अमेरिकी सांसदमा नेपाली मूलका दुई उम्मेदवार विजयी

अमेरिकी सांसदमा नेपाली मूलका दुई उम्मेदवार विजयी


ग्लोब नेपाल
432
Shares

काठमाडौं । अमेरिकी विधानसभा निर्वाचनमा नेपाली मूलका दुई जना विजयी भएका छन् ।

नेपाली मूलका डा.ह्यारी भण्डारी र सराहना श्रेष्ठले विधानसभा निर्वाचनमा विजय हासिल गर्दै विधानसभा सदस्य (सांसद) बनेका हुन् । श्रेष्ठ न्युयोर्क राज्य विधानसभा सदस्यको उम्मेदवार बनेकी थिइन् । स्टेट बोर्ड अफ इलेक्सनको ‘अनअफिसियल’ नतिजाअनुसार उनले प्याट्रिक शिहानलाई पराजित गरेकी हुन्। डेमोक्रयाट उम्मेदवार उनी विजय भएसँगै इतिहास रच्न सफल भएकी छन् ।

उनी अमेरिकामा राज्यस्तरीय विधान सभा सदस्य अर्थात् सांसदमा विजयी हुने दोस्रो नेपाली मुलकी अमेरिकी भएकी छन् । तर महिलाहरूको तर्फबाट भने उनी पहिलो बनेकी छन् । सराहनाले ३५ हजार ४ सय ९३ र शिहानले २३ हजार १०४ मत ल्याए। योसँगै श्रेष्ठ १०३औँ असेम्बली डिस्ट्रिक्ट सिट जित्न सफल भएकी हुन्।

गत जुनमा श्रेष्ठले लामो समय विधान सभा सदस्य रहेका केभिन केहिललाई पार्टीभित्रको प्रारम्भिक निर्वाचनमा हराउँदै विधान सभा सदस्यको लागि डेमोक्रेटिक पार्टीको उम्मेदवारी जितेकी थिइन्।

उनी सन् २०१९ मा अमेरिकी नागरिक भएकी थिइन्। उनी डेमोक्रेटिक सोसलिस्ट अफ अमेरिकाको मिड हड्सन भ्याली च्याप्टरका लागि अल्स्टर काउन्टी सहप्रमुख हुन्। त्यसबाहेक उनी स्वच्छ, नवीकरणीय, ग्राह्य र पहुँचयोग्य ऊर्जा आपूर्तिलाई प्रवर्द्धन गर्ने पब्लिक पावर न्युयोर्कमा पनि आबद्ध छिन्।

यस्तै मेरिल्याण्ड राज्य विधानसभामा डा. ह्यारी भण्डारी विजयी भएका छन् । उनले कूल १२ हजार ३४४ मत ल्याएका छन् । अझै केही मत पेटिकाबाट आएका मतपत्र गन्न बाँकी रहे पनि उनलाई अफिसियल प्रोजेक्टेड विनरको रुपमा घोषणा भएको छ । उनले दोस्रो कार्यकालको लागि काम गर्ने अवसर दिएकामा मतदाता र आफ्नो क्षेत्रका बासिन्दालाई धन्यवाद दिएका छन् ।

अघिल्लो कार्यकालमा गरेको कामको मूल्यांकन गर्दै मेरिल्याण्ड चुनाव क्षेत्र ८ का जनताको विश्वास गरेको उनको भनाइ छ। यसपटक कडा प्रतिस्पर्धा रहेको भए पनि डा.भण्डारीले उनका प्रतिद्वन्द्वीलाई हराई थप ४ वर्ष जनताको सेवा गर्ने मौका पाएका छन् ।

उनलाई हराउन सशक्त रुपमा मेरिल्याण्डका रिपब्लिकनका गभर्नरका उम्मेदवार डान कक्स लागेका थिए । डा.ह्यारीविरुद्ध मेरिल्याण्डका रिपब्लिकनका ट्रम्पका कट्टर समर्थक गभर्नरका उम्मेदवार डान कक्सले चुनावी अभियानमा थुप्रै आरोप लगाएका थिए ।

डा.भण्डारीको निर्वाचन क्षेत्रमा १ लाख २८ हजार भन्दा ज्यादा जनसंख्या रहेको छ भने मतदाता मात्रै १ लाख भन्दा ज्यादा रहेका छन् ।