नेपालले जित्यो साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि

नेपालले जित्यो साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि


ग्लोब नेपाल
81
Shares

काठमाडौं । गोलकिपर सुजाता तामाङले पेनाल्टी बचाउँदै कप्तानी प्रदर्शन गरेपछि नेपालले साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।

ढाकामा शुक्रबार भएको डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो । नेपाली महिला फुटबलको उमेर समूहमा यो ऐतिहासिक उपाधि हो। नेपाली महिला टोलीको कुनै पनि उमेर समूहको यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो।

रोमान्चक खेलमा नेपालकी गोलकिपर तथा कप्तानी गरेका सुजता तामाङले उत्कृष्ट प्रदर्शन गर्दै एक पेनाल्टी बचाएपछि नेपाल च्याम्पियन बनेको हो । खेलमा सुरुआती अग्रता नेपालले बनाएको थियो । खेलको १४ औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

तर, खेलको ५४ औं मिनेटमा रुमाले गोल गर्दै बंगलादेशलाई १-१ गोलको बराबरीमा ल्याईन् । त्यसपछि खेलको ८९ औं मिनेटमा बंगलादेशले पेनाल्टी प्राप्त गर्यो ।तर, बंगलादेशकी बीबी रिताको पेनाल्टी गोलकिपर सुजताले उत्कृष्ट बचाउ गरिन्।

त्यसपछि थप गोल भएन र खेल बराबरीमा सकिदा नेपाल च्याम्पियन बनेको हो । यस बराबरीसँगै नेपालले ४ खेलमा अपराजित रहदै १० अंक जोड्यो । र, शीर्ष स्थानमा रहदै नेपालले उपाधि उचाल्न सफल भयो ।

बंगलादेश भने ४ खेलमा ७ अंक जोडेर उपविजेता बन्यो । भुटान अंक विहीन रहदै घर फर्कियो । प्रतियोगितामा नेपाल, भुटान र बंगलादेशको सहभागिता रहेको थियो ।