धनुषा । छठ पर्वका लागि केरा अत्यावश्यक मानिन्छ । केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले माग धान्न सक्दैन । छठ पर्वमा सिङ्गै केराको घरी नै अर्घ्य रूपमा भगवानलाई चढाउने परम्परा छ । त्यसैले यस पर्वमा केराको माग उच्च हुन्छ ।
स्वदेशी उत्पादन कम हुँदा हरेक वर्ष भारतको भर पर्नुपर्ने अवस्था रहेको जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विषेश्वर यादवले बताए । छठका लागि मधेस प्रदेशका राजधानी जनकपुरधाममा मात्र रु तीन करोड बराबरको केरा आयात भएको छ ।
अध्यक्ष यादवले अघिल्लो वर्ष झण्डै पौने रु दुई करोड बढीको केरा जनकपुर भित्र्याइएको बताए । “यसवर्ष भित्र्याइएका केरा झण्डै ६० ट्रक छन्”, उनले भने । जनकपुरमा गोपाल र वंशीभोग केरा नेपालको सप्तरीस्थित भारदह, भन्टावारी तथा इनरुवाबाट भित्र्याइएको छ ।
मालभोग, मिरिचमान, चम्पा केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए । छठ पर्वसँगै अघिल्ला वर्षका तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महङ्गिएको पूर्वेले बताए ।
पुर्वेले भने, “छठ पर्व मनाउने सङ्ख्या प्रत्येक वर्ष वृद्धि भएको हुँदा केराको माग बढेको छ । यसैले बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष १५–२० ट्रक बढी ६० ट्रक जति केरा मगाइएको छ ।” फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवका अनुसार १० चक्काको ट्रकमा १२ सय घरी केरा आउँछ ।
प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च रु छ लाख पर्छ । बजारमा प्रत्येक केराको घरीलाई रु पाँच सयदेखि एक हजारभन्दा बढी मूल्यमा बिक्री गरिन्छ ।
नेपालको हरेक क्षेत्रमा परम्परागत रूपमा स्थानीय जातका केरा उत्पादन हुन्छ । केरा उत्पादनको लागि तराई मधेस वा समग्र नेपालको भूमि राम्रो मानिन्छ । चाडपर्वको समयमा भारतकै भर पर्नुपर्ने अवस्था छ । नेपालमा मालभोग, झापाली मालभोग, विलियम हाइब्रिड रोवस्टा, विलियम हाइब्रिडलगायत जातका केरा खेती उत्पादन हुँदै आएका छ ।
सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याले गर्दा कृषकले उत्पादन बढाउन नसकेको व्यवसायीको भनाइ छ । उता भारतबाट आउने केराको मूल्य सस्तो पर्छ । भारतले किसानको लागि सहुलियत र विभिन्न प्याकेज दिने भएकाले उताको लागत कम परेको बताइन्छ ।
प्रतिक्रिया