सिड्नी । आइसिसी टी-२० विश्वकपको सुपर १२ चरणअन्तर्गत पाकिस्तानले दक्षिण अफ्रिकालाई डकवर्थ लेविस प्रणालीका आधारमा ३३ रनले पराजित गरेको छ । यो जितसँगै पाकिस्तानले सेमिफाइनल प्रवेश सम्भावनालाई जीवितै राखेको छ ।
सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले दोस्रो जित हासिल गरेको छ । जिम्बाबे र भारतसँग पराजित भएको पाकिस्तानले नेदरल्याण्ड्सलाई हराएको थियो । ४ अङ्कसहित पाकिस्तान समूहको तेस्रो स्थानमा उक्लिएको छ । उसले अन्तिम खेल बङ्गलादेशसँग खेल्न बाँकी छ । यो समूहमा भारत ६ अङ्कसहित शीर्ष र दक्षिण अफ्रिका ५ अङ्कसहित दोस्रो स्थानमा छन् । सबैले १-१ खेल खेल्न बाँकी छ ।
सिड्नी क्रिकेट मैदानमा दक्षिण अफ्रिकाले १८६ रनको लक्ष्य पछ्याउने क्रममा ९ ओभरमा ४ विकेट गुमाएर ६९ रन बनाउँदा वर्षाका कारण खेल रोकियो । पानी पर्न सुरु हुनुअघिसम्म दक्षिण अफ्रिका डीएल प्रणालीमा १४ रनले पछि थियो ।
वर्षा रोकिएपछि पुनः सुरु भएको खेल १४ ओभरमा झारियो र दक्षिण अफ्रिकालाई १४२ रनको नयाँ लक्ष्य दिइयो । दक्षिण अफ्रिकाले खेल जित्नका लागि बाँकी ५ ओभरमा ७३ रन बनाउनुपर्ने थियो । तर थप ५ विकेट गुमाएर ३९ रनमात्र जोड्न सक्यो ।
दक्षिण अफ्रिकाका लागि ओपनर कप्तान तेम्बा बाभुमाले ३६ तथा एडियन माक्रमले २० रन बनाए । बलिङतर्फ पाकिस्तानका सहिन साह अफ्रिकीले ३ तथा शादव खानले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले इफ्तिखर अहमद र शदाब खानको अर्धशतक मद्दतमा ९ विकेट गुमाएर १८५ रन बनाएको थियो ।
आक्रामक ब्याटिङ गरेका शदाबले २२ बल खेल्दै ३ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५२ रन बनाए । इफ्तिखरले ३५ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा ५१ रन बनाए । मोहम्मद नवाजले २२ बलमा २८ र मोहमम्द ह्यारिसले ११ बलमा २८ रन जोडे ।
४३ रनमै ४ विकेट गुमाएको पाकिस्तानका लागि इप्तिखर र नवाजले ५२ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । त्यसपछि इप्ट्टिखरले शदाब खानसँग छैटौँ विकेटका लागि ३५ बलमै ८२ रनको साझेदारी गरेका थिए ।
दषिण अप्रिकाका लागि एनरिक नोर्कियले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा ४१ रन खर्चिए । वायने पार्नेल, कागिसो रबडा, लुङ्गी एनगिदी र ताबरेज शाम्सीले समान १ विकेट लिए ।
प्रतिक्रिया