बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशन बेइजिङमा आजबाट शुरू भएको छ । ऐतिहासिक मानिएको यो महाधिवेशनबाट राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि पार्टी प्रमुखका रुपमा पुनः चुनिने ठानिएको छ ।
राष्ट्रपति सी प्रमुखका रुपमा पुनः चुनिनु भएमा पार्टी र सरकार प्रमुखका दुई कार्यकालभन्दा बढी काम गर्न नपाउने दशकौँ पुरानो चिनियाँ व्यवस्थाको क्रमभङ्ग हुनेछ । साथै राष्ट्रपति सी चिनियाँ नेता माओ त्से तुङपछिका सबैभन्दा शक्तिशाली नेता हुनुहुनेछ ।
करिब २३ सय प्रतिनिधिहरू सहभागी महाधिवेशनबाट आगामी पाँच वर्षका लागि चिनियाँ कम्युनिस्ट पार्टी र सैन्य नेतृत्व तथा भावी कार्ययोजनाहरू पारित गरिनेछ । यसका साथै कोभिड-१९ संक्रमण रोक्न चीनले अपनाएको शून्य कोभिड रणनीतिका बारे पनि महाधिवेशनमा छलफल हुने अनुमान गरिएको छ ।
सीको शून्य कोभिड नीतिको आलोचना
बेइजिङमा कम्युनिष्ट पार्टीको महाधिवेशन सुरु हुँदा चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो विवादास्पद शून्य–कोभिड रणनीतिको रक्षा गर्दै आएका छन् ।
‘भाइरसको फैलावट रोक्नको लागि शून्य कोभिड नीति पूर्ण मात्रामा जनयुद्ध थियो’ उनले भने । नीतिले धेरैको ज्यान जोगाएको तर चिनियाँ जनता र अर्थतन्त्रलाई दण्डित गरेको उनले बताए । लकडाउन र यात्रा प्रतिबन्धलाई लिएर चौतर्फी सार्वजनिक असन्तुष्टि बढ्दो छ । महाअधिवेशनको पूर्वसन्ध्यामा बेइजिङमा कडा सुरक्षा सतर्कता अप्नाइएको छ । सी र शून्य कोभिड नीतिको आलोचना गर्दै तीब्र प्रदर्शन भएका छन् ।


प्रतिक्रिया