कृत्रिम फूलका मालाले ‘मखमली र सयपत्री’ ओझेलमा

कृत्रिम फूलका मालाले ‘मखमली र सयपत्री’ ओझेलमा


ग्लोब नेपाल
135
Shares

सुर्खेत । ‘मखमली फूल्दा मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको गीत हो यो । यो गीत सुन्दा अहिले पनि समय–सान्दर्भिक लाग्छ । शरद ऋतुको आगमनसँगै सहर बजार र गाउँघरतिर यो गीत धन्किन थाल्छ ।

यो गीत घन्किन सुरु भएसँगै हिन्दूहरुका चाडपर्व सुरु भएको सङ्केत पनि मिल्छ। दसैँ तिहारको समयमा बज्ने यो गीतले खेतीपाती भित्र्याउने चटारोसँगै नेपाली समाजलाई चाडपर्वले छपक्कै छोपेको आभास दिलाउँछ । पुराना पुस्ताले अहिले पनि भाइटीकामा मखमली र सयपत्री फूल नै खोज्ने गर्दछन् ।

दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध प्रगाढ बनाउने भाइटीकामा दाजुभाइका लागि दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिने चलन छ । कहिल्यै नओइलिने भएकाले मखमली फूलको मालालाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकका रूपमा लिइन्छ । ‘दाई मेरो कहाँ गयो मखमली फूल ओइलायो’ गायक रायमाझीकै गीतका यी शब्द सुन्दा परदेशमा रहेका दाजुलाई सम्झेर बहिनीले मखमली फूल ओइलायो तर दाजु भाइटीकामा नआएको पीडा झस्काइदिन्छ । तिहारका अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी मखमली फूलको माला लागाइदिन्छन्।

सयपत्री फूलसँग गाँसेर मखमली फूलको महत्वलाई जोगाइराख्न भाइटीकामा दाजुभाइलाई मखमली फूलको माला लगाइदिने गरिन्छ । पछिल्लो समय भने गाउँघरतिर मखमली फूल हराउँदै गएको छ । फूल जोगाउनतिर कसैको ध्यान छैन, बजारमा गएर प्लाष्टिकका माला किनेर ल्याउने बढेका छन् । “तिहारमा कुन फूलको माला लगाउने हो अबका पुस्ताले महत्व चिन्नै छाडेजस्तो लाग्यो”, वीरेन्द्रनगर नगरपालिका–४ का खगेन्द्र खनालले भने,“गाउँघरमा यो फूल पाउनै मुस्किल छ ।”

मखमली फूल लोप हुँदै गएकामा चिन्ता व्यक्त गर्दै उहाँले अहिले यो फूल गाउँघरमा पाइनै छाडेको पनि बताए । “मखमली फूल सुन्दै तिहारको झल्को आइहाल्छ, पहिला–पहिला त घर वरपर दुई/चार वटा बोट भए पनि मखमली फूल हुन्थ्यो, अहिले त फूलमा त्यति महत्व नदिदा गाउँघरमा यस्ता परम्परागत चलनचल्तीमा आएका पर्व विशेष महत्व राखेका मखमली लगायतका फूलको संरक्षण हुन नसक्दा लोप हुँदै गएको छ”, खनालले भने ।

दिदीबहिनी र दाजुभाइको प्रेमलाई पवित्र गाँठोमा बाँध्न सफल मखमलीको माला नेपालीका लागि तिहारको अभिन्न अङ्ग बनिसकेको छ । वीरेन्द्रनगर नगरपालिका-५ का प्रकाश आचार्य तिहारमा मखमली फूलको महत्व नबुझेर लोप हुन लागेकामा चिन्ता व्यक्त गर्नुहुन्छ । मखमली फूल हराउँदै जाँदा यसको संरक्षणमा कसैले चासो नदेखाएको उनले बताए ।

आचार्यले भने,“तिहारजस्तो पर्वमा पनि दाजुभाइलाई मखमली फूलको माला पहिराउन नपाउँदा तिहार खल्लोजस्तो हुन्छ, पहिला त घर वरिपरि बारीका डिल, कान्ला जताततै मखमली फूलमात्रै हुन्थे, हिजोआज भेटिँदैनन् ।” अहिले बजारमा आएका सस्ता र कृत्रिम फूलका मालाले मखमली र सयपत्री फूल लोप हुँदै गएको पनि उहाँले बताउनुभयो ।

सुपारीजस्तो गोलाकार मखमली फूल पनि सयपत्री झैँ सयौँ फूलको पुष्पपुञ्ज हो । नामले मखमली भनिए तापनि यो फूल नरम, कोमल र कलिलो नभई खस्रो हुन्छ। वैजनी र प्याजी रङमा फूल्ने मखमली तिहारमा विशेष लोकप्रिय र महत्वपूर्ण मानिन्छ । संस्कृतमा रक्त मल्लिका भनिने यो फूल देख्दा पनि सुन्दर मानिन्छ । नझर्ने, नओइलाउने र वर्षौं पनि टिक्ने हुनाले यसको अजम्बरी प्रकृतिलाई आत्मसात् गरेर दिदीबहिनीले आफ्ना दाजुभाइलाई मखमली फूलको माला लगाइदिएर दीर्घायुको कामना गर्छन् ।

मखमली फूल नेपालीका लागि सांस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो । सेता, गाढा कलेजी तथा हल्का रातो रङमा फूल्ने मखमली फूल भाइटीकामा विशेष प्रयोगमा आउँछ । छुँदा घोच्ने, मखमलको कपडाजस्तो सेता, गाढा कलेजी र हल्का रातो रङमा फूल्ने गर्दछ । यस फूललाई नरम मखमली नाम दिइन्छ । पछिल्ला वर्षका तिहारमा मखमली फूलको माला देखिनै छाडेको छ । अर्कोतर्फ मखमली फूलसँगै गाउँघरमा फूलने सयपत्री र गुर्धौली फूल पनि देखिन छाडेको वीरेन्द्रनगर नगरपालिका–४ का लोकप्रसाद रेग्मीको भनाइ छ ।

कृत्रिम मालामा उपभोक्ताको आकर्षण

पछिल्लो समय प्लाष्टिकका कृत्रिम मालाको प्रयोग बढेपछि सयपत्री, मखमली र गुर्धौली फूल लोपोन्मुख भइसकेको छ । पहिलाको तुलनामा सयपत्री फूल पनि कम पाइन्छ । प्राकृतिक फूलको महत्वलाई बिर्सँदै गएकाले गाउँघरमा ढकमक्क फूल फूले पनि देखाउनकै लागि प्लाष्टिकको माला प्रयोग गर्ने संस्कार बस्न थालेको छ ।

प्लाष्टिक तथा कृत्रिम मालाको प्रयोग बढ्दै जाँदा तिहारमा मखमली फूलले विशेष महत्व राखे पनि गाउँघरमा संरक्षण नगरिँदा हराउँदै गएको लोकप्रसाद रेग्मीको भनाइ छ । हिन्दू धार्मिक परम्पराअनुसार चाडपर्वमा सोहीअनुसारका फूल र माला प्रयोग गर्नुपर्ने भए पनि विश्वकर्मा बाबाको पूजादेखि तिहारसम्म पनि कतिपयले प्लाष्टिकका माला प्रयोग गर्ने गरेका छन् ।

सुर्खेतको बजारमा रहेका कस्मेटिक पसलदेखि सडक छेउका ठेलामा समेत रङ्गीचङ्गी कृतिम मालाको छ्याप्छ्याप्त देखिन्छन् । तिहार नजिकिँदै गर्दा बजारभरि कृत्रिम माला बिक्रीका लागि छ्याप्छ्याप्ती राखिएका छन् । सरकारले प्लाष्टिकका फूलका गुच्छाको उत्पादन, आयात, बिक्रीवितरणमा पूर्ण रोक लगाए पनि उपभोक्ताको आकर्षण भने कृत्रिम मालामै बढी देखिन्छ ।

चाडपर्वमा चाहिने जति फूलको माग धान्न नसकेर पनि छिमेकी देश भारतबाट हरेक वर्ष धेरै मात्रामा प्लाष्टिकका कृतिम मालाहरु भित्रिने गरेका छन् । सुर्खेतमा प्राकृतिक फूलले अभाव पूर्ति गर्नसक्ने अवस्था रहे पनि कर्णालीका पहाडी जिल्लामा भने अहिले पनि थानका थान भारतीय बजारमा बनेका प्लाष्टिकका कृत्रिम माला पुग्ने गरेका छन् ।

सुर्खेतमा लामो समयदेखि कस्मेटिक व्यवसाय गर्दै आएकी अमृता शर्मा न्यौपानेले कर्णालीका पहाडी जिल्लाबाट हरेक वर्ष चाडपर्वमा कृत्रिम मालाको माग बढ्ने गरेको बताए । “चाडपर्वको सिजनमा पहाडी जिल्ला र सुर्खेतको पश्चिमतिरको व्यवसायीले अधिकांश माला लैजानुहुन्छ”, उनले भने,“पहिलेजस्तो पूmल नपाइने भएकाले कृत्रिम माला धेरै बिक्री हुन्छ ।”

वीरेन्द्रनगरको तल्लो बजारमा रहेको फिरोज कस्मेटिक पसल पनि अहिले प्लाष्टिकका मालाले ढपक्कै ढाकिएको छ । दसैँ सकिएलगत्तै पूरै पसलभरि मालाले मात्रै ठाउँ पाएको छ । रु ५० देखि रु। एक हजारसम्म पर्ने कृत्रिम माला हरेक वर्ष तिहारका समयमा यसरी नै सजाएर बिक्री गर्दै आएको पसल सञ्चालक फिरोज खानले बताए । “पहिलो कुरा त माला बनाउने फूल नै अभाव हुन्छ, पाइए पनि महँगो पर्छ”, उनले भने,“पैसा नहुनेले त चाडपर्वका बेला फूलमालामा खर्चिनुभन्दा बरु खानपिनमै खर्च गर्छन् ।” कृत्रिम माला नझर्ने, नओइलाउने, नसुक्ने र अर्को साल पनि बिक्री गर्न सकिने भएकाले पनि उपभोक्ताको आकर्षण रहेको पसल सञ्चालक फिरोज खानले बताए ।

आर्थिकरुपमा पनि सस्तो पर्ने हुँदा कृत्रिम फूलमालातिर आकर्षण बढेको उनले बताए । उनले रु ५० देखि रु एक हजार मूल्यसम्मका माला बेच्ने गरेको बताउनुभयो । प्राकृतिक फूलप्रतिको लगाव भए पनि बिक्रीका लागि सहज नहुँदा समयस्या भएको उनी बताउँछन् । प्राकृतिक फूल बिग्रिने र व्यापारमा घाटा लाग्ने भएकाले कृत्रिम फूलमाला बेच्ने गरेको उनको भनाइ छ ।

अहिले वीरेन्द्रनगरका कस्मेटिक तथा फुटपाथका पसल रङ्गीबिरङ्गी ‘कृत्रिम’ मालाले सजिएका छन् । व्यापारीले कृत्रिम मालाले पसल झकिझकाउ पारेका छन् । रेशम, प्लाष्टिक र रङ्गिन कपडाबाट बनाइएका कृत्रिम मालाको व्यापार बढेको वीरेन्द्रनगरका अर्का कस्मेटिक पसल सञ्चालक प्रकाश गिरीले बताए । यसरी बिक्री हुने माला स्वदेशी उत्पादन भने होइनन् । हाल बजारमा उपलब्ध सबै माला भारतबाट आयात गरिएका माला भएको गिरीले बताउनुभयो । यस वर्ष बजारमा भारतबाट आयातित प्लाष्टिकका मालाहरुको प्रभाव रहेको व्यापारी स्वयं स्वीकार गर्छन् ।

हरेक वर्ष दसैँ, तिहार जस्ता चाडबाडमा फूल र फूलबाट निर्मित माला भारतबाटै आउने गरेको छ । गाउँघरमा प्रशस्त मात्रामा फूलहरु नपाउनुसँगै फूलहरुको खेती पर्याप्त नहुँदा अहिले बजारमा रहेका कृतिम मालाको प्रयोग बढेको व्यावसायीहरु बताउँछन् । हिन्दू परम्पराअनुसार हरेक धार्मिक कार्यमा फूल अनिवार्य हुन्छ । पछिल्लो समय तिहारमा घरमै फूलेको फूलको मालाभन्दा पनि बजारमा पाइने कृत्रिम मालाको प्रयोग बढ्दै गएकोप्रति संस्कृतिप्रेमी चिन्ता व्यक्त गर्छन् । उनीहरुका अनुसार आयातित फूल, माला, किन्नुभन्दा घर–आँगनमै फूल हुर्काउन सकिन्छ । बरु व्यावसायिकरुपमै फूलको खेती गरी मनग्य कमाउन सकिने तर्क उनीहरुको छ ।

फूल विनाको तिहार कल्पना गर्न सकिँदैन । तिहारको अस्तित्व कृतिमतामा होइन, प्राकृतिकतामा छ । मखमली, गोदावरी, सयपत्री र हजारीलगायतका फूलहरु फूल्ने मौसममै तिहार पर्नु त्यसको प्रमाण हो । आधुनिकता र सहजताका नाममा पछिल्लो समय तिहारलगायतका विभिन्न चाडपर्वमा कृतिमताको प्रभाव बढ्दै गएको पाइन्छ । यसले नेपाली मौलिकपन हस हुनुका साथै कृत्रिम मालाका लागि करोडौँ रुपैयाँ भारत जाने गरेको बताउछन्, सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेल । स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न र प्लाष्टिकजन्य पदार्थको खपत घटाउनकै लागि सरकारले कृतिम फूलमालामा चर्को कर लगाए पनि आयातमा कमी आउन नसकेको अध्यक्ष कँडेलको भनाइ छ ।