अब पुनः श्रम स्वीकृति नवीकरण कार्यरत मुलुकबाटै

अब पुनः श्रम स्वीकृति नवीकरण कार्यरत मुलुकबाटै


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । वैदेशिक रोजगारीमा गएका नेपालीहरूले आफू कार्यरत रहेकै मुलुकबाट नै श्रम स्वीकृति नवीकरण गर्न पाउने भएका छन् । श्रम स्वीकृतिको अवधि समाप्त हुनुअघि नै वैदेशिक रोजगार विभागको वेबसाइटबाट आफू कार्यरत रहेको मुलुकबाट नै श्रम स्वीकृति नवीकरण श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । त्यसका लागि वैदेशिक रोजगार विभागको वेबसाइट www.feims.gov.np मा गएर लगइन गरी श्रम स्वीकृति नवीकरण गराउन सकिने छ ।

वैदेशिक रोजगार ऐन, २०६४ ले वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले अनिवार्य रूपमा श्रम स्वीकृति लिनुपर्ने कानुन व्यवस्था गरेको छ । एक पटक श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएपछि श्रम स्वीकृतिको अवधि कायमै रहेको अवस्थामा नेपाल आएमा पुनः सोही मुलुकको सोही काममा जाँदा पुनः श्रम स्वीकृति लिनु पर्दैन । तर, एक पटक लिएको श्रम स्वीकृतिको अवधि समाप्त भएपछि पुनः विदेशमा रोजगारीको लागि जानु परेमा श्रम स्वीकृति नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

विदेशमा रोजगारीको क्रममा मृत्यु भएको खण्डमा श्रम स्वीकृति लिँदा वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकम र विदेश जानु पूर्व नेपालमा नै गरेको बीमाबाट मृतकको शव व्यवस्थापन गर्ने र परिवारलाई कानुनले तोकेबमोजिम सेवा सुविधा पाउने व्यवस्था छ ।

श्रम स्वीकृतिको अवधि सकिएपछि विदेशमा कुनै पनि कारणले मृत्यु भएमा वा अन्य कुनै अकल्पनीय घटना घटी गम्भीर बिरामी भएमा कोषको रकम र वीमा बापतको रकम नपाइने भएकोले पनि श्रम स्वीकृति अपडेट हुन जरुरी रहेको मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए । र, पुनः श्रम स्वीकृतिका लागि मात्रै नेपाल आउँदा समय र खर्च पनि उत्तिकै हुन्छ, अब त्यो घटेको छ सचिव अर्यालले भने सो बिचमा कुनै बेला केही घटना घटी हालेको अवस्थामा सुविधाबाटसमेत वञ्चित हुनुपर्ने अवस्था आउने भएकोले समयमै सहजै नवीकरण गर्दा सोबाटसमेत जोगिइन्छ ।

मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आफूले लिएको श्रम स्वीकृतिको अवधि समाप्त हुनुअघि नै वैदेशिक रोजगार विभागको वेबसाइटमा गई लगइन गरी आफू कार्यरत रहेको मुलुकबाट नै श्रम स्वीकृति नवीकरण गरी नेपालको प्रचलित कानुन बमोजिम आफू र आफ्नो परिवारले पाउने कल्याणकारी सेवा सुविधा उपभोग गर्नसमेत अनुरोध गरेको छ ।