आंशिक प्राध्यापकको करार प्रक्रिया रोक्न निर्देशन

आंशिक प्राध्यापकको करार प्रक्रिया रोक्न निर्देशन


ग्लोब नेपाल
54
Shares

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उल्लङ्घनका सूचना र उजुरीका आधारमा निर्देशन दिने र स्पष्टीकरण सोध्ने क्रमलाई निरन्तरता दिएको छ । आयोगले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको सानोठिमी क्याम्पस, भक्तपुर समेतका क्याम्पसमा निर्वाचन आचारसंहिता, २०७९ लागू भइसकेपश्चात् विज्ञापन खोली आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया तत्काल बदर गर्न निर्देशन दिएको छ ।

आयागले विश्वविद्यालयको रजिष्ट्रारको कार्यालय र उक्त क्याम्पसलाई करार गर्ने प्रक्रिया तत्काल बन्द र बदर गर्न निर्देशन दिएको हो । आयोगले उक्त क्याम्पस प्रमुखलाई सो विषयमा स्पष्टीकरण पनि सोधेको छ । गत असोज १२ गतेदेखि आचारसंहिता लागू भइसकेको अवस्थामा आंशिक प्राध्यापकलाई करार गर्ने गरी अगाडि बढाइएका प्रक्रिया आचारसंहिताको प्रतिकूल हुने आयोगको ठहर छ ।

“उल्लेखित सन्दर्भमा यदि त्यस विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया अगाडि बढेको अवस्था भए तत्काल ती प्रक्रिया बदर गर्ने व्यवस्था हुन निर्णयानुसार अनुरोध छ । साथै यस पत्रमा आवश्यक कारवाही गरी तीन दिनभित्र सोको जानकारी आयोगलाई गराउनसमेत अनुरोध छ”, पत्रमा भनिएको छ ।

आयोगले उक्त क्याम्पसका प्रमुखलाई करार भर्ना प्रक्रिया स्थगित गरी स्पष्टीकरण पेश गर्न बेग्लै पत्राचार गरेको छ ।