काठमाडौं।देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा बारा, झापा, कन्चनपुर, काठमाडौं, रुपन्देही, सप्तरी, सुर्खेत, सुनसरी र उदयपुरमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु र १४ जना घाइते भएका हुन् ।
बाराको निजगढ नगरपालिका २ मा ट्रकमा मोटरसाइकल ठक्कर खादा २ जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक रौतहट गुजरा नगरपालिका सिम्रीका २६ वर्षीय भुवन पहाडी र पछाडी सवार २७ वर्षिय रितबहादुर राई रहेका छन् । दुबैको घटनास्थलमा नै मृत्यु भएको हो ।
सोही दुर्घटनामा मोटरसाईकलमा पछाडी सवार २४ वर्षीय सुशील माझी घाइते भएका छन् । उनको प्रसुति सामुदायिक अस्पताल निजगढमा उपचार भैरहेको छ । आइतबार साँझ ७ बजे प्रदेश २ ०३ ००१ ख ४२२९ नम्बरको सडक छेउमा रोकिराखेको ट्रकमा पाछाडीबाट प्रदेश २ ०२ ००९ प ३९४३ नम्बरको मोटरसाईकल अनिनियन्त्रित भई ठक्कर खाएको हो । दुबै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ ।
झापाको मेचीनगर नगरपालिका १३ चारआली बजारमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार ईलाम रोङ–६ बस्ने २३ वर्षीया उषा राई रहेकी छिन । ना ८ ख ३३३६ नम्बरको ट्रकले मे ७ प १७२७ नम्बरको मोटरसाइकललाई आइतबार राति बेलुकी साढे ८ बजे ठक्कर दिएको थियो ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ मछलिपुल नजिकै ट्याक्टरमा मोटर साइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।आइतबार साँझ ६ बजे सुदूरपश्चिम प्रदेश ०१ ००८ प ५५ ८७ नम्बरको मोटरसाइकलले सोही दिशा तर्फ जादै गरेको म १ प ६१ ८९ नम्बरको स्कुटरलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको से।२ त। ८२० नंम्बरको ट्याक्टरमा ठक्कर खाँदा ५५८७ नम्बरका मोटरसाईकल चालक शुक्लाफँटा नगरपालिका ८ का ३० वर्षीय कृष्ण साउँदको निधन भएको हो ।
काठमाडांैको कीर्तिपुर नगरपालिका १० मा सोमबार बिहानै मोटरसाइकल अनियन्त्रित भै पल्टिँदा २ जना गम्भीर घाइते भएका छन । घाईते मोटरसाइकल चालक कीर्तिपुर नगरपालिका ९ नगाँउ बस्ने २१ वर्षीय सौरभ ढकाल र पछाडी सवार २२ वर्षीय रोहित महर्जनको राष्ट्रिय ट्रमा सेन्टरबाट थप उपचारका लागि कीर्तिपुर अस्पतालमा पठाइएको छ । सोमबार बिहानै पौने ३ बजे बा ८५ प ६१ ८५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुबै जनाले मादक पदार्थ सेवन गरेको प्रहरी वृत्त कीर्तिपुरले जानकारी दिएको छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका १० कालिकानगरमा स्कुटर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा स्कुटर चालक रुपन्देहीको तिलोतमा नगरपालिका ३ का ५० वर्षीय ओमबहादुर सारु रहेका छन् । उनको लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा उपचार भइरहेको छ । आइतबार राति पौने ८ बजे लु २९ प ३६२८ नम्बर स्कुटरको स्कुटर आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको वडा प्रहरी कार्यालय वुटवलले जानकारी दिएको छ ।
सप्तरीको बोदेबर्साईन नगरपालिका बैरिया चोकमा दुई मोटरसाइकलले साइकललाई ठक्कर दिएर पल्टिँदा २ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा साइकलयात्री सप्तरीको खड्क नगरपालिका ११ लालापुरका ५० वर्षीय सुकरैत राम र मोटरसाइकल चालक सप्तरीकै शम्भुनाथ नगरपालिका ९ बजरहटका ३० वर्षीय प्रमोद मुखिया रहेका छन् । घाईते दुबैको जीवन ज्योति अस्पताल बोदेबर्साईनमा उपचार भइरहेको छ । आइतबार राति बेलुकी साढे ७ बजे मुखियाले चलाएको भारतीय नम्बरको मोटरसाईकलले सुकरैत सवार साइकललाई ठक्कर दिएर पल्टिएको ईलाका प्रहरी कार्यालय बोदेबर्साईनले जानकारी दिएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ धुलियाबिट नजिकै मोटरसाईकलले चौपायालाई ठक्कर दिएर पल्टिँदा चालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका ५ का ४५ वर्षीय रुद्र भट्टराई छन् । उनको माया नर्सिङहोममा उपचार भरहेको छ । आइतबार साँझ सवा ६ बजे रुद्रले चलाएको भे २ प २३८५ नम्बरको मोटरसाइकल चौपायालाई ठक्कर दिएर पल्टिएको प्रहरी चौकी सुब्बाकुनाले जानकारी दिएको छ ।
सुनसरीको दुहवी नगरपालिका ८ सोनापुरचोकमा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । घाइते हुने मोटरसाईकल चालक मोरङ घर भएका ४० वर्षीय भक्तबहादुर खड्का छन् । घाइते उनलाई उपचारको लागी कोशि अस्पताल पठाईएको छ। को ३० प ९६४५ नम्बरको मोटरसाइकल आफँै अनियन्त्रित भई आइतबार बेलुकी पौने ८ बजे पल्टिएको थियो।
उदयपुरको कटारी नगरपालिका १० मा सोमबार बोलेरो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । प्रदेश २–०१–००१ च ०० ५० नम्बरको बोलेरो सोमबार बिहान पौने ९ बजे अनियन्त्रित भएर सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएका मध्ये उदयपुरको ताप्ली गाउँपालिका १ का ६५ वर्षीय मिनबहादुर सार्कीको अवस्था गम्भीर छ । घाइतेहरूलाई उपचारको लागी कटारी अस्पताल पठाइएको छ । बोलेरो चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रतिक्रिया