अन्ज लि : शपथ्: सान्त्व शिरसा पाद बन्दनम्
आशा करण मित्ये वं कर्तब्यं भु ति मिच्छ ता
अवसर हेरेर हात जोड्नु, कसम खानु, आश्वासन दिनु, खुट्टा ढोग्नु र आशा दिलाउनु – यी सबै ऐश्यर्व प्राप्त गर्न खोज्ने हरेक शासकले गर्नुपर्छ।
आशां कालवन्ती कुर्यात् कालं बिघ्नेन योजयेत्
बिघ्नं निमित्ततो ब्रुयान्निमित्तं वापि हेतुत:
यदि कसैलाई केही कुराको आश दिलाएको छ भने त्यसलाई तुरुन्तै पुरा नगरेर लामो समय अड्काएर राख्नु। जब त्यो पुरा हुने समय आउँछ,तत्काल त्यसमा कुनै समस्या निकाली दिनु र लम्ब्याउनु। त्यो समयमा पुरा हुन नसकेको भरपर्दो कारण र तर्क दिएर आश्वस्त पार्नु।
राजनीति र अर्थशास्त्रका विद्वान कणिका र धृतराष्ट्रको सम्बादको रुपमा कुटनीतिक उपदेश भनेर महाभारतको एउटा सिङ्गो अध्यायमा यिनै कुरा उल्लेख छ। शासनमा पुगेपछि अविच्छिन्न शासक बन्ने चाहना हरेकमा हुन्छ। शासन सत्तालाई आफ्नो अधिनमा राख्ने र निरन्तरता दिने चाहनाले पहिले इमान्दार देखिन्छ,त्यसपछि बिस्तारै आफ्ना प्रशंसकबाट प्रशंसा सुन्ने र खुशी हुने स्वभाव पाउन थाल्छ। त्यो प्रशंसाको भोकले उसलाई आफ्नो बिरोध सुन्न मन नलाग्ने बनाउँछ। ऊ आफुसँग असहमति राख्नेलाई बिरोधी देख्न थाल्छ। अन्त्यमा एउटा इमान्दार शासक पनि तानाशाह भएर निस्किन्छ।
हिजोसम्मको एउटै समुह आज शासक समर्थक र बिरोधीका रुपमा बिभाजित हुन पुग्छन्। शासक फकाउन खोज्छ,आशा,लोभ देखाउँछ, केही त्यसमै परेर मौन बस्छन्। केहीलाई त्रास देखाउँछ र चुप लगाउँछ। यी दुबैको प्रभावमा नपरेकालाई ऊ समाप्त पार्न खोज्छ। बिरोधी ठानिएकाको अस्तित्व नै स्वीकार गर्दैन, दुर्योधनले पाण्डवहरुलाई पाँच गाउँ नदिए जस्तै।
पक्ष र बिपक्षको जन्म शासकको अकर्मन्यता र आफ्नै बीच अविश्वासको परिणाम हो। हरेक नागरिकले राष्ट्रप्रतिको आफ्नो जिम्मेवारीबोध गरे भने र जिम्मेवारी लिएकाहरुले दायित्वबोध गरे भने समस्या रहँदैन। शासकहरु एकअर्काको अस्तित्व स्वीकार गर्दैनन्। जसरी दुम्सीहरुको समुह जाडोमा जम्मा हुन्छन् र एकअर्काको शरीरको तातोले बाँच्ने प्रयत्न गर्छन् तर केहीबेरमै तिनलाई आफ्नैहरुको घोच्ने काँडाले पीडा दिन थाल्छ र अलग हुन्छन। शासनमा बस्नेहरुको चरित्र पनि दुम्सीको जस्तै हुन्छ । ती स्वार्थवस केही समयका लागि सँगै त हुन्छन् तर लामो समय सँगै बस्न सक्दैनन्। शासकका बीच न स्नेह हुन्छ न बिश्वास। शासक बन्ने र निरन्तर शासन चलाउने लोभमा धेरैले अरुलाई मात्रै हैन आफ्नै परिवारका सदस्यको हत्या गरेका छन्। बावुले छोरा र छोराले बावु मारेका छन्।
शासक केवल सत्ता र शासनको बारेमा सोच्छ, नेता अरुका लागि प्रेरणा बन्छ। चरित्रले बिश्वास जन्माउँछ र बिश्वासले नेतृत्व। चरित्र बिना जन्मिएको भीडको प्रतिनिधि नेता बन्न सक्दैन,क्षणभरको भीडको प्रतिनिधिले दीर्घकालको लागि नेतृत्व गर्न सक्दैन। भीड स्थायी हुँदैन। नेता हुन आममान्छेलाई प्रेरणा र प्रोत्साहन दिनसक्ने हुनुपर्छ।
निर्वाचनले मतदातालाई नेता छान्ने वा शासक भन्ने विकल्प दिन्छ। तर शासकको सत्तामा यति धेरै प्रभाव हुन्छ कि सामान्यरुपमा वास्तविक नेताले अवसर पाउनै गार्हो हुन्छ। शासकको चातुर्यलाई झुक्याएर मतदाता नेता जन्माउन खोज्छ तर जोड्जाड गरेर शासक आफुलाई स्थापित गराइहाल्छ।
नेतृत्वको अर्थ केवल सत्ता हैन यसले नैतिक साहस, समय र गति चिन्न सक्नुपर्छ । अमेरिकी लेखक जोह्न म्याक्स्वेल आफ्नो पुस्तक “लज अफ लीडरशीप” मा लेख्छन् “नेतृत्वको वास्तविक मापन उसको प्रभाव र प्रेरणा दिने शक्तिले निर्धारण गर्छ। अरु केही कमी बेसीको कुरा नै छैन। ” उनले प्रभावशाली चरित्रलाई पुष्टी गर्न राजकुमारी डायनालाई उदाहरणको रुपमा लिएका छन्। शुरुमा डायना लजालु स्वभावकी थिइन्। तर राजकुमारीको जिम्मेवारी हासिल गरिसकेपछि उनी जब संसार डुल्न थालिन् र बृटिस राजपरिवारको प्रतिनिधित्व गर्न थालिन् उनमा गजबसँग ब्यक्तित्व विकास भयो। संसारभरका राजनीतिज्ञदेखि हरेक क्षेत्रका मान्छेसँग सम्बन्ध स्थापित भयो। सामान्य वक्ताबाट उनी उत्प्रेरक,प्रभावशाली वक्ताको रुपमा देखा परिन्। युवराज चार्ल्ससँगको सम्बन्ध बिच्छेदपछि पनि उनको ब्यक्तित्व र प्रभाव कम भएन । मृत्युपछि पनि उनी धेरैका लागि प्रेरणा बनेकी छिन्। बिना पद मृत्युपर्यन्त कसैको लागि प्रेरणा बन्न सक्यो भने ऊ नेता हो। यदि तिमीले अरुलाई प्रेरित गर्न सकेनौ भने,अरुको लागि प्रेरणाको स्रोत बन्न सकेनौ भने,तिम्रो पछाडी कोही लाग्दैन। कोही पछि नलाग्ने नेता हैन।
डेमोक्रसी शब्दको जन्म भएको भनिएको ग्रीसमा शुरु शुरुमा चिठ्ठाद्वारा प्रतिनिधि चयन हुन्थ्यो। जुनसुकै नागरिक जिम्मेवारीका लागि योग्य हुने र उसले प्राप्त जिम्मेवारीलाई आफ्नो दायित्व सम्झिएर गर्दा कुनै स्थायी नेता रहँदैन थियो। जसले कुनै व्यक्ति विशेष शासक बन्ने महत्वकांक्षा पाल्दैन थियो। कहिले संसद,कहिले राजा हुँदै सत्रौं/अठारौं शताब्दीसम्म आइपुग्दा संसद र राजाको महत्वपुर्ण अस्तित्व देखिन पुग्यो। तिनको अधिकारको संघर्षलाई ब्यवस्थित गर्न संसद र राजाको अधिकार सिमित गर्ने ,तिनले बनाएको कानुनको व्याख्या न्यायाधीशहरुले गर्ने जस्ता काम गर्नुपर्ने भयो। निर्वाचित संसद र राजाहरुको अधिकारको लडाईंमा मतदाता र नागरिकको अधिकार ओझेलमा पर्यो। आम नागरिकले आफुले मन पराएको उम्मेदवारलाई स्वतन्त्रतापूर्वक मत दिन डराउनुपर्ने भयो। स्वतन्त्र, निष्पक्ष र आवधिक निर्वाचनका नाममा गोप्य मतदानलाई प्रोत्साहित गरियो। गोप्य मतदानले वास्तवमा निष्पक्षतामा शंका गर्न मिल्ने स्थान बाँकी राख्छ। आफुलाई मन लागेको र चित्त बुझेको उम्मेदवारलाई खुला रुपमा समर्थन र मत दिन नपाउनु र नसक्नुलाई विकासोन्मूख राष्ट्रहरुमा निर्वाचनको निष्पक्षतासँग जोडेर हेर्न सकिन्छ। उम्मेदवारको प्रभाव,डर र लोभ नहुँदो हो त गोप्य मतदान गर्नुपर्ने कारण रहने थिएन।
पार्टीभित्रै आन्तरिक नेतृत्व चयनमा समेत लोभ र त्रासले काम गरेको छ। बन्द कोठामा बसेर शक्तिका दलालहरु पार्टीको उम्मेदवार निर्णय गर्छन्। तिनलाई आफ्नो समर्थक भए पुग्ने भएको छ। सत्तामा पुग्ने संख्याका लागि जस्तोसुकै सहमति र गठबन्धन बन्छ। अपराधी,भ्रष्टाचारीलाई उम्मेदवार बनाउँछन्।
शासकहरुले राज्य संयन्त्रलाई यति कमजोर बनाएका छन् कि त्यस अन्तर्गतका कुनै कर्मचारी आफ्नो क्षमता अनुसार देशका लागि काम गर्न ईच्छुक हुँदैन। काम गर्न खोज्नेलाई कारबाही गरेर अरु योग्यलाई योग्यता हुँदाहुँदै पनि अयोग्य हुन दबाब दिइन्छ। नेतृत्वको यस्तो चरित्रले समाजमा पनि त्यही खाले त्रास र लोभ जन्माउँछ। शासकसँगको सामिप्यले राज्य संयन्त्रसँग सहज पहुँच हुन्छ। उसले चाहेमा जस्तोसुकै गैरकानुनी र आपराधिक काम पनि गर्नसक्ने र सजायँको भागी हुनु नपर्ने तस्वीर तयार पारेर समाज लामो समय या त शासकको समर्थक बनेर आफ्नो जीवन सहज बनाउन खोज्छ या असहमति भए पनि चुनौती नमोलेर चुपचाप बस्छ। यिनले आफ्नो शक्ति संचय यसरी गरेका हुन्छन् कि सम्भावित नेतालाई परास्त गर्न सारा शक्ति लगाउँछन्। आम मतदाता,जनता त्यो शक्तिलाई अभेध्य मानेर नेताभन्दा शासकप्रति लचिलो भैदिन्छ र आफ्नो व्यक्तिगत आकांक्षा पुरा गराउने प्रयत्न गर्छ।
भ्रष्टाचार नियन्त्रणका अनेकन कानुन बनेका छन्। आम नागरिकको सुरक्षाका लागि सेना,सशस्त्र/जनपद प्रहरीसहित सुरक्षा अंगहरु निर्माण भएका हुन्छन्। तर न भ्रष्टाचारको कानुन कार्यान्वयन हुन्छ न सेना,पुलिसको उपस्थिति महशुस गरेर जनता आफुलाई सुरक्षित ठान्छ। जब जब समाजमा सामाजिक न्यायको आवाज उठ्छ ती धेरै चतुरतापूर्वक आफ्ना समर्थकलाई समाजको सबै जाति र वर्गको प्रतिनिधि देखाएर आवाजलाई सजिलै दबाइ दिन्छन्। सामाजिक न्यायलाई प्रतिनिधित्वसँग जोडेर समस्यालाई ज्युँकात्यूँ राखिन्छ। माथि भनिए जस्तै ती आफुले समाधान गर्न सक्ने बिषयहरुलाई पनि सम्बोधन गर्दैनन् समस्याको समाधन भैसकेपछि आफ्नो पछाडी लाग्नेहरु आफुसंगै नरहलान् भन्ने सोचेर। कुनै समाधान दिन खोज्ने नेतृत्वमा आयो भने सामुहिक प्रयासद्वारा उसलाई निस्तेज पार्ने,बदनाम गराउने र नेतृत्वबाट च्युत गराउने कोशिश हुन्छ।
एउटा नेता निस्किन्छ,समाजका आवश्यकता बुझेको देखाउँछ। समाजमा आफ्नो स्थान पनि बनाउँछ,देशको श्रोत र साधनको हवाला दिएर आशावादी बनाउँछ तर जब ऊ शासन सत्तामा पुग्छ महाभारतमा कणिकाले भनेजस्तै सबै गर्न सक्ने काम नगरेर जनतालाई त्यही आशा बेचिरहन्छ। उसले यस्तो वातावरण बनाउँ छ कि समाजले शासकको अकर्मण्यतालाई बाध्यता सम्झेर सजिलै स्वीकार गरिदिन्छ।
हरेक निर्वाचनपछि जनता आफ्ना लागि केही हुने आशा गर्छ। तर अर्को निर्वाचनसम्म पुग्दा उसमा फेरि नेताले विषयान्तर गरेर नयाँ आशा दिलाई सकेको हुन्छ र पुरानोलाई बिर्सन बाध्य बनाउँछ। बिशेष गरी अल्पविकसित र विकासोन्मूख देशहरुमा मतदाताका आकांक्षाहरुलाई यति कमजोर बनाइएको हुन्छ कि नेताका सामान्य नियमित दैनिकीहरुलाई मुद्दाका रुपमा प्रस्तुत गर्छन् र त्यही मुद्दाले जित्छन्। तिनै बिषयहरुले प्राथमिकता पाएर आन्दोलन हुन्छ,नयाँ ब्यवस्था आउँछ। नयाँ नेतृत्व चयन हुन्छ तर ती उठाइएका मुद्दा र समस्या ज्युँकात्यूँ हुन्छन्। मतदाता बडो आशाको साथ हरेक निर्वाचनमा नेता छान्छ तर हरेकपटक निर्वाचनपछि ऊ एउटा खराब शासक पाएको महशुस गर्छ।
निर्वाचनले मतदातालाई नेता छान्ने वा शासक भन्ने विकल्प दिन्छ। तर शासकको सत्तामा यति धेरै प्रभाव हुन्छ कि सामान्यरुपमा वास्तविक नेताले अवसर पाउनै गार्हो हुन्छ। शासकको चातुर्यलाई झुक्याएर मतदाता नेता जन्माउन खोज्छ तर जोड्जाड गरेर शासक आफुलाई स्थापित गराइहाल्छ। एकपटक शासकीय चरित्र बनाइसकेको शासकपछि इमान्दार नेता बन्न सक्दैन। ती माथि पटकपटक गरिने विश्वासले शासकमा निरंकुशता थपिने मात्रै हो। चन्ड अशोक बुद्ध ज्ञानले धम्म अशोक बनेको अपबादबाहेक ब्यवहारिकतामा यस्तो देखिन्न।
प्रतिक्रिया