भीमबहादुरलाई चिठ्ठी

भीमबहादुरलाई चिठ्ठी



आदरणीय भीम दाइ
जय नेपाल !

तपाईंले हामीलाई छाडेर स्वर्गमा जानु भएको पनि एक दशक बितेछ । यो एक दशकमा भएका तमाम घटनाक्रमहरुलाई स्वर्गैबाट नियाली रहनु भएको होला । हामीलाई लोकतान्त्रिक आन्दोलनको मार्गमा अभिपे्ररित गर्न जे जसरी क्रियाशील रहनु भयो त्यसको मूल्यांकन र लेखाजोखा त्यही बसेर गरिरहनु नै भएको होला । प्रत्यक्ष रुपमा सहभागी भएर तपाईंले विकृति र विसंगतिका विरुद्ध लड्नु परेको छैन । नेपाली राजनीतिमा भित्रिएको डनवाद र धनवादको विकृत रुप तपाईंले देख्नु नै भएको हो । त्यसमा तपाईंको भूमिका र असहमतिको भनाइ नेपाली समाजमा दर्ज भएकै छ । छलफल, कुराकानी र दस्तावेज र निर्णय प्रक्रियामा भने त्यसको कुनै गुन्जायस फेला पार्न सकिँदैन । हामी तपाईंले देखाएको बाटो खोजिरहेका छौं, सोधिरहेका छौं । तर, समाजले त्यसलाई असान्दर्भिक बनाइरहेको छ ।

राजनीतिक दल र नेताले तिघ्रेमुस्रे र हनुमानलाई काखी च्यापेर इमान्दारलाई पाखा लगाउदै गएका छन् । राम्रो, इमान्दार र असल व्यक्तिले न निर्वाचन लड्न सक्ने अवस्था छ न त हस्तक्षेपकारी भूमिका नै निर्वाहा गर्न सकेको छ । दिनदहाडै भएको लुटपाट, ठगठाक, गुण्डगर्दी टुलुटुलु हेरिरहनु परेको छ । कुनै पनि क्षेत्रले आशाको दियो बाल्न सकेको छैन । को कति बढी खराब हुने भन्ने प्रतिस्पर्धा चलिरहेको छ । त्यो प्रतिस्पर्धाका राज्यका सबै अंगहरुले सक्रिय सहभागिता देखाएका छन् । तपाईंहरुले भनेजस्तो स्वतन्त्रता, समानता, न्याय र पारदर्शीताको कुनै संकेत नै छैन । जसले बढी लुट्न सक्छ, ठग्न सक्छ, ठोक्न सक्छ, खान र खुवाउन सक्छ, पिच्छलग्गु मात्र होइन, दास बन्न सक्छ उसको नै स्थान उच्च देखिएको छ । समाजले पनि त्यस्तै पात्र र प्रवृत्तिलाई साथ दिइरहेको देखिन्छ । राम्रोभन्दा खराब र अयोग्य व्यक्तिको खोजी हुने गरेको छ । शीर्ष तहमा त्यसप्रति निर्मम प्रहार गर्ने, प्रतिवाद गर्ने र प्रतिरोध गर्ने व्यक्तिहरु नै पाउन मुस्किल छ । भएका कम खराब व्यक्तिहरु पनि क्रमशः पाखा लाग्दै गएका छन् ।

भीम दाइ,
बरु तपाईंको स्वर्ग कै बसाई रमाइलो होला भन्ने अनुमान लगाउन सकिन्छ । बीपी कोइराला, गणेशमान सिंह, किसुनजी, सरोजप्रसाद कोइराला, शैलजा दि, तपाईं, चक्र दा मात्र होइन अहिले त प्रदीप गिरी समेतको जमघटमा हुने छलफल कम रोचक र गहन छैन होला । तपाईंहरुको छलफलमा सँगै नबसे पनि अली टाढाबाट आत्मग्लानीको भावमा गिरिजाबाबुले पनि सहभागिता जनाउनु भएकै होला । तपाईंले त आफ्ना जिल्लावासी मित्र देवी न्यौपानेलाई पनि अकस्मात त्यही बोलाउनु भयो । सम्भावतः न्यौपानेजीले पनि पृथ्वी लोकमा बस्न आवश्यक छैन भन्ने निष्कर्षकै आधारमा आकस्मिक निमन्त्रणा पठाउनु भएको होला । हामीले त्यसलाई धेरै अन्यथा ठानेका छैनौं । किनभने थप खराब स्थितिको सामना गर्नु नपरोस्, आत्मग्लानी नहोस्, असन्तुष्टि र आक्रोसको मात्रा नबढोस् भन्ने तपाईंहरुको सदासयतालाई म अनुचित भन्न सक्दिन ।

मलाई लाग्छ, तपाईंहरुको टिममा प्रदीप गिरीसमेतको प्रवेशले राम्रै रौनक आएको होला । समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु बीपीसँग छलफल गर्न चाहान्छन् होला । तपाईंहरु त्यसलाई सहजीकरण गरिरहनु भएको होला । न्याय क्षेत्रका मुधन्य व्यक्तित्वहरु विश्वनाथ उपाध्याय, कुसुम श्रेष्ठ, गणेशराज शर्मा, सूर्यविक्रम ज्ञवाली, बासुदेव ढुंगानालगायतका व्यक्तित्वहरुसँगै लोकतन्त्र र न्यायपालिकाका विषयमा पक्कै गहन विचार विमर्श हुन्छ होला । लोकतन्त्रको जस्तो कुरुप रुप छ त्यस्तै दिशातर्फ न्यायालय पनि उन्मुख भएको छ । भागवण्डा र भ्रष्टाचारले न्यायलयको छवी नै विगारेको छ । त्यसमा कानुनमन्त्री हुँदा तपाईंले निर्वाहा गरेको मर्यादित भूमिकाको पनि चर्चा हुन्छ होला । पृथ्वीलोकमा केवल सन्देश र सम्झना छोडेर जानुभएको छ, बाँकी घनीभूत छलफल, परिचर्चा र आवश्यकताको कुरा त्यत्ति मात्र हुन्छ भन्ने अनुमान लगाउनु परेको छ ।

तपाईंको अनुपस्थितिमा तीनवटा आम निर्वाचन र दुईवटा स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनको रुपरंग र अवस्था हेर्दा हामीले यो शासन प्रणाली धान्छौं जस्तो लाग्न छाडेको छ । अति महँगो निर्वाचन, विवादित र खराब व्यक्तिहरुको आकर्षण, लोकतान्त्रिक मूल्य मान्यता र पद्धतिको ठाडो उल्लंघन, बलपूर्वक निर्वाचन जित्ने प्रयत्न, मतदाताले स्वच्छ र निष्पक्ष रुपमा मतदान गर्न नपाउने अवस्थाले अगाडिको यात्रा धेरै सहज हुने संकेत गरेको छैन । बुथ कब्जा गर्ने संस्कार र संस्कृतिको विकास भएको छ । यसका लागि तिघ्रेमुघ्रेहरुको दरभाउ बढोत्तरी भएको छ । तपाईंको आफ्नो जिल्लामा भएको निर्वाचनहरु स्वतन्त्र र निष्पक्ष नभएको भनी बद्दर भइ पुनः निर्वाचन गराउनु परेको छ । हाम्रो जिल्लाले बद्नामीको रेकर्ड कायम गरेको जानकारी तपाईंहरुलाई भएकै होला । मूल कुरा तपाईंहरुले जस्तो समाज र परिपार्टीको परिकल्पना गर्नुभएको थियो, त्यस्तो समाज बनाउने अठोट, संकल्प र इच्छाशक्ति कसैमा देखिएन । आफू प्रधानमन्त्री भए आफ्नो अपारिहार्यता छरपष्ट गरेका छन् । पार्टीको औपचारिक फोरममा छलफल नहुने, समाचार माध्यम र फरक दल र पृष्ठभूकिा व्यक्ति र दलसँग कुरा गरेर आफ्नो माइलेज बढाउने काम भएको छ ।

त्यत्ति मात्र होइन तपाईंहरु आबद्ध भएको दल नेपाली कांग्रेसको नेतृत्वमा माओवादीलगायत पाँच दलको गठबन्धन भइ भएको निर्वाचनमा गठबन्धनलाई सुविधाजनक बहुमत प्राप्त नहुने संकेत आएको छ । त्यसबाट पनि अनुमान लगाउन सकिन्छ कि कांग्रेसको हालत कस्तो छ भन्ने ? यसबारेमा सार्वजनिक रुपमा हस्तक्षेप गर्ने प्रदीप गिरीले सविस्तार बताउनु नै भयो होला । चक्र दाले बीपीतर्फ हेर्दै सान्दाजु परिस्थिति यस्तो हुनसक्छ, भन्ने बुझेर नै तपाईंले इमान्दार कार्यकर्ताले एकपटक पुनः संघर्ष गर्नुपर्छ भन्नुभएको होला भन्नुभयो होला । देशी विदेशी शक्तिकेन्द्रको चासो र सक्रियता असामान्य देखिएको छ । यसको व्यवस्थापन पनि नेतृत्व चुकेको छ । आफ्नो निहीत स्वार्थभन्दा बाहिर निस्कन सकेको छैन । आजलाई यति मै बिसाए । पुनः पत्राचार गर्ने नै छु ।