कांग्रेस संसदीय दलको निर्वाचनः इतर समूह तितरबितर

कांग्रेस संसदीय दलको निर्वाचनः इतर समूह तितरबितर



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनसँगै संस्थापनइतर समूह तितरबितर हुने भएको छ । संसदीय दलको नेताका लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न एकै समूहका दुईजना उम्मेदवार बन्ने भएपछि इतर समूह तितरबितर हुने पक्का भएको हो ।

नेपाली कांग्रेसको संसदीय दलमा ८९ सांसद छन् । अहिलेसम्म संस्थापन समूहतर्फ खुलेका ५७ जना सांसद छन् भने इतर समूहतर्फ खुलेका ३२ जना सांसद छन् । इतर समूहमा रहेका ३२ जना सांसद पनि दुई समूहमा विभाजित छन् । संसदीय दलको नेता निर्वाचित हुन कूल संख्याको ५१ प्रतिशत मत ल्याउनुपर्छ । अर्थात् निर्वाचित हुनका लागि ४६ मतको आवश्यकता पर्छ । यो हिसाबलाई विश्लेषण गर्ने हो भने संसदीय दलको नेतामा शेरबहादुर देउवा पहिलो चरणमै निर्वाचित हुने निश्चित छ ।

हालै सम्पन्न प्रतिनिधिसभा प्रत्यक्ष तर्फको निर्वाचनमा शेखर काेइराला समूहका २२ जनाले टिकट पाएका थिए । यी २२ जना मध्ये १८ जनाले जितेका छन् । समानुपातिकमा शेखर समूहबाट ९ जना निर्वाचित भएका छन् । शेखर काेइरालाको कुल २७ मत छ । बाँकी ५ मत गगन थापाको हो । तर शेखर र गगन दुईमध्ये एकजना मात्र उम्मेदवार बन्ने हो भने संस्थापनइतरले मत बढाउन सक्ने शेखर समूहकै नवनिर्वाचित एक सांसदले ग्लोब नेपाललाई बताएका छन् । यसो गर्दा शेखर समूहको ३५ मतसम्म आउन सक्ने देखिन्छ ।

यसरी हेर्दा, प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा फेरि पनि संसदीय दलको नेतामा निर्वाचित हुने पक्काजस्तै छ । यता, इतर समूहबाट शेखर कोइराला र महामन्त्री गगन थापाले पनि उम्मेदवारी दिने निश्चित भएको बुझिएको छ । कांग्रेस महाधिवेशनमा शेखर समूहबाट उम्मेदवार भएर लडेका महामन्त्री गगन थापाले भावी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा भर्खरै सम्पन्न निर्वाचनमा मत मागेका थिए । आफ्नो समूहमा कुनै सल्लाह नगरी गगनले आफूलाई प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा होमिएदेखि नै शेखर असन्तुष्ट थिए । शेखर र गगनबीचको त्यो असन्तुष्टि संसदीय दलको निर्वाचनमा छताछुल्ल हुने देखिएको छ ।

कांग्रेस संस्थापनइतर समूहलाई बचाउन पनि शेखर कोइरालाले संसदीय दलमा सभापति देउवासँग फाइट गर्नुपर्ने बाध्यता आइलागेको छ । यदि गगनलाई अगाडि सारियो भने संस्थापनइतर समूहको पावर सेन्टर अर्जुननरसिंह केसीतिर सर्ने भएकाले पनि शेखरलाई संसदीय दलको निर्वाचनमा उम्मेदवारी दिनुपर्ने बाध्यता आइलागेको बुझिन्छ ।

पछिल्लो समयमा अर्जुननरसिंह केसीको राजनीतिक सक्रियताले पनि यी तथ्यहरुलाई पुष्टि गर्छ । नेता केसीले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट मात्र गरेका छैनन्, प्रधानमन्त्री देउवासँग भेट गरेर आफ्ना लागि ठूलै बार्गेनिङ गरेको समाचार पनि बाहिर आएका छन् ।

भरपर्दो आड र दह्रो विश्वासका लागि गगन आफै पावर सेन्टर आफ्नोमा सार्न चाहन्छन् । शेखरबाट खोसेर ससुरा अर्जुननरसिंह केसीमा पावर सेन्टर पुर्याउन सकियो भने अगाडिको बाटो सहज हुने गगनको बुझाइ छ । तर कांग्रेसमा कोइरालाहरुलाई पाखा लगाउन त्यत्ति सजिलो नहुने राम्रोसँग बुझेका गगनले संस्थापनइतरको साझा र एक्लो उम्मेदवार आफू बन्न खोजेका थिए । अर्जुननरसिंह केसीको एकाएकको सक्रियताले कोइरालाहरुमा आशंका पलाएपछि यसपटक गगन थापा संस्थापनइतर समूहको साझा उम्मेदवार बन्ने सम्भावना लगभग अन्त्य भएको बुझिएको छ ।