एमाले कर्णाली प्रदेश कमिटी सदस्य शाहीद्वारा पार्टी परित्याग

एमाले कर्णाली प्रदेश कमिटी सदस्य शाहीद्वारा पार्टी परित्याग


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । नेकपा(एमाले) कर्णाली प्रदेश कमिटीका सदस्य ताराकुमारी शाहीले एमाले पार्टी परित्याग गरेकी छन् ।

एमाले कर्णाली प्रदेश कमिटी सदस्य एवम् चामुण्डा बिन्द्रासैनी नगरपालिका दैलेकाका निवर्तमान उपप्रमुख शाहीले बुधवारबाट एमाले परित्याग गरेको घोषणा गरेकी हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा दैलेखको बिन्द्रासैनी चामुण्डा नगरपालिकाको एमालेबाट उपप्रमुखमा विजयी भएकी शाही विगत लामो समयदेखि एमालेको राजनीति गर्दै आएकी थिइन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीमा स्वेच्छाचारिता बढ्दै गएकाले आफूले एमाले परित्याग गरेको उनले बताइन् । ‘नेकपा (एमाले) को नेतृत्वमा विकसित हुँदै गएको स्वेच्छाचारिता, निरङ्कुशता र गुटगत राजनीतिले पार्टी विधान र सिद्धान्तलाई निष्क्रिय बनाउँदै वर्षौँदेखि पार्टी निर्माणका लागि रगत पसिना बगाएका इमान्दार नेता कार्यकर्ताहरूलाई विस्थापित गर्दै आएको कुरा विभिन्न विकसित घटनाक्रमबाट प्रस्ट हुन्छ ।’

उनले भनिन्, ‘हिजो संसद विघटन गलत हो, संसद विघटन गर्नुहुँदैन भनेर भनेकै आधारमा भीम रावल, घनश्याम भुसाल जस्ता पार्टीका हस्तीलगायत हजारौँ नेता कार्यकर्तालाई गुटगत राजनीतिको सिकार बनाएर पार्टीको सङ्गठनको आन्तरिक प्रतिस्पर्धामा जान रोक लगाउनु, सङ्घीय लोकतान्त्रिक गणतन्त्र विरोधी भूमिकामा रहेका गलत र गैह्र राजनीतिक पृष्ठभूमिका व्यक्तिलाई पार्टी सङ्गठनको जिम्मेवारी दिएर विधि विधानको उपहास गर्दै आएकोले म नेकपा (एमाले) कर्णाली प्रदेश कमिटी सदस्य पदबाट राजीनामा गरेको घोषणा गर्दै संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई विजय गराउन हुन हार्दिक अपिल गर्दछु ।’