जनमतको अभिप्राय प्रतिविम्बित होला ?

जनमतको अभिप्राय प्रतिविम्बित होला ?



२०७९ को निर्वाचन परिणामले ठूला राजनीतिक दलहरुलाई स्पष्ट किसिमले सच्चिने सन्देश र अवसर दुवै उपलब्ध गराएको छ । मत परिणामको सुक्ष्म विश्लेषण गर्दा ठूला दलका ठूला नेताहरुप्रति अझ मानिसको गम्भीर असन्तुष्टि प्रकट भएको देखिन्छ । चर्को आलोचना र दबाबले मूल नेतृत्वलाई गम्भीर भएर सोच्न आग्रह गरेको छ । परिवर्तनका निम्ति लडेका दल र नेताहरु परिवर्तित सन्दर्भमा देश र जनताप्रति इमान्दार तथा बफादार नभएको कुरा पटक पटक दोहोरिएको छ । पार्टी कब्जा गरेर त्यही संयन्त्रको प्रयोग गरी निर्णय आफू र आफ्ना आसेपासेहरुको पक्षमा मात्र गराएको यथार्थताले शासन व्यवस्था माथि नै प्रश्न उठाएको छ । नयाँ दल र अनुहारको जबरजस्त आगमनले दिएको सन्देश ग्रहण गरेर आगामी कदमहरु चालिएनन भने लोकतन्त्र वा गणतन्त्र किन र कसका लागि भन्ने प्रश्न अझ सशक्त ढंगले उठ्ने देखिन्छ । नेताहरुले आप्नो स्वार्थ र फाइदाका लागि मात्र सत्ता र शक्तिको प्रयोग गरेको अनुभूति गरिएको छ । त्यसका लागि जुनसुकै सम्झौता गर्न दलहरु तयार हुन्छन् भन्ने आम बुझाइ छ ।

नेपालको राजनीतिक अवस्थाप्रति यही बस्ने नेपालीभन्दा रोजगारी र अध्ययनका लागि देश बाहिर गएका दाजुभाइ तथा दिदीबहिनीहरुको हस्तक्षेपकारी भूमिका देखियो । कम्तीमा प्रायः घरबाट एकजना मानिस अध्ययन र रोजगारीको लागि विदेशमा गएको तथ्यांक छ । बाहिर गएका/रहेका नेपालीहरुले निकालेको निष्कर्ष के देखिन्छ भने देश शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन आदि देश विकास र समृद्धिका लागि आवश्यक कार्यहरु नहुनुमा राजनीतिक नेतृत्व सबैभन्दा बढी जिम्मेवार छ । यो नेतृत्वलाई नबदलेसम्म देश अगाडि बढ्दैनन् । समुन्नत देशको परिकल्पना गर्ने नेपाली देश भित्र हुनु वा बाहिर उनीहरु यो नेतृत्वबाट सुधार सम्भव देख्दैनन् । विदेशमा गएर पाएको दुःख कष्ट, हैरानी तथा सुविधा नेपालमा नै प्राप्त गर्न सकिन्छ, नेपाल विश्वकै सुन्दर र सम्भावना भएको, साधन र श्रोतको कमी नभएको देश भएर पनि राजनीतिक नेतृत्वको बेइमानीका कारण पछाडि परेको हो भन्ने नै सबैलाई लागेको छ । यसमा देशी विदेशी शक्ति राष्ट्रहरुको समेत स्वार्थ होला । त्यसलाई समेत सन्तुलित ढंगले व्यवस्थापन नगरी आफ्नो दलीय स्वार्थ र सत्ता प्राप्तिका लागि नाफा घाटामा आधारित भएर प्रतिक्रियात्मक हुँदा शक्ति संघर्षको चपेटामा पर्न सक्ने खतरा पनि विद्यमान छ ।

नेपाली कांग्रेसको नेतृत्वमा निर्वाचन लडेको पाँच दलीय गठबन्धनले आशातित सफलता प्राप्त गर्न सकेन । सुविधाजनक बहुमत पनि प्राप्त नहुने अवस्था देखिन्छ । सरकारकै शक्तिशाली मन्त्रीहरुलाई पनि जनताले तिरस्कार गरे । आकर्षण न त निर्वाचनमा देखियो न त उम्मेदवारहरु कै । स्वतन्त्र पार्टीप्रतिको आकर्षण ठूला दलहरुप्रति विकर्षण मात्र हो । त्यसले कुनै निकास दिन सक्दैन । त्यो दलहरुका लागि सन्देश मात्र हो । विचार, कार्यक्रम, उद्देश्य र सिद्धान्त बेगरको असन्तुष्टिहरुको जमघट र अभिव्यक्ति । सकरात्मक कुरा के हो भने हाम्रो अगाडि चुनौति आएको छ भन्ने दल र यसको नेतृत्वले आत्मसात गरेको हुनुपर्छ । त्यो उनीहरुको अगामी कदम र कार्यशैलीबाट देखियो भने जनताको मनसाय बुझेको अर्थ लगाउन सकिन्छ । अन्यथा निर्वाचित भएर आएका केही थान नयाँ अनुहारले संसदीय व्यवस्थामा सामान्य शिष्टाचार र मर्यादा बुझ्दाबुझ्दै समय व्यतित हुन्छ । हस्तक्षेपकारी भूमिका निर्वाहा गर्न सक्ने किसिमको प्रस्तुति होला भन्ने लाग्दैन । भएमा त्यसलाई सबैले हार्दिकतापूर्वक स्वीकार र स्वागत गर्ने नै छन् ।

निर्वाचनमा खर्च भएको रकम र प्रयोग गरिएको बल आपत्तिजनक छ । यसको अनुगमन अति आवश्यक छ । सामान्य मानिस चुनावमा प्रतिस्पर्धा नै गर्न नसक्ने संरचनागत अवस्था जो दलहरुले बनाएका थिए, त्यसलाई धेरै ठाउँमा चुनौति दिइएको छ । सुदूरपश्चिम प्रदेशमा देखिएको परिणाम, स्वतन्त्र पार्टीका उम्मेदवारहरुले गरेको खर्च, थोरै खर्चमा प्राप्त भएको उपलब्धि र आम मतदाता नै खराब छन् भन्ने भाष्य निर्माण हुन खोजेकोमा परिणामले गरेको सशक्त प्रतिवाद जस्ता घटनाहरु अति सकरात्मक छन् । यी घटनाहरुको विश्लेषण राजनीतिक समुदायबाट निश्चिय नै हुनेछ भन्ने विश्वास लिनुपर्छ । देशभित्र इमान्दार नहुने राजनीतिक व्यवसाय संचालकहरुलाई किनारा लगाउनुपर्ने यथार्थतर्फ ध्यान पु-याउन सकिएन भने देशको जिम्मेवारीको भार अन्यत्रै जाने खतरा छ ।

संरचनागत सुधार ति आवश्यक छ भन्ने आत्मबोध हुन जरुरी देखिन्छ । को राष्ट्रपति, प्रधानमन्त्री, सभामुख हुने वा कसले कस्तो भागवण्डा पाउने भन्ने कुरामा दलहरु बीचको विवाद जनताले सुन्न चाहेका छैनन् । यसकै निम्ति यिनीहरुको लडाइँ हो भन्ने भनाइ सार्थक बन्दै जानेछ । यसप्रति दलहरुको नेतृत्व गम्भीर हुनेछ भन्ने विश्वास बनाउने चुनौति रहेको छ । यस कार्यमा दलभित्रका राम्रा र इमान्दार मानिसले सदैव खबरदारी गर्दै जानुपर्ने हुन्छ । त्यस्तो साहसिक नेतृत्वको अभाव र आवश्यकता परिपूर्ति हुने हो वा होइन त्यसका लागि केही समय प्रतिक्षा नै गर्नुपर्ला । आफ्ना लागि अनेक विषय उठान गर्ने तर समग्रतामा शुन्यता देखिने स्थितिले निरन्तरता नपाओस् भन्ने चाहना आम लोकतन्त्रप्रेमीहरुले राखेका छन् ।

थप निराश बनाउने काम हुने छैन भनी सार्वजनिक रुपमा प्रस्तुत हुन नसकेसम्म कसैप्रति पनि विश्वास छैन । विश्वासको पारो धेरै ओरालो लागेको छ । यसलाई उच्चासनमा पु-याउने काम आम मतदाताहरुले आफ्नो मताधिकारमार्फत् प्रतिनिधिहरुलाई सुम्पिेका छन् । जनताको मतलाई कसरी प्रयोग गर्ने भन्ने हेक्का सधैं सधैं राख्न सके मात्र विश्वास जागृत हुनसक्छ । अन्यथा आक्रोस, असन्तुष्टि र अविश्वासले नै निरन्तरा पाउँछ । सबैभन्दा बढी सचेत जनता नै हुनुपर्छ । खबरदारी जारी राख्दै सकरात्मक दृष्टिकोणले मतदाताको निर्णयलाई आत्मसात गरी देशको हित र जनताको चाहाना भावना बमोजिम अगाडि बढ्ने पे्ररणा र सद्बुद्धि नवनिर्वाचितहरुमा जागृत होस् ।