सिके राउतको जनमत पार्टीले छान्यो समानुपातिक उम्मेदवारको नाम

सिके राउतको जनमत पार्टीले छान्यो समानुपातिक उम्मेदवारको नाम


ग्लोब नेपाल
972
Shares

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकमा पठाउने सांसदको नाम छनोट गरेको छ । जनमतले पहिलो आमनिर्वाचनमा नै राष्ट्रिय पार्टी बन्दै पाँचजनालाई संघतर्फ समानुपातिक प्रतिनिधित्व गराउन पाउने भएको छ । 

केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभामा पाँचजनाको नाम टुंगो लगाएको हो । निर्वाचन आयोगमा पेस गरेको सांसदको क्लस्टरमा चारजना महिला समेटिएका छन् भने एकजना मुस्लिम समुदायका छन् ।

धनुषाबाट अनितादेवी साह, मोरङबाट सोनु मुर्मु, सिराहाबाट विनिताकुमारी सिंह, महोत्तरीबाट गोमा सापकोटा र बर्दियाबाट अब्दुल खान समानुपातिकतर्फका सांसद बनेका छन् । दुईजना आदिवासी जनजाति, एक मधेसी, एक खस आर्य र एकजना मुस्लिम समुदायको प्रतिनिधित्व रहेको जनमत पार्टीले जनाएको छ ।

केन्द्रीय समिति बैठकले मधेस प्रदेशतर्फ समानुपातिकबाट बाँडफाँड गरी प्राप्त गरेको सिटमा नाम टुंगो लगाएको हो । बैठकले निर्वाचन आयोगले गरेको पत्राचारकै आधारमा कलस्टर छुट्याउँदै सातजनाको नाम टुंगो लगाएको हो । 

मधेशी महिलाबाट वविता राउत, अल्पसंख्यकबाट पार्टीका महासचिव चंदन सिंह, दलितबाट रंजु कुमारी खंग(खत्वे), मधेशी महिलामा अनिता कुमारी साह, मधेशी पुरुषमा पार्टीका उपाध्यक्ष बसन्त कुमार कुशवाहा, मुस्लिममा हसिना खातुन र आदिवासी जनजातीमा भाग्यश्री कुमारी चौधरीलाई पठाउने निर्णय गरेको छ । लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ पाएको दुई सिटमा खस आर्यबाट सुमन रायमाझी र आदिवासी जनजातिबाट गीता गुरुङको नाम टुंगो लगाएको छ ।