर्वाचनमा पनि एमालेले ढकाल र कांग्रेसले शर्मालाई नै उम्मेदवार बनाएको छ । प्रदेश (क) मा एमालेले दिलिपकुमार राई र (ख)मा ज्ञानेन्द्र सुवेदीलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले प्रदेश (क) मा शेखरचन्द्र थापा र (ख) मा नेकपा (एस) का लक्ष्मीकुमार श्रेष्ठ उम्मेदवार बनेका छन् । राप्रपाले प्रदेश (क) मा तीर्थबहादुर गुरुङ र (ख) मा रमेश रिजाललाई उम्मेदवार बनाएको छ ।

कांग्रेसले माओवादी र नेकपा (एस)सँग गठबन्धन गरेर निर्वाचनमा होमिएको छ भने एमालेलाई जसपाले साथ दिनेछ । यो क्षेत्रमा यसपटक एमालेलाई चुनाव जित्न अघिल्लो निर्वाचनमा जस्तो सजिलो देखिँदैन ।