भारत राज्य विधान सभा निर्वाचनः गुजरातमा बीजेपी कीर्तिमानी जिततर्फ, हिमाचलमा कांग्रेस बहुमततर्फ

भारत राज्य विधान सभा निर्वाचनः गुजरातमा बीजेपी कीर्तिमानी जिततर्फ, हिमाचलमा कांग्रेस बहुमततर्फ


ग्लोब नेपाल
405
Shares

नयाँदिल्ली(भारत) । भारतका गुजरात र हिमाचल प्रदेश भएको विधानसभाको चुनावको परिणाम आइरहेको छ । बिहीबार आइरहेको परिणामअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा भारतीय जनता पार्टीले कीर्तिमानी बहुमत ल्याउने देखिएको छ ।

गुजारत विधानसभाका १ सय ८२ सिटमध्ये जारी मतगणना अनुसार भाजपाले १ सय ५६ सिटमा अग्रता बनाएको छ । यहाँ भारतीय कांग्रेसले १७ सिटमा अग्रता बनाएको छ। अर्कातिर आम आद्‍मी पार्टीले ५ स्थानमा जित निकाल्ने देखिएको छ।

भाजपाले गुजरातमा यस पहिले सन् २००२ मा १ सय २७ सीटको आफ्नै रेकर्ड तोड्ने देखिएको छ । भाजपाले गुजरातमा सन् १९८५ मा माधव सिंह सोलङ्कीको नेतृत्वमा भारतीय राष्ट्रिय काङ्ग्रेस (कांग्रेस–आई) सरकारले विधानसभामा हासिल गरेको १ सय ४७ को उच्च चुनावी रेकर्डलाई पनि तोड्ने पक्का भएको छ ।

यसअघि सार्वजनिक गरिएको सर्भेषणमा भाजपा राज्यमा सातौँ पटक भारी बहुमतका साथ सत्तामा आउने अनुमान गरिएको थियो । गुजरात विधानसभा चुनावको मतगणना बिहीबार बिहान ८ बजेदेखि सुरु भएको थियो। गुजरातका ३३ जिल्लाका ३७ मतदान केन्द्रमा मतगणना सुरु भएको थियो।

गुजरातमा विधानसभा चुनाव क्रमशः डिसेम्बर १ र ५ मा दुई चरणमा सम्पन्न भएको थियो। गुजरात निर्वाचनको दोस्रो चरणको अन्त्यसम्ममा गुजरातमा अनुमानित ५९.११ प्रतिशत मतदान भएको थियो । गुजरातमा २७ वर्षदेखि भाजपा सत्तामा छ। नरेन्द्र मोदी प्रधानमन्त्री बन्नुअघि सबैभन्दा लामो समयसम्म मुख्यमन्त्रीको पदमा रहेर काम गरेका थिए । सन् २०१७ को विधानसभा चुनावमा काङ्ग्रेसले सत्तारुढ भाजपालाई कडा टक्कर दिएको थियो।

हिमाचलमा कांग्रेस
उता हिमाचलमा भने भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस आई)ले सरकार बनाउने भएको छ । हिमाचल प्रदेशका ६८ सिटम भएको चुनावमा भने कांग्रेसले बहुमत ल्याउने देखिएको छ। त्यहाँ अहिले कांग्रेसले ३९ सिटमा अग्रता लिएको छ ।

त्यहाँ भाजपाले अहिले २६ स्थानमा अग्रता लिएर प्रतिपक्षमा जाने देखिएको छ । राज्यका ६८ विधानसभा सिटका लागि नोभेम्बर १२ मा चुनाव भएको थियो र करिब ७५.६ प्रतिशत मतदान भएको थियो । हिमाचल प्रदेश विधानसभा निर्वाचनको मतगणना बिहीबार बिहान ८ बजेदेखि सुरु भएको छ । हिमाञ्चल प्रदेशका ५९ स्थानमा ६८ वटा मतगणना कक्ष रहेका छन् । भाजपाले लगातार दोस्रो कार्यकालका लागि सत्तामा फर्कने प्रयास गरिरहेका बेला कांग्रेसले उसलाई धक्का दिएको हो ।