महासचिवज्यूहरु नैतिकता छ भने मार्गप्रशस्त गरिदेऊ

महासचिवज्यूहरु नैतिकता छ भने मार्गप्रशस्त गरिदेऊ



निर्वाचन हार–जीतको खेल मात्र होइन, लोकप्रियताको मानक पनि हो । यसलाई यसरी बुझ्दा पनि हुन्छ– शासन गर्न योग्य र अयोग्य छुट्याउने विधि पनि निर्वाचन नै हो । लोकतन्त्रमा नयाँ नेतृत्वको विकास गर्ने, सत्ताको वैधानिकीकरण गर्ने र हस्तान्तरण गर्नेजस्ता महत्वपूर्ण कार्यहरु निर्वाचनको माध्यमबाटै गरिन्छ ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाम आउने क्रम जारी छ । नेपालको राजनीतिमा चारवटा नयाँ शक्ति उदाएकाले यसपटक धेरैको ज्योतिष विज्ञानले हावा खाएको छ । विशेषतः ‘मंसिर ४ एमाले सरकार’ भन्ने नेकपा एमालेको नारा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूहरु तेस्रो राजनीतिक शक्तिका रुपमा उदाउने र सरकारको नेतृत्व गर्ने बताएका थिए ।

राजनीतिक परिदृश्य स्पष्ट नभइसकेकाले अहिले नै यस विषयमा टिप्पर्णी गर्न हतार हुन्छ । सम्भवतः एमाले पहिलो शक्ति नबन्ने र माओवादी केन्द्रको शक्ति क्षयकरण हुने लगभग निश्चित जस्तै छ । अझ महत्वपूर्ण त यी दुई राजनीतिक दलको संगठन हाँक्ने प्रमुख व्यक्ति नै पराजित भएका छन् । यो चानचुने विषय किन होइन भने पार्टी अध्यक्षले संगठन हाँक्ने जिम्मा महासचिवलाई दिएको हो । संगठन हाँक्ने व्यक्ति नै निर्वाचनमा पराजित हुनु गम्भीर विषय हो ।

नेपाली कांग्रेसमा संगठन चलाउन पार्टी महाधिवेशनबाट निर्वाचित भएर आउनुपर्छ । ठूलो संगठन भएकाले कांग्रेसले दुईवटा महामन्त्री निर्वाचित गर्छ । एमाले र माओवादीबीच संगठन हाँक्ने जिम्मा महासचिवलाई दिएको छ । उनीहरु निर्वाचित हुँदैनन्, अध्यक्षबाट मनोनित हुने हो । संगठन चलाउन सजिलोका लागि अध्यक्षले क्षमतावान र कुशल संगठकलाई महासचिवको जिम्मेवार दिएकाे हुन्छ, जसलाई संगठनको भावी अध्यक्षका रुपमा हेरिन्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शंकर पोखरेल र माओवादी अध्यक्ष पुष्पकमल दाहालले देव गुरुङलाई महासचिव बनाएका छन् । उनीहरु कति क्षमतावान र कुशल संगठक रहेछन् भन्ने कुरा यो निर्वाचनले प्रमाणित गरेको छ । आफ्नो निर्वाचन क्षेत्रमा समेत पराजय व्यहोर्नेले पार्टीको जिम्मेवार पदमा बसेर संगठन हाँक्छु भन्नु न्यायोचित हुँदै होइन ।

असक्षम भए पनि पदमा बसिराख्दा नेपालको राजनीतिप्रति जनताको विश्वास गुम्दै गएको यथार्थ कसै सामू छिपेको छैन । पार्टी संगठनका लागि महासचिव पदमा मार्ग प्रशस्त गरिदिने हो भने अर्को सक्षम व्यक्तिले स्थान पाउँछ । जसले गर्दा पार्टी संगठनलाई नयाँ दिशा दिनसक्छ, पार्टीमा नयाँ रक्तसंचार हुन्छ । र, यसले राजनीतिक दलप्रतिको जनविश्वासमा टेवा पुग्छ ।

राजनीतिक दललाई छाडेर जनता किन स्वतन्त्र उम्मेदवारप्रति आकर्षित भए भन्ने कुरा यहाँ उल्लेख गरिराख्नु सान्दर्भिक नहोला । आफू अयोग्य प्रमाणित भएपछि मार्गप्रशस्त गर्ने संस्कारको विकास गर्ने हो भने धुमिलिएको नेपाली राजनीतिमा संग्लिन धेरै समय लाग्दैन । राजनीतिक दलमा अब पनि पुरानै संस्कार कायम राख्नु हुँदैन, सच्चिनुपर्छ भन्ने सन्देश यो निर्वाचनले दिएको छ ।