संखुवासभाको रुद्राक्षमा चिनियाँ आँखा, राजश्वका कर्मचारी मालामाल

संखुवासभाको रुद्राक्षमा चिनियाँ आँखा, राजश्वका कर्मचारी मालामाल


ग्लोब नेपाल
33.9k
Shares

काठमाडौं । काभ्रेमा उत्पादन हुने बोधिचित्तमा चिनियाँ आँखा परेपछि किसान होइन, विचौलिया मालामाल भए । अहिले चिनियाँ आँखा संखुवासभामा उत्पादन हुने रुद्राक्षमा परेको छ, अब विचौलिया र आन्तरिक राजस्व कार्यालय इटहरीका कर्मचारी मालामाल हुने भएका छन् ।

व्यवसाय गर्ने अनुमति नलिएका झन्डै सयजना चिनियाँ पर्यटक भिषामा संखुवासभा पुगेर त्यहाँ उत्पादन भएको रुद्राक्ष संकलन गरे । उनीहरुले संकलन गरेको रुद्राक्ष तुम्लिङटार–धरान–इटहरी हुँदै काठमाडौं ल्याइँदै थियो । रुद्राक्ष व्यवसायी संघ र जिल्ला प्रहरी कार्यालय सुनसरीको पहलमा रुद्राक्ष बोकेको दुईवटा ट्रक इलाका प्रहरी कार्यालय धरानले पक्राउ ग-यो ।

पक्राउ परेका ती दुईवटा ट्रक इलाका प्रहरी कार्यालय धरानले आन्तरिक राजश्व कार्यालय इटहरीमा बुझाएको छ । ती दुईवटा ट्रकमा पाँच हजार केजी रुद्राक्ष रहेको बताइएको छ । त्यसको अहिले बजार मूल्य झन्डै ८ करोड रुपैयाँ हुन आउँछ ।

अनुमानित ३२ केजीको बोरामा प्याक गरिएको उक्त रुद्राक्ष प्रतिकेजी मूल्य १५ हजार रुपैयाँभन्दा बढी पर्छ । व्यवसाय गर्ने अनुमति नलिएको व्यक्तिमार्फत् कर्मचारीसँग सेटिङ मिलाएर त्यो रुद्राक्ष चीन पु-याउन लागिएको छ ।

गत बिहीबार राजस्व कार्यालय इटहरी पु-याइएको उक्त दुई ट्रक रुद्राक्षका विषयमा आज आइतबारबाट छुटाउने प्रकृया अघि बढाइएको छ । प्रतिकेजी १५ हजार पर्ने उक्त रुद्राक्षको मूल्यांकन १५ सय रुपैयाँ बनाउने चलखेल भएको बुझिएको छ ।

रुद्राक्ष व्यवसायी संघसमेत बेखबर रहेकाे याे प्रकरणमा व्यवसाय गर्ने अनुमति नलिएको रुद्राक्ष कसरी राजस्व कार्यालयबाट छुटेर कसरी चीन पुग्छ धेरैले नजिकबाट नियालिरहेको बुझिएको छ ।